युवाको भूमिका अब के हुने ?

देवेन्द्र सेजुवाल
     संसारका कुनैपनि अग्रगामी राष्ट्रहरु आफैं सम्पन्न र समृद्ध भएका होइनन् । त्यहाँका ज्वाजल्यमान युवाको सकारात्मक चिन्तन र सक्रियताका कारणले सम्भव भएका हुन् । अझ भन्नुपर्दा त्यहाँको राज्यले युवावर्गको सही क्षमता र चिन्तनलाई सदुपयोग गर्दै राष्ट्रलाई उन्नतिको बाटोतर्फ अगाडि बढाएको इतिहास हाम्रो सामु छ । राष्ट्र ईश्वरको वरदान होइन, मनुष्यको सिर्जना हो । यस सत्यतथ्यलाई हृदयगत गर्दा जब हामी राष्ट्र निर्माण र विकासको कुरा गर्छौंं, राष्ट्रको जनशक्ति त्यसमा पनि राष्ट्र निर्माणका मेरुदण्ड युवाहरुको ऊर्जालाई आफ्नो निजी स्वार्थ वा दलगत स्वार्थमा दुरुपयोग गरिएको हाम्रो मुलुकको वर्तमान अवस्था छ । युवाको तागतलाई सदुपयोग गरेर देश निर्माण गर्नुपर्ने यो अवस्थामा दुरुपयोग गरेर आफ्नो निजी स्वार्थमा प्रयोग गर्नु नै मुलुकको लागि ठूलो दुर्भाग्य बन्न गएको छ । युवाशक्तिलाई सबैभन्दा महत्वपूर्ण स्रोत र नयाँ नेपालको संवाहकको रुपमा पहिचान र परिचालन गर्न नसक्नु नै हाम्रो मुलुकको आजको मुख्य समस्या हो । किनकि, युवाशक्तिलाई संगठित गर्दै युवा ऊर्जालाई उत्पादनशील र सिर्जनशील बनाउनु नै नयाँ नेपाल निर्माणको आधारस्तम्भ हो । 
युवाहरुको व्यापक संलग्नता तथा सक्रियताले जनआन्दोलन भाग २ को सफलता र संविधानसभा निर्वाचनपछि देशले पनि एक युगको कोल्टे फेर्ने समय आएको थियो । तर आज मुलुकका ठूला भनिएका राजनीतिक दलका कारणले त्यो समय अझै आउन सकेको छैन । नेपालीहरुको ठूलो आशा र भरोसाको विषय बनेको नयाँ संविधान र शान्ति प्रक्रिया अझैसम्म पनि अन्यौलमा छ । अन्तरिम संविधानले तोकेको संविधानसभाको समयावधि समाप्त भई थपेको २ वर्षको समयावधि समाप्त हुन केही दिनमात्र बाँकी रहँदासम्म पनि नेपाली जनताको ठूलो भरोसाको केन्द्र नयाँ संविधान नागरिकले पाउन सकिरहेका छैनन् । संंविधानसभाको ४ वर्षको समयसम्म झगडा गरेर मात्र बिताएका दलहरु अझैपनि यो अन्तिम घडीमा सहमति, सहकार्य र एकताको सूत्रबाट अघि बढ्ने छाँटकाँट देखिंदैन । यदि यस्तै अवस्था रह्यो भने नयाँ नेपाल निर्माण गर्ने दायित्व र अभिभारा युवाहरुमाथि चुनौतीको रुपमा नआउला भन्न सकिन्न । क्रान्ति सत्ता र व्यवस्थाको परिवर्तन मात्र होइन, नागरिकको लागि शान्ति, सुव्यवस्था, सुशासन र विकासको लागि आधार, अनुभूति र अनुकरणीय उपलब्धी पनि हो । उपलब्धिवीनाको क्रान्ति उद्देश्य बिनाको यात्रा जस्तै हो । सायद यसैले होला नेपालमा लोकतन्त्रको आन्दोलन निरन्तर श्रृंखलाबद्ध अघि बढ्दै छ । यस्तै स्थिति रह्यो भने २०६२/०६३ सालको जनआन्दोलनको सफलता आन्दोलनको अन्त्य हो भन्न सकिदैन । राष्ट्र निर्माण र विकासको लागि युवाहरुले आन्दोलनको नेतृत्व गर्नुपर्ने अवस्था नआउला भन्न सकिने अवस्था छैन । नयाँ नेपाल निर्माणमा युवाहरुलाई साधै यसरी नै किनारा लगाउँदै गएमा युवा शक्ति युवाको उल्टो वायु बन्न बाध्य 
हुनेछन् । जसको वेग थाम्न राज्य चलाइरहेकाहरुलाई कठिन हुनेछ । 
युवा राष्ट्रको मेरुदण्ड हो । युवा उत्साही, जाँगरिला र आफ्नो ध्येयप्रति समर्पित हुन्छन् । युवामा दिव्यदृष्टि हुन्छ, नेतृत्व क्षमता 
