प्रधानमन्त्री भट्टराई र अध्यक्ष दाहालसहितको टोली तालबन्द शिविरमा

कैलाली, १४ मङ्सिर । 
प्रधानमन्त्री डा बाबुराम भट्टराई र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल सहितको एक टोली आज बिहान कैलालीको तालबन्दस्थित सातौँ डिभिजन पुगेको छ । एमाओवादी लडाकुको पुनःवर्गीकरणको कार्य भइरहेको समयमा प्रधानमन्त्री डा भट्टराई र एमाओवादी अध्यक्ष दाहाल, नेता कृष्णबहादुर महरा र लडाकुका कमान्डर नन्दकिशोर पुन, मधेसी जनअधिकार फोरम(गणतान्त्रिक)का अध्यक्ष जयप्रकाशप्रसाद गुप्ता र एमाले महासचिव ईश्वर पोखरेल सो टोलीमा हुनुहुन्छ ।
माओवादी लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिका संयोजकसमेत रहनुभएका प्रधानमन्त्रीसहितको सो टोलीलाई पुनःवर्गीकरणको कार्यमा भइरहेका गतिविधिका बारेमा पुनःवर्गीकरण टोलीका संयोजक एवम् विशेष समिति सचिवालय सदस्य गोपालसिंह बोहराले जानकारी गराउनुभयो । सातौँ डिभिजनका लडाकुले अपाङ्ग, घाइते लडाकुका बालबच्चालाई शिक्षा, रोजगार तथा पेन्सन भत्ताको व्यवस्था हुनुपर्ने र समायोजनमा जानेहरूका लागि दर्जा, शैक्षिक योग्यतालगायतका विषयमा स्पष्ट खाका ल्याइनुपर्ने भन्दै समायोजन प्रक्रिया अब अविलम्बरूपमा टुङ्ग्याउनुपर्ने माग गर्दै आएका बेला टोलीको भ्रमण भएको हो ।
सातौँ डिभिजनमा मङ्गलबारसम्म दुई हजार ५८८ जनाको पुनःवर्गीकरण सम्पन्न भइसकेको छ । पुनःवर्गीकरणमा ७५ महिला र एक हजार २८६ पुरुष तथा स्वेच्छिक अवकाशमा ४७१ महिला र ७५३ पुरुष लडाकु छन् । पुनःस्थापनामा भने तीन पुरुष लडाकुले मात्र आफ्नो नाम दर्ज गराएका छन् । सातौँ डिभिजनमा सरुवा भई आएकासहित तीन हजार ३०० ३६ जना लडाकु रहेको जनाइएको छ । पुनःवर्गीकरण सम्पन्न हुन अझै तीन÷चार दिन लाग्ने बताइएको छ ।
वर्गीकरण कार्य सुरु भएपछि यसअघि शान्ति तथा पुनःनिर्माण मन्त्री सत्या पहाडी, विशेष समितिका सदस्य जनार्दन शर्मा, एमाओवादी नेता नन्दकिशोर पुनले पहिलोपटक तथा विशेष समितिका सदस्य भीमबहादुर रावल, डा रामशरण महत, डा मीनेन्द्र रिजाल र जितेन्द्र देवले दोस्रोपटक अवलोकन गरेका थिए । पौने १० बजेतिर पुगेको सो टोली केहीबेरपछि सुर्खेत र रोल्पातर्फ जाने बताइएको छ ।

यसैविच
प्रधानमन्त्रीको टोलीबाट निरीक्षण

धनगढी, १४ मङ्सिर । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको एक टोलीले आज कैलालीको तालबन्दस्थित माओवादी लडाकुको सातौँ डिभिजन कार्यालयको निरीक्षण गरेको छ । एकीकृत नेकपा( माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल समेत सम्मिलित सो टोलीले निरीक्षणका क्रममा सातौँ डिभिजन कार्यालयमा भइरहेको लडाकुको वर्गीकरण र वर्गीकरणका क्रममा देखिएका समस्याबारे जानकारी लिएको छ ।
टोलीलाई वर्गीकरणका लागि खटिआएको सेना समायोजन विशेष समितिअन्तर्गतको टोलीका संयोजक गोपालसिंह बोहोराले वर्गीकरणबारे जानकारी दिनुभयो । सातौँ डिभिजन कार्याल्य तालबन्द (कैलाली) मा तीन हजार २३० माओवादी सेनाको लडाकु रहेकामा मङ्गलबारसम्म दुई हजार ५९४ लडाकु वर्गीकरणमा समावेश भएका छन् ।
वर्गीकरण कार्य अझै केही दिन जारी रहने बताइएको छ । प्रधानमन्त्री डा भट्टराई र एमाओवादी अध्यक्ष दाहालले सातौँ डिभिजन कार्यालयका लडाकुका कमान्डरहरूसँग पनि छलफल गर्नुभयो । छलफलका क्रममा एमाओवादी नेताहरूले जारी शान्ति प्रक्रिया कार्यान्वयन गर्ने क्रममा लडाकुले देखाएको संयमताको प्रशंसा गर्दै शान्ति प्रक्रिया नटुङ्गिएका विषयमा पनि छिट्टै दलहरूबीच सहमति हुन लागेको जानकारी कमान्डरहरूलाई दिनुभयो ।
प्रधानमन्त्री डा भट्टराईको टोलीमा नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल, एमाओवादी नेता कृष्णबहादुर महरा, लडाकु प्रमुख नन्दकिशोर पुन र मधेसी जनअधिकार फोरम(गणतान्त्रिक)का अध्यक्ष जयप्रकाशप्रसाद गुप्ता सम्मिलित हुनुहुन्थ्यो ।

No comments:

Post a Comment