- थानेश्वर लामिछाने
लेखक, सर्जक वा कृतिकारले आफ्ना लेख, रचना वा कृतिका माध्यमबाट आम पाठकहरूमा सकारात्मक शिक्षा, ज्ञान, सन्देश र चेतना भरेर उसमा सोही अनुसारको सकारात्मक धारणाको विकास गराई उसको जीवनमा समेत सोही अनुसारको सकारात्मक परिवर्तन ल्याउनका निम्ति लेख रचनाहरू लेख्ने र कुनै पुस्तक वा कृतिहरू प्रकाशन गर्ने गर्दछ । यसो गर्दा उसलाई सर्वप्रथम अनुच्छेद लेखन, वाक्यगठन र भाषिक शुद्धाशुद्धिको नितान्तै जरूरत पर्दछ । यसका निम्ति वर्णविन्यास, लेख्य चिन्हहरूको प्रयोग आदि आधारभूत अत्यावश्यकीय कुराहरू हुन् । टाइपराइटर र कम्प्युटरको चलन आउनुपूर्व लेखक, सर्जक वा स्तम्भकारद्वारा पहिले लेखेर शुद्धाशुद्धि हेर्न लगाइसकेपछि पाण्डुलिपि तयार गर्ने गरिन्थ्यो भने हाल आएर पहिला खेस्रा बनाइदिएर त्यसलाई टङ्कारीले टङ्कन गरिसकेपछि कम्प्युटर भित्रै हेर्ने वा छापेको पहिलो ड्राफ्टको पाना निकालेर शुद्धाशुद्धि हेरी पुनः सच्याएर निकाल्ने प्रचलन छ । यस्तो प्रक्रिया लेख, कृति वा पुस्तक भित्रका कुराहरू पूरैै शुद्ध नहोउन्जेल निरन्तर चलिरहन्छ । लेख, रचना, कृति वा पुस्तक भित्रका कुराहरू कति पटकमा शुद्ध हुने वा गरिने भन्ने कुरा टाइप गर्ने व्यक्तिको सीप वा कौशल र सावधानीमा निर्भर गर्दछ । कम्प्युटर टाइप गर्ने व्यक्तिले असावधानी वा भूल गरेर पहिले शुद्धसँग टाइप गरी दिएन भने र टाइपपछि पनि सच्याएका कुराहरू सेभ गरेन वा नियतबस् सेभ गरिदिएन भने शुद्धाशुद्धि हेर्ने व्यक्ति (प्रुफ रिडर) ले जतिपटक हेरे पनि त्यो शुद्ध नहुने अवस्था आउन सक्छ ।
कुनै स्वतन्त्र लेख, रचना, अनुसन्धानात्मक लेख, रचना र कृति वा पुस्तक प्रकाशन गर्दा लेखकले शुद्ध र स्पष्ट रूपमा लेखेर पाण्डुलिपि दिएपश्चात टङ्कन गर्ने कामको आरम्भ हुन्छ । यसरी टङ्कारीले टङ्कन गरिसकेपछि त्यसलाई आवश्यकताअनुसार पुनः शब्दविभाजन, अन्तराल, पृष्ठाङ्कन आदिको अध्ययन गरेर यदि त्यो लेख, रचना वा कृति सोचे अनुसारको नभएको भए आवश्यक संसोधन र परिमार्जन गर्नुपर्दछ । पटक पटक सुधार गरिए पनि एकचोटि अन्तिम पल्ट राम्रोसँग पठन गरी संशोधन गर्नु पर्दछ । टङ्कन आफैले गरेको भए पनि र अरूले गरेको भएपनि शुद्धाशुद्धि र प्रविधि सम्बन्धी राम्रो ज्ञान भएको अरू कसैलाई एकचोटि रुजु गर्न लगाएर अन्तिम कसर हटाउन लगाउनु पर्दछ । आफूले रुजु गर्दा आँखामा नपरेका साना त्रुटिले पनि अर्थको अनर्थ लाग्न सक्दछ । यसका अतिरिक्त कम्प्युटर टाइप गरेकोमा कहिलेकाहीँ अन्तिम शुद्धिकरण गरिसकेर त्यसलाई कम्प्युटरमै सुरक्षित गरिएको छैन भने त्यो उडेर गई जस्ताको त्यस्तै अशुद्धि पनि रहेको हुन सक्दछ ।
