उपकरण बिग्रिंदा अनुमानका भरमा वस्तुको परीक्षण

सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, ९ मंसिर ।
    पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयमा ल्याब परीक्षण गर्ने
उपकरण बिग्रिंदा भारतबाट ल्याइने बिरुवाजन्य पदार्थ परीक्षण गर्न गाह्रो परेको छ । विषादी धुवाएर उपचार गर्ने फोकिङ मेसिन चार वर्षअघि ल्याउँदै बिग्रिएको अवस्थामा रहेपछि कार्यालयका प्राविधिकहरूले आाखाले हेरेरै बिरुवाजन्य पदार्थको परीक्षण गरी भित्र्याउने अनुमति दिने गरेका छन् ।
    बोटबिरुवाको तापक्रम नियन्त्रण गर्ने इन्कुभेटरसमेत चलाउँदा बिग्रिएपछि सीमा नाकाबाट निकासी पैठारी हुने कृषिजन्य वस्तुको परीक्षण अनुमानका भरमा गर्नुपरेको कार्यालयका वरिष्ठ बाली विकास अधिकृत कलकबहादुर अधिकारीले बताए । ‘कार्यालयमा उपलब्ध भएका उपकरणसमेत कामै नलाग्ने भएकाले ल्याब परीक्षणमा अप्ठ्यारो परेको छ,’ उनले भने ।
    ल्याबसम्बन्धी उपकरण बिग्रिए पछि विभागलाई पठाइने प्रत्येक महिनाको मासिक प्रतिवेदनमा उपकरणको व्यवस्था गरिदिन अनुरोध गरिंदै आएपनि हालसम्म सुनुवाइ हुन नसकेको उनले बताए । यस नाका भएर फलफूलका बोटबिरुवा, फलफूल, तरकारी र खाद्यान्न लगायतका वस्तु भित्रिने र बाहिरिने गर्दछन् । 
 

No comments:

Post a Comment