कांग्रेसबाट ‘सुशील कोइराला’ नै निर्विकल्प प्रधानमन्त्री

सुर्खेतपत्र संवाददाता 
काठमाडौं, ८ मंसिर ।    
संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फको मत परिणाम हेर्ने होभने कांग्रेस पहिलो पार्टी बनिसकेको छ । प्रत्यक्षतर्फको कूल २ सय ४० सिटमध्ये २ सय ३९ क्षेत्रको मत परिणाम आउँदासम्म कांग्रेसले १ सय ५ सिट ल्याएको छभने एमालेले ९१ सिट तथा अघिल्लो निर्वाचनमा पहिलो पार्टी बनेको एमाओवादीले २५ सिट ल्याएको छ । प्रत्यक्षजस्तै गरी समानुपातिकमा पनि मतपरिणाम कांग्रेसकै पक्षमा आएमा कांग्रेसलाई पहिलो पार्टी बन्न कसैले रोक्ने छैन ।
    प्रत्यक्षमै एमालेभन्दा १४ सिट अगाडि रहेको कांग्रेस समानुपातिकमा एमालेभन्दा कम सिट ल्याएपनि पहिलो पार्टी बन्ने लगभग पक्का छ । तर, परिणाम नआउँदै दुई ठूला दल एमाले र कांग्रेसभित्र प्रधानमन्त्रीको बन्ने भन्ने बारेमा चर्चा हुन थालेको छ । कार्यकर्ता तथा नेताहरुले समेत को प्रधानमन्त्री बन्ला भन्ने आंकलन गर्न थालेका छन् ।
    कांग्रेसका नेताहरुले बाहिर आफू प्रधानमन्त्री हुने आंकाक्षा नदेखाए पनि भित्रीरुपमा भने एकले अर्कालाई प्रधानमन्त्री हुन रोक्न र आफूहरु प्रधानमन्त्री बन्ने दाउमा छन् ।
    अघिल्लो पटक १७ पटकसम्म प्रधानमन्त्रीमा लडेका उपसभापति रामचन्द्र पौडेल अहिले पनि प्रधानमन्त्री का आकांक्षी हुन्भने वरिष्ठ नेता शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्ने पालो आफ्नो भएको बताउँदै आएका छन् तर, बाँके ३ र चितवन ४ वाट विजयी भएका सभापति कोइराला पनि एकपटक देशको कार्यकारी पदमा पुग्ने आकंक्षा देखाएका छन् । स्रोतका अनुसार ठूलो दल भएको खण्डमा सरकार बनाउने जिम्मा ठूलो दलकै हुने भएकाले प्रधानमन्त्री कांग्रेसले पाएमा कांग्रेसवाट सभापति कोइराला नै निर्विकल्प प्रधानमन्त्री बन्नु हुनेछ ।
 

No comments:

Post a Comment