अंग्रेजी टङ्कन जति सजिलो देवनागरी टङ्कन हुँदैन । देवनागरी टङ्कनका आफ्नै सीमाहरू छन् । टङ्कन यन्त्रैपिच्छे अक्षर फरक हुन सक्ने हुँदा एउटै यन्त्रबाट टङ्कन गराउनु पर्दछ । टङ्कारीले शुद्धलाई अशुद्ध र अशुद्धलाई शुद्ध गरिदिन सक्ने हुँदा उसलाई सुरुमै स्पष्ट निर्देशन दिनु पर्दछ । अशुद्धिलाई नसच्याएमा अर्थको अनर्थ हुने हुन्छ । जस्तै ः
क) ‘गरिन’ शब्दले अकरण अर्थ र ‘गरिन्’ शब्दले करण र मध्य आदरार्थी अर्थ बताउँछ ।
ख) संयुक्त वर्ण छुट्याएमा अनर्थ लाग्छ । जस्तै ः उद्–देश्य, सम्–भव ।
ग) शब्द नटुक्रिने ठाउँमा टुक्र्याएमा अनर्थ लाग्छ । जस्तै ः रमा–इलो, र–माइलो ।
घ) अङ्कमा लेखिएको सङ्ख्या छुट्याउनु हुँदैन । जस्तै ः २०–६८ साल हुँदैन ।
ङ) एउटा मात्र वर्णलाई छुट्टै राखिदैन । जस्तै ः असमा–न, प्रवे–श, विभाज–न गर्नु हुँदैन ।
च) उपसर्ग लागेका शब्दलाई टुक्र्याउन मिल्दैन । जस्तै ः प्र–हार, उप–कार, उत्–पति, सु–मार्ग, कु–बाटो आदि ।
छ) उही शब्द पनि पदवियोग गरी लेख्दा अर्थ फरक दिने हुन्छ । जस्तै ः काम्छ (काम्ने गर्छ), काम छ (केही काम छ), तनखा (तलब), त नखा (तैंले नखा), खायो (उसले खायो), खा यो (ल तैंले यो खा), गाउँछन् (गीत गाउँछन), गाउँ छन् (गाउँहरू छन्), कोप¥यो (उसले कोप¥यो वा चिथर्यो), को प¥यो (यो मान्छे को प¥यो होला) । आदि ।
विभिन्न स्रोतबाट सामग्री सङ्कलन गरी लेख, रचना, कृति वा पुस्तकको अन्तिम रूपरेखा तयार पारेर लेखिन्छ । आजको विद्युतीय यन्त्र उपकरणको युगमा कम्प्युटरको प्रयोग गर्दा पटक–पटक खेस्रा लेखिरहनु पर्दैन । तर कम्प्युटर आफैले टाइप गर्दा वा अरूले टाइप गर्दा पनि अनेकौं त्रुटिहरू हुन सक्छन् । प्रारम्भिक अवस्थामा कम्प्युटरमा टाइप गरेपछि कम्प्युटरको पर्दा (स्क्रीन) मै पढेर केही सुधार गर्न सकिन्छ । त्यसपछि प्रिन्ट निकालेर कहीँ टाइप गर्न छुटेका कुराहरूलाई थपघट् गर्नुपर्ने, परिष्कार गर्नुपर्ने, परिमार्जन र शुद्धिकरण गर्नुपर्ने कुराहरूलाई सुधार गर्न सकिन्छ । आफ्नो लेख, रचना, कृति वा पुस्तकको भाषालाई अझ तार्किक, स्पष्ट, प्रवाहमय र सङ्गतिमूलक बनाउन आवश्यक कुराहरू थप्न, झिक्न र परिष्कार, परिमार्जन, पुनरावृत्ति गर्न र भाषिक जटिलता हटाउन पटक–पटक अद्योेपान्त अध्ययन गरेर परिमार्जन एवम् संशोधन गर्नुपर्दछ । यस क्रममा भाषिक पक्षको परिमार्जन गर्दा वर्ण र चिन्हहरूको उचित प्रयोग गर्नुपर्दछ । आफूलाई अस्पष्ट लागेका ठाउँमा शब्दकोश र सम्बन्धित विषयका व्यक्तिसँग सहयोग लिनु पर्दछ ।
