बादल र विप्लवको चेपुवामा वैद्य

समाचार एजेन्सी
काठमाडौं, ८ फागुन ।
    आगामी जेठमा राष्ट्रिय सम्मेलन गरेर नयाँ कार्यदिशा निर्माणको तयारीमा रहेको नेकपा–माओवादीमा पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ दबाबमा परेका छन् । महासचिव रामबहादुर थापा ‘बादल’ र सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ फरक–फरक कार्यदिशाको पक्षमा देखिएपछि अध्यक्ष किरण अप्ठ्यारोमा परेका हुन् । मंसिर अन्तिम साता बसेको माओवादी केन्द्रीय समिति बैठकले पुस २०६९ मा सम्पन्न महाधिवेशनले पारित गरेको ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशा अस्पष्ट भएको निष्कर्ष निकालेर कार्यदिशा समृद्ध गर्न जेठमा राष्ट्रिय सम्मेलन बोलाइएको छ ।
    राष्ट्रिय सम्मेलनका लागि पार्टीका तल्लो तहमा छलफलसमेत सुरु भइसकेको छ । जिल्ला तथा गाउँ तहमा भएका कार्यदिशा सम्बन्धी छलफलमा महासचिव बादल र सचिव विप्लवले फरक–फरक कार्यदिशाको वकालत गरिरहेका छन् । अध्यक्ष किरण र उनीपक्षीय नेता–कार्यकर्ता भने दुवै कार्यदिशाबारे मौन छन् । ‘कसको समर्थन र कसको विरोध गर्ने भन्नेमा अध्यक्ष मौन हुनुहुन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘महासचिव र सचिवका आ–आफ्ना लबिङ छन् ।’ माओवादी स्रोतका अनुसार महासचिव बादल अहिलेको कार्यदिशालाई सुदृढ गरेर जनविद्रोहको कार्यदिशा अँगाल्नुपर्ने पक्षमा छन् । तर, सचिव विप्लव भने जनयुद्धमार्फत राज्य सत्ता कब्जाको कार्यदिशाका पक्षमा छन् ।
    अध्यक्ष किरण, सचिव देव गुरुङ, प्रवक्ता पम्फा भुसाललगायतले बादललाई नै सघाउने स्रोतले बतायो । पोलिटब्युरोमा अल्पमतमा रहेका विप्लवलाई भने अधिकांश युवा केन्द्रीय सदस्यको समर्थन छ । किरण उमेर तथा लामो समयको राजनीतिक जीवन का कारणपनि जनयुद्धको पक्षमा नरहेको स्रोतले बतायो । उपाध्यक्ष सिपी गजुरेलसमेत जनयुद्धको विपक्षमा उभिन थालेका छन् । यसअघि उनी जनयुद्धमा जानुपर्ने पक्षमा थिए । पदाधिकारीमा जनयुद्धको पक्षमा विप्लव एक्लो देखिएका छन् ।
    आठ सदस्यीय पोलिटब्युरो समितिमा समेत विप्लवलाई उनका सदाबहार सहयोगी खड्कबहादुर विश्वकर्माले सघाइरहेका छन् । कुलप्रसाद केसी एजेण्डा अनुसार कहिले किरण त कहिले बादल, कहिले विप्लवको पक्षमा देखिएका छन् । स्रोतका अनुसार विप्लवपनि जनयुद्धको कार्यदिशा पारित भएपछि किरणको नेतृत्वमा जनयुद्ध हुन नसक्ने निष्कर्षमा छन् । उनीले किरण, गजुरेल र बादल नेतृत्वमा रहँदा जनयुद्धको कार्यदिशा कार्यान्वयन हुन नसक्ने भन्दै आफ्नो समूहगत छलफलमा कार्यदिशासंगै नेतृत्वबारे पनि प्रश्न उठाउने गरेका छन् । नेकपा–माओवादीको १६ देखि १९ माघसम्म बसेको पोलिटब्युरो बैठकमा आगामी कार्यदिशा कस्तो बनाउने भन्ने विषयमा छलफल भएको थियो ।
    एक पोलिटब्युरो सदस्यका अनुसार नेपालमा जनवादी क्रान्ति पूरा गर्ने अबको कार्यदिशा र क्रान्तिको स्वरुप कस्तो हुने भन्नेमा नेताहरुबीच मतभेद छ । केन्द्रीय समिति बैठकमा सदस्यहरुले ‘जनयुद्धको जगमा जनविद्रोह’ भन्ने कार्यदिशा अपूरो र अस्पष्ट भएको आवाज उठाएपछि राष्ट्रिय सम्मेलन मार्फत कार्यदिशा समृद्ध गर्ने निर्णयमा माओवादी पुगेको थियो । अहिले माओवादीले कार्यदिशा कस्तो बनाउने भन्नेबारे आन्तरिक कमिटीहरुमा छलफल चलाइरहेको छ । पार्टीको कार्यदिशा शान्ति र संविधान वा विद्रोह भन्ने विषयमा मतभेद बढेपछि एकीकृत माओवादी बाट अलग भएको मोहन वैद्य किरण नेतृत्वको समूहले असार २०६८ मा भएको बौद्ध भेलामार्फत नेकपा–माओवादी गठन गरेको थियो ।
 

No comments:

Post a Comment