दोस्रो सिनेट माघ ६ गते

सुर्खेतपत्र संवाददाता 
                ‘विश्वविद्यालयले झुक्यायो’
 
सुर्खेत, ४ माघ ।
    पहिलो सिनेट काठमाडौंमै गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो सिनेटपनि काठमाडौंमै गर्ने भएको छ । गत बर्षको असोज ६ गते पहिलो सिनेट काठमाडौंमै गरेको थियो । केन्द्रीय कार्यालय सुर्खेतमै रहेकोले सिनेटपनि सुर्खेतमै गर्नुपर्ने आवाज चौतर्फी उठेपनि विश्वविद्यालय का कूलपति (तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले) काठमाडौंमै गर्न भनेपछि सुर्खेतमा हुन सकेको थिएन ।
    दोस्रो सिनेटपनि यही माघ ६ गते सोमवार काठमाडौंमै हुनेभएको छ । पहिलो सिनेट काठमाडौंमा गर्दा व्यापक आवाज उठेपछि विश्वविद्यालयले पहिलो सिनेट बाध्य भएर काठमाडौंमै गर्नुपरेको तर दोस्रो सिनेट सुर्खेतमै गर्ने भन्दै विज्ञप्ति निकालेर प्रतिवद्धता जनाएको थियो । यद्यपि दोस्रो सिनेट काठमाडौंमै गर्ने भएपछि विश्वविद्यालय ले सुर्खेतबासीसमक्ष गरेको प्रतिवद्धता झुक्याउने माध्यम बनेको छ ।
    मप विश्वविद्यालयले भने सिनेटको अध्यक्षता गर्ने कूलपति मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्य व्यस्तताले सुर्खेतमा गर्न नसकिएको जनाएको छ । विश्वविद्यालयका डीन पीताम्बर ढकालले मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सुर्खेतमा नभ्याइने बताएपछि चाहना नहुँदानहुदैं काठमाडौंमै गर्न बाध्य हुनुपरेको जनाए । उनले यस सिनेटमा मुख्यत: ३ वटा एजेण्डा रहेको जानकारी दिए । दरवन्दी थप, बजेट स्वीकृत र नियम संशोधन नै यस सिनेटको मुख्य एजेण्डा हो ।
    यता दोस्रो सिनेट काठमाडौंमा हुने भएपछि सरोकारवाला निकायहरुले विरोध जनाएका छन् । केन्द्रीय कार्यालय सुर्खेतमै भएकोले सिनेट पनि सुर्खेतमै हुनुपर्ने उनीहरुको भनाइ छ । नागरिकस्तरबाट गठित विश्वविद्यालय स्थापना संघर्ष समितिका तत्कालीन संयोजक भूषणकुमार मानन्धरले दोस्रो सिनेट सुर्खेतमै गर्ने भनेर प्रतिवद्धता जनाइएपनि काठमाडौंमै गर्न लागिएकोमा आश्चर्य प्रकट गरे । उनले दोस्रो सिनेट सुर्खेतमा गर्दा कूलपतिलगायतका विशिष्ट पदाधिकारीहरुलाई यहाँको बस्तुस्थिति वारे जानकारी हुने, विश्वविद्यालयका लागि महायज्ञमा दान गरिएको तर उठ्न नसकेको रकमहरु उठाउन सजिलो हुने बताए ।
    तर काठमाडौं गर्ने भनिएपछि अव ती रकमहरु उठन् चुनौती थपिएको उनको भनाइ छ । 
 

No comments:

Post a Comment