वर्ण विन्यास (क्उभििष्लन) वर्ण प्रतीकहरूको क्रमबद्ध र व्यवस्थित रखाइ हो । शब्दान्तरमा वर्णहरूलाई त्रुटि नहुने गरी शब्दमा र चिन्हहरूको उचित प्रयोग गरेर वाक्यमा लेख्ने कामलाई वर्णविन्यास÷हिज्जे÷वर्तनी÷खिप्ती भनिन्छ । यसअन्तर्गत ह्रस्वदीर्घ सम्बन्धी नियम, हलन्त र अजन्त सम्बन्धी नियम, स÷श÷ष, ब÷व÷ओ, क्षे÷क्ष्य÷छे, य÷ ए, ऋ÷रि÷ री को प्रयोग, शिरबिन्दु र चन्द्रबिन्दुको प्रयोग, पदयोग र वियोगसम्बन्धी नियम पर्दछन् । ह्रस्वलाई इ, उ, ु, रु जस्ता चिन्ह र दीर्घलाई ई, ऊ, ू, रू जस्ता चिन्हले चिनाउने गरिन्छ ।
छपाइ शुद्धि (प्रुफ रिडिङ्ग) का लागि प्रयोग गरिने केही चिन्हहरू निम्नानुसार छन् ः
नेपाली भाषा नेपालको राष्ट्रभाषा, कार्यालयीय भाषा र सम्पर्क भाषा हो । वि.सं. २०५८ सालको जनगणना अनुसार नेपाली भाषा बोल्नेको सङ्ख्या १,१०,५३,२२५ रहेको छ । विद्यालय तहको पूर्वप्राविदेखि उमावितहसम्म र केही सङ्कायमा बाहेक स्नातक तहसम्म अनिवार्य विषयका रूपमा र प्रवेशिकादेखि स्नातकोत्तरसम्म त झन् विशिष्टीकरण विषयका रूपमा नेपालीको पठनपाठन हुने गर्दछ । भाषालाई शुद्धसँग लेख्ने र भाषिक व्यवहार गर्ने भनेर सबै तहका पाठ्यक्रममा नेपाली व्याकरण समावेश गरिएको छ ।
दुःखको कुरा के छ भने प्रारम्भिक कक्षाका विद्यार्थीहरूले नेपाली विषय पढ्ने समयमा सजिलो भनेर कम रुचि राखेर पढ्छन् । लेख्ने
बेलामा भने नेपाली भाषाका लिपि मात्रै होइन कि गणितका अङ्क समेत अंग्रेजी र नेपाली मिसौटे बनाएर अस्पष्ट र अनर्थ लाग्ने गरी लेखेको पाइन्छ । उच्च शिक्षाका विद्यार्थी, शोधार्थी र पुस्तक लेखकहरूले अरू विषयमा विशिष्टीकरण गरेका भए पनि अनिवार्य विषय पढेका आधारमा आफ्ना लेख, रचना, कृति, पुस्तक वा शोधपत्रका शुद्धाशुद्धि आफै हेर्न सक्नुपर्नेमा केही अपवाद बाहेक अधिकांशले त्रुटि गरेको र त्यतिबेला शुद्धाशुद्धि हेर्ने (प्रुफ रिडर) को खाँचो महसुस् गरेको देखिन्छ । कतिले त पहिले हातले लेखेको सच्याइदिएको कुरा पनि टाइप पछि फेरि बिगारेर ल्याउने र शोधनिर्देशकले त्यही कुरालाई दुई–तीन चोटि सच्याइदिनु पर्ने अवस्था पनि आउने गरेको पाइएको छ । केही मिहिनेत साथ शुद्धाशुद्धि हेरिदिने व्यक्ति (प्रुफ रिडर) हरूले आफूले शुद्धाशुद्धि हेरिदिएको (प्रुफ रिडिङ्ग) गरिदिएको पारिश्रमिक नपाइने र प्रुफ हेर्दा चाहिने रातो कलम समेत आफैले किनेर प्रयोग गर्नुपर्ने भएकाले यसरी आफूले दिएको समय र गरेको श्रमको अवमूल्यन र शोषण भइरहेको भन्ने गुनासाहअरू पनि सुनिने गरेका छन् । सित्तैमा गरेको कुनै पनि काम दिगो हुँदैन र एउटा विद्वत वर्गले अर्कालाई मेरो यो काम एकछिन् गरिदे भन्नु पनि त्यति शोभनीय मानिदैन । अतः यस्तो महत्वपूर्ण कार्यलाई व्यवस्थित गरेर लैजानका निम्ति शुद्धाशुद्धि हेर्ने व्यक्ति (प्रुफ रिडर) लाई उचित पारितोषिकको व्यवस्था गर्नतर्फ सम्बन्धित सबैको ध्यान जान नितान्त आवश्यक देखिन्छ ।

No comments:
Post a Comment