जेसीजद्वारा तीन दलको ध्यानाकर्षण

सुर्खेतपत्र संवाददाता 
‘जेठ १४ मै संविधान बनाऊ’
सुर्खेत, १५ चैत । 
वीरेन्द्रनगर जेसीज तथा सुर्खेत महिला जेसीजले जिल्लाका तीन ठूला दललाई सवैलाई मान्य हुने लोकतान्त्रिक संविधान बनाउन ध्यानाकर्षण गराएका छन् । बुधवार एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमै पुगी जेसीजले जेठ १४ गतेभित्रै लोकतान्त्रिक संविधान बनाउनुपर्नेसहितको ज्ञापनपत्र बुझाएका छन् । 
अहिले मुलुक नेपालीको हित र राष्ट्रिय स्वार्थले भन्दा दलगत तथा व्यक्तिगत स्वार्थले चुर्लुम्म हुदैं गएकोले नेपालीका लागि हुनