उच्च शिक्षालाई चिरफार गर्दा देखिएको यथार्थता र भावी दिशा

Bookmark and Share 
कालीप्रसाद पाण्डे
सुर्खेतमा विश्वविद्यालय स्थापना गर्न कम्मर कसेर ठूलो उत्साहका साथ लागेका सुर्खेती जनता, सरकारले निर्णय गर्नासाथ गत २०६५ को चैतमा भएको महायज्ञमा उर्लिएको जनलहर लामो, समय र परिश्रम पछि हुने नहुने यताउता गर्दै बढेको आशा निराशा र २०६७ सालमा बल्लबल्ल विधेयक पास भएर लालमोहर लागेपछि मात्र टुंगो लाग्न पुगेको छ । सरकारले पनि २०६६/०६७ र २०६७/०६८ मा दुई पटक बजेटमार्फत मध्यपश्चिमाञ्चल विश्व विद्यालयलाई बजेट छुट्याउँदा पनि पदाधिकारी नियुक्ति गर्न नसकेर अलपत्र परेको सुर्खेती जनता र सम्पूर्ण मध्यपश्चिम वासीको माग २०६८ श्रावण २३ गते जाँदाजाँदै झलनाथ खनालको नेतृत्वको सरकारले कूलपतिका हैसियतले उपकूलपति नियुक्ति गर्दा अब बल्लबल्ल विश्वविद्यालय बन्ने भयो भनेर पुन: एकपटक जनतामा खुसियाली छाउने अवस्था आयो । यसलाई शिक्षाप्रेमी वुद्धिजीवी, आफ्नो गास बास काटेर महायज्ञमा दानदिने दाता यसको स्थापनाको लागि समर्पित प्राध्यापक, पार्टी प्रतिनिधि, नागरिक समाज, विश्वविद्यालय स्थापनार्थ गठित समिति, विद्यार्थी, शिक्षक, अभिभावक सबैले एकपटक हर्षोल्लासका साथ खुशियाली मनाए । यो वास्तवमा एउटा गौरवको विषय थियो र लामो समय देखिको परिश्रम सफल भएका कारण हर्षित हुुनुपनि स्वाभाविक थियो । 

यहाँ विश्वविद्यालय खुलोस् भन्ने चाहना वास्तवमा जनस्तरबाटै आएको हो र भोलिका दिनमा यो विश्वविद्यालयमा पढ्ने विद्यार्थीपनि यस क्षेत्रका गरीब निमुखा किसान, पजदुर, श्रमजीवी जनताका छोराछोरी नै हुन् । एउटा विश्वविद्यालयलाई यसको नाम जस्तोसुकै भएतापनि एउटा सानो सीमानाभित्र कैद गरेर राख्न भने सकिंदैन । यसको मर्यादा र मान्यतापनि विश्वव्यापी र क्षेत्रपनि आजको संसारमा विश्वव्यापी हुनु जरुरी छ । त्यसैकारण पनि यहाँको यो संस्थाले मध्य पश्चिमाञ्चललाई विश्वमा नै पहिचान दिने एउटा प्रतिष्ठित संस्था बनाउन जरुरी छ । यसको गठनमा विद्वान र लब्ध प्रतिष्ठित व्यक्तिहरुको उचित स्थान हुनु नितान्त आवश्यक छ र यो ज्ञानको मन्दिरमा ज्ञानका नै कुरा हुनु नितान्त आवश्यक हुन्छ । कारण कुनैपनि नीतिलाई परिमार्जित गर्ने सबल नीति भनेको नै शिक्षा नीति हो । यसले राष्ट्रसेवक, योजनाकार, स्वास्थ्यविद्, कलाकार सोधखोज र अनुसन्धान गर्ने दार्शनिक, वैज्ञानिक आदि सबैखाले जनशक्ति उत्पादन गर्ने क्षेत्र भनेको विश्वविद्यालय शिक्षा नै हो । त्यसैकारण यो थलो स्वच्छ मनले सोच्ने र पवित्र मनले सेवा गर्ने एकमात्र ठाउँ हो । 
सुर्खेतमा विश्वविद्यालय स्थापना गर्ने प्रयासको थालनीसंगै यसको विरोध पनि सुरु भएको यथार्थता पनि जानी नसक्नु छ । हाल आएर देशको गौरव मानिने नेपालको एकमात्र विश्वविद्यालय त्रिभुवन विश्व विद्यालयको भित्री अवस्था, यसको भर्ना र परीक्षा, पठनपाठन र स्तर, सम्वन्धन र स्वीकृति, व्यवस्थापन र आर्थिक भौतिक पक्ष आदि सबै विचार गर्दा लथालिंग देखिन्छ तर पनि हामी गौरव गर्दैछौं, यो हाम्रो उत्कृष्ठ विश्वविद्यालय हो भनेर । यसको मर्यादा सुरुमा माउ विश्वविद्यालय पटना विश्वविद्यालयले आफूसंग अलग हुँदा कायम गरिदिएको हो र त्यो मर्यादा कायम गर्न हालका दिनमा हम्मेहम्मे भएको छ । नत सेसन समयमा छ, नत परीक्षा, नत परीक्षाफल राम्रो छ, नत परीक्षा मर्यादित, नत पढाइ हुन्छ, नत कुनै नियम पालना, खाली राजनीतिको हस्तक्षेपले यसलाई शिक्षाको डम्पिङसाइड बनायो तरपनि देशभरी यसका उत्पादन छ्यापछ्याप्ती भएका कारण सम्बधनको धन्दा र व्यापारीकरणमा सफल भएका कारण मगन्ते र दरिद्र सरकार भएका कारण सम्पूर्ण शक्ति र बजेट केन्द्रिकृत भएका कारण जनशक्ति विदेश पलायन भएका कारण यस्ता अनेक कारणले यो देशको उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयको एकलौटी अधिकार कायम भएको हो । यहाँ अर्को विश्वविद्यालयका प्रगतिमा होइन दुर्गतिमा रमाउने खेल यथार्थमा सुरु हुन्छ र त्यो खेल नै समग्र देशको उन्नतिमा बाधक छ । हालको विश्व उदारिकरण र विश्व व्यापकताको अवस्थामा पनि एउटा विश्वविद्यालयले सम्पूर्ण देशको उच्च शिक्षाको ठेक्का लिनु वास्तवमा नै विडम्वना हो । तर के गर्ने यसको विरोधमा जाने साहसपनि छैन । 
त्रिभुवन विश्वविद्यालय २०१६ सालमा स्थापना हुँदा यसका सबैजसो विद्वानहरु भारतका स्तरीय विश्वविद्यालयका उत्पादन भएका कारण र यसको विकासका एकोहोरो समर्पित भएका कारण पनि यसको विकास भएको हो । हालका दिनहरुमा यो विश्व विद्यालय नै पूर्णरुपले राजनीतिको प्रयोगशाला भएको छ । संसारमा कुनैपनि शिक्षण संस्था जब राजनीतको फन्दामा फस्न पुग्दछ तब त्यसको वर्वादी सुरु हुन्छ । यहाँपनि विश्वविद्यालयको उपकूलपतिदेखि पाले पियनसम्म पनि राजनीतिकको भागवण्डामा निर्धारण गरिन्छ जो वास्तवमा दु:खको कुरा हो । एउटा उच्च शिक्षाको सर्वोच्च निकायलाई शैक्षिक मर्यादा वाहिर गएर राजनीति भन्ने कुरा विल्कुल अलगअलग विषयवस्तु हुन् र ती अलग विषयवस्तुले अलग कुरा नै बोध गराउँछन् तर यी दुवैको सम्बन्धलाई व्यक्तिगत स्वार्थका लागि एकै ठाउँमा जोडिन्छ तब प्रदुषण सुरु हुन्छ कारण हालको नेपालको राजनीति पनि त्यसैमा गाँसिएको छ । स्वयं राजनीतिका शिखर पुरुषहरुलाई पनि थाहा छैन हामीले देशलाई कता डोर्‍याउने हो भनेर । खोक्रो वकालत र ठेलो न टुप्पाको बकम्फुसे भाषण नै सर्वोपरी मान्ने चलन खाली जनता उचाल्ने खेल हो र यसमा सुरुमा लाउने शिक्षाले नै हो तर नेपालको हालको परिस्थिति फरक छ । यहाँको राजनीतिले दलाल उत्पन्न ष्रेको छ र शिक्षा क्षेत्रमा पनि शैक्षिक दलालले उत्पात मच्चाएको देखिन्छ त्यसैकारण पनि उच्च शिक्षा क्षेत्रमा आक्रान्त भएको हो । हालको अवस्थामा पठनपाठन र शैक्षिक क्रियाकलापमा मात्र ध्यान दिने व्यक्तिहरुको अवस्था साह्रै न्यून छ र शैक्षिक दलालले मात्र ठूलो सुविधा पाएको अवस्था छ । 
