एउटै छाप्रोमा ११ टुहुराटुहुरी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
रुकुम, १३ चैत ।
    सदरमुकाम खलङ्गा–३ स्थित एक छाप्रामा ११ टुहुरा बस्दै आएका छन् । सशस्त्र युद्धकालमा नेपाली सेनाको मोर्टार आक्रमणमा घाइते भएकी गरायला–५ की देवसरी पुनका पाँच र जाङ गाविसका आइते तामाङका ६ गरी ११ बालबालिकाले कुनै राहत पाएका छैनन् । विसं. २०५९ मङ्सिर ९ गते गस्तीमा गएको सेनाको गोली दुवै तिघ्रामा लागेकी देउसरीको उपचार अभावमा गत मंसिरमा मृत्यु भएको हो ।

    आमाको मृत्यु र बाबुले हेर्न छाडेपछि १५ वर्षीया ललिता, १३ वर्षीया सानु, ११ वर्षीया हिरा,  नौ वर्षीया कविता र ६ वर्षीय जनमको रेखदेख गर्ने कोही छैन । उनीहरू स्थानीय लालबहादुर नेपालीको गोठमा बस्दै आएका छन् । सरकारले द्वन्द्वकालमा मृत्यु भएकालाई एक लाख रूपैयाँका दरले राहत दिएपनि द्वन्द्वकालमा लागेको गोलीकै घाउ बल्झिएर मृत्यु भएकी देउसरीको परिवारले पाउन सकेको छैन ।
    बाबुको मृत्यु र आमाको मानसिक सन्तुलन गुमेपछि बिचल्लीमा परेका पूर्वी रुकुमको जाङ गाविसका तामाङ परिवारका ६ बालबालिका पनि देवसरीका टुहुरा संगै बस्दै आएका छन् । उनीहरूका बाबु आइतेको गत पुसमा मृत्यु भएको हो । सबै बालबालिका एक वर्षको अन्तरमा जन्मेका हुन् । आमा पृथ्वीमायाको कुनैबेला होस आउँछ भने कतिखेर जे मन लाग्यो त्यही गर्छिन् ।
    ‘झरीसंगै मध्यरातमा आए, बस्ने ठाउँ नभएका ती बालबच्चाका लागि गोठको ढोका खोलिदिएँ’, गोठका मालिक लालबहादुरले भने,‘ओढ्ने एउटा थोत्रो कम्बल पनि पानीले भिजेकाले रातभर जाग्राम बसें ।
    खानेकुरा नहुँदा कहिलेकाहीं छिमेकीले दिने गरेका छन् । त्यसमाथि मानसिक रोगी आमाले खाना फालिदिने, कुटपिट गर्ने, कपडा च्यातिदिने र मध्य रातमै घरदेखि बाहिर लगेर डुलाउने गरेको छिमेकी भावना परियारले बताइन् ।

No comments:

Post a Comment