हुन्छ । युवा अजय र स्वाभिमानी हुनुको साथै सशक्त, सबल र भयरहित हुन्छन् । युवाको यो चरित्रलाई राष्ट्रको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा समर्पित गर्नु नै आजको मुख्य आवश्यकता हो । कर्मवीर र स्वाभिमान युवावर्ग आजको आवश्यकता हो । युवामा भएको अथाह सिर्जनाशक्ति, कल्पनाशीलता र सक्षमतालाई पहिचान गर्दै उनीहरुलाई मुलुक परिवर्तनको अभियानमा हातेमालो गराएमा निश्चय पनि सुनिश्चित, सुरक्षित र समृद्ध नेपाल सम्भव छ । त्यस किसिमका युवा नै आजका सम्पूर्ण किसिमका चुनौतीहरु सामना गर्नसक्ने समाजको बिम्ब वा पात्र बन्न सक्छन् भन्ने कुरा विश्व परिदृश्यले छर्ल· पारेको छ । हामीले स्मरण गर्नैपर्छ ३५ वर्षको उमेरमा पाकिस्तानको प्रधानमन्त्री बनेकी बेनजिर भुट्टो, ४२ वर्षीय अमेरिकी राष्ट्रपति जोन एफ केनडी हुन् वा राजीव गान्धी, टोनी ब्लेयर, विल क्लिन्टन, बाराक ओवामा र वि.पी. कोइराला नै किन नहुन् यी सबै सफल युवा नेतृत्वका बिम्ब हुन् । स्वतन्त्रताको लडाईंमा आफ्नो जीवन अर्पण गरेको पुरानो पुस्ताको अनुभवलाई स्मरण गर्दै २१ औं शताब्दीको सूचना र प्रविधिको क्रान्तिका चुनौतीसंग एकाकार हुँदै दशकौंदेखि थाँती रहेका असमानता, विभेदको अन्त्य र समुन्नत लोकतान्त्रिक नेपाल निर्माण गर्न वर्तमान युवापुस्ता सक्षम छ । युवाभित्र रहेको यो विश्वास, ऊर्जा र क्षमतालाई सही पहिचान गर्न नसक्दा र त्यसप्रति राज्यको दायित्वबोधको अभावका कारण नेपाली युवा आजसम्म परनिर्भर, कुण्ठा र अकर्मण्यतामा जीवन व्यतित गर्न बाध्य भएका छन् । 
अबको परिवर्तित समयमा मुलुकलाई पनि परिवर्तन गर्ने होभने सुस्पष्ट कार्ययोजनासहित युवालाई सुनिश्चित र सुरक्षित भविष्यको प्रत्याभूति दिलाउनु जरुरी छ । युवालाई उद्दण्डता वा विद्रोहको साधन होइन सिर्जना को मुहान र वर्तमानको साझेदारको रुपमा ग्रहण गरिनुपर्दछ । दलहरुको लगानी वाईसीएलजस्ता संगठनहरु निर्माण गर्न होइन युवाको रचनात्मक अभियानमा गरिनु पर्दछ भने राज्यले पनि स्वरोजगारको नाममा कार्यकर्ताको प्रक्षपोषण गर्ने क्रियाकलाप गर्नु हुँदैन । युवालाई अपराध होइन अवसरको बाटोमा हिंडाउनुपर्छ । शिक्षा ग्लानी र वितृष्णा एवं वेरोजगारीका लागि नभएर स्वाभिमान गौरव अनुभूति गर्न सकिने सीपमूलक, वैज्ञानिक र व्यवहारिक, सर्वसुलभ शिक्षा नीतिको निर्माण गरी युवालाई राष्ट्रहितमा लगाउनुपर्छ । शिक्षामा आमूल परिवर्तनसहित रोजगारीको अवसर, उत्पीडन र गरिबीबाट मुक्ति दिलाउँदै दिगो शान्ति र समृद्धिको बाटोमा युवालाई अग्रसर गराउन सक्नुपर्दछ । युवाका तमाम समस्या पहिचान र समाधानका खातिर राष्ट्रिय युवा नीतिको निर्माण गर्ने मात्र होइन त्यसलाई प्रभावकारी किसिमले कार्यान्वयन गर्नु पनि अत्यन्त जरुरी छ । जबसम्म तमाम युवा पुस्ताले परिवर्तनको व्यवहारिक अनुभूति गर्न सक्दैनन् तबसम्म मुलुकको सुनिश्चित र समृद्ध भविष्यको प्रत्याभूति हुन सक्दैन । अनि, हामीले देखेको नवीन नेपालको यात्राले गन्तव्य प्राप्त गर्न पनि सक्दैन । नेपाली युवासंग समृद्ध नेपाल निर्माण गर्ने सपना, खाका र अठोट छ । त्यो अठोट र सपना पूरा गर्ने वातावरण तयार गर्ने हिम्मत राजनैतिक दलहरु र राज्यले राख्नु पर्दछ ।
युवालाई संकटको बेलामा मात्र प्रयोग गर्ने नेपाली राजनीतिक दलहरुको आचरणमा अझै परिवर्तन आउन सकेको छैन । हरेक राजनीतिक परिवर्तन ल्याउन युवा नै अघि बढ्नुपर्ने, युवाले नै रगत बगाउनुपर्ने, फेरि सत्ता प्राप्त भइसकेपछि युवाकै उपेक्षा हुन्छ हाम्रो मुलुकमा । विभेदकारी षड्यन्त्रको प्रत्यक्ष असर यिनै सिर्जनशील युवामाथि पर्नु विडम्बना र दुर्भाग्य हो । यसको विरुद्धमा प्रत्येक युवा सचेत हुन जरुरी छ । युवा जोश, जाँगरलाई दलगत र निजी स्वार्थमा खर्च गर्नु हुँदैन बरु नि:श्वार्थ भावले यो राष्ट्रको अभिभारा बोक्न तम्तयार हुनुपर्दछ । अहिले मुलुकलाई नयाँ संविधान र दिगो शान्ति चाहिएको छ । यसलाई सफल तुल्याउन स्वयं युवाहरु नै फेरि एकपटक जुर्मुराउनु पर्ने अवस्था सिर्जना भइसकेको छ । त्यस पछि मात्र युवाहरुको सपना नयाँ बन्ने लोकतान्त्रिक संविधानमा समेटिने कुरामा आशा राख्ने अवस्था छ । नत्रभने यस्तै अवस्था रह्यो भने अब बन्ने संविधानमा पनि युवाहरुलाई सधैंझैं उपेक्षा हुने निश्चित छ । जबसम्म नयाा बन्ने संविधानमा युवाहरुको मुद्दाहरुलाई प्राथमिकता साथ समेटिदैनन् तबसम्म वास्तविक नयाँ नेपालको सृजना हुने कुरामा हामी विश्वस्त छैनौं । युवाशक्ति पनि अब बिरोध, बन्द र चक्काजाम गर्न मात्र अगाडि सर्ने होइन । गलत कामको प्रतिकार र असल काममा ज्यानको पनि आहुति दिंदै आएको युवावर्गले अब लेखिने संंविधानमा युवाको लागि स्पष्ट नीति, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभुत कुराहरुलाई उल्लेख गर्न र त्यसलाई व्यवहारमा लागू गराउन अग्रसर भएर लाग्नुपर्ने अवस्था आएको छ । 
नेपालको सन्दर्भमा समग्र जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेको युवापुस्ता अहिले पनि आफ्नो भविष्य अन्यौल, अनिश्चित र अन्धकार देखिरहेको छ । तथ्यांअनुसार अहिले दैनिक ६ सय नेपाली युवाहरु रोजगारी र वैदेशिक शिक्षाका लागि विदेश पस्ने गर्दछन् ।  निश्चय पनि युवाका आकांक्षा, अपेक्षा र सपना असिमित हुन सक्छन् र तिनको परिपूर्ति क्षणिक रुपमा असम्भव हुन सक्छ । तर एउटा नागरिकलाई देशभित्र सुनिश्चित र सुरक्षित भविष्यको प्रत्याभुति दिलाउने पहिलो दायित्व राज्यको हो र त्यसको सञ्चालक राजनैतिक दलहरुको हो । 
तर, दुर्भाग्य यो बिन्दुसम्म पनि राजनैतिक दलहरु युवालाई आन्दोलन गर्ने, सडक तताउने, बन्दुक बोक्ने र कसैको निम्ति प्रयोग गर्ने भर्‍याङको रुपमा प्रयोग गरिरहेका छन् । युवालाई परिवर्तन र सिर्जनाको संवाहक एवं वर्तमानका साझेदारको रुपमा स्वीकार गर्न सकिरहेका छैनन् । के युवाको सिर्जनाशक्ति, नवीनतम सोच, सकारात्मक चिन्तन र सम्भावनाहरुलाई सदुपयोग गरेर उनीहरुलाई समुन्नत, शान्त र समृद्ध नेपाल निर्माणको यात्रामा सहयात्री नबनाउँदासम्म हामीले देखेको समृद्ध नेपाल, स्थायी शान्ति र सुनिश्चित भविष्य सम्भव होला ? यसको उत्तर राजनीतिक दलहरुसंग छैन ।  dks.skt@gmail.com

No comments:

Post a Comment