हाल आएर उच्च शिक्षाको समस्या भनेकै टुरिष्ट विद्यार्थी र हेलमेट टिचर नै हो । कारण विद्यार्थी शिक्षणसंस्थामा नाम लेखाएर वेपत्ता हुने चलन र शिक्षक हाजिर गरेर भाग्ने चलन वा पन्ध्र दिन तथा एक महिनामा एकपटक हाजिर गर्ने चलन वास्तवमा विश्वविद्यालयको समस्या हो । यो नै शैक्षिक स्तरमा ह्रास आउने मुख्य कारण भएका छन् र अर्को समस्या भनेको बन्द हड्ताल र तालावन्दी हो जसको कारण पठनपाठनमा ठूलो आधात पुगेको छ र गुणस्तर कायम हुनपनि सकेको छैन । यसरी नत पढ्ने नत पढाउने वातावरण भएका कारण परीक्षा मर्यादित हुनपनि सक्दैन र अनेक अमर्यादित हतकण्डा अपनाएर पास गर्नुपर्ने स्थिति सिर्जना 
हुन्छ । बजारमा पाइने गेसपेपर र परीक्षामा हुने हुलहुद्दतका कारण शिक्षकहरु परीक्षामा नबस्ने र मर्यादा कायम हुन नसक्ने अवस्था हुन्छ । यसले गर्दा जगैदेखिको शिक्षाको मर्यादा समाप्त भएकोपनि निश्चित हो । अर्को विडम्बना भनेको आजको सोधखोज र अनुसन्धानको युगमा पनि पुरानै प्रकारको विद्यार्थीले रटेर परीक्षा पास गर्नुपर्ने चलनले हामीलाई १९ औं शताब्दीतिर धकेलेको 
छ । सुर्खेतमा हुने विश्वविद्यालयमा पनि यिनै समस्या मुख्यरुपमा खडा हुने सिर्जना भएको छ । 
आजको समाजले ठूलो परिवर्तन खोजेको छ । नयाँ विश्वव्यापीकरण नेपालको पछौटेपन तथा दरिद्र मानसिकतालाई सुधार गर्ने शिक्षा आजको अवश्यकता पनि हो तर हालको शिक्षा नीति तथा शैक्षिक गतिविधि त्यो दिशातिर लक्षित भएको पाइदैन । यसले गर्दा नयाँ परिवर्तनको भाषा बुझ्ने समाजको सिर्जना गर्ने जनशक्ति तयार हुन सकेको छैन र युग अनुसारको चिन्तन नुहुनुमा पनि यसैको कारण हो । यही पुरातानवादी सुगा रटाइको शिक्षाका कारण नेपालबाट ठूलो जनशक्ति शिक्षाकै लागि विदेश पलाएन भएको छ र देश भित्र व्यापक असन्तुष्टि पलाएको छ । जब शिक्षाले देश विदेशका कुरा बुझाउन सक्दैन र ज्ञानले मानिसको चिन्तनमा परिवर्तन ल्याउन सक्दैन तब त्यो शिक्षा निरर्थक सावित हुन्छ । हालको नेपालको शिक्षा पनि करिब करिब निरर्थक सावित भएको छ । अबका उच्च शिक्षा उपरोक्त सबै कमजोरी, विसंगति र विथितिलाई पन्छाउने र भोलिको लागि आवश्यक जनशक्ति तयार पर्ने खालको हुनु जरुरी छ । यो नै नयाँ विश्वविद्यालयको मूल लक्ष होस् भन्ने शुभकामना गरौं । राजनीतिको कुचक्रबाट टाढा राख्न सम्पूर्ण जनता जागरुक हुन जरुरी देखिन्छ कारण यहाँको उच्च शिक्षा यहाँकै जनताको सुधारका लागि अवश्य हो ।

No comments:

Post a Comment