वन्यजन्तुलाई ट्युबवेलबाट पानी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, २४ जेठ ।
    लामो समयदेखिको खडेरीका कारण आरक्ष क्षेत्रभित्रका प्राकृतिक पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तुलाई कृत्रिम ताल निर्माण गरी पानी दिन थालिएको छ ।  विश्वमै दुर्लभ बाह्रसिंगाको प्रमुख बासस्थान मानिने शुक्लाफाँटा आरक्षभित्र रहेका झन्डै आधा दर्जन बढी प्राकृतिक ताल र नदीनालामध्ये अधिकांश सुकेका अवस्थामा छन् ।
    लामो खडेरीले पानीका स्रोत सुक्दै गएपछि अहिले आरक्ष प्रशासनले वन्यजन्तुका लागि पानीको समस्या समाधान गर्न कृत्रिम ताल निर्माण गरी ट्युबवेलबाट पानी भर्न थालेको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।
    वन्यजन्तुलाई पानीको निकै समस्या देखिएपछि भर्खरै आरक्षको हिरापुर फाँटका दुईओटा नयाँ तालमा ट्युबवेल जडान गरी पानी भर्न सुरु गरिएको हो । यसैगरी सिलगौडी ताल र तारापुर तालको मर्मतसम्भार भइरहेको उनले बताए । ‘लामो समयदेखि वर्षा नहुादा पानीका स्रोत सुक्दै गएको अवस्था छ,’ उनले भने । ‘त्यसैले वन्यजन्तुलाई पानीको समस्या नहोस् भनी कृत्रिम तालमा ट्युबवेलबाट पानी भर्ने गरेका छौं ।’ केही वर्षयता खडेरी बढ्दै गएपछि वन्यजन्तुका लागि बर्सेनि कृत्रिम ताल निर्माण समेत गर्नुपरेको छ, जसमा सोलार र ट्युबवेल जडान गरी पानी आपूर्ति गर्ने गरिएको छ ।
    शुक्लाफाँटाको प्रमुख तालका रुपमा परिचित रानीताल बाहेकका ताल सुकेको अवस्था छ । पानी समस्या बढ्दै गएकाले आरक्ष प्रशासनले बाह्रसिंगासंगै अधिकांश दुर्लभ वन्यजन्तुको प्रमुख वासस्थान रहेको ५५ वर्ग किलोमिटरको शुक्लाफाँटा घाँसेमैदानमा यसअघि नै करिब आधा दर्जन कृत्रिम ताल निर्माण गरेको छ । शुक्लाफाँटामा रहेका बाघपोखरी, तीनकुने, सुके, गौथली लगायतका कृत्रिम तालमा नियमित ट्युबवेल र सोलारबाट पानी भर्ने काम भइरहेको छ ।
    बाघपोखरीमा एक वर्षअघि जडान गरिएको सोलार प्रविधि सफल भएकाले आरक्षले सुकेपोखरीमा पनि लगत्तै सोलार जडान गर्ने भएको छ । अहिले शुक्लाको घाँसे मैदानसंगै बाबाताल, बठनियाताल लगायतमा ट्युबेलबाट दैनिक पानी भर्ने गरिएको छ । केही महिनायता दिनहुँ तीनचार घन्टा कृत्रिम तालमा ट्युबवेलबाट पानी भर्ने गरिएको आरक्षले जनाएको छ ।

No comments:

Post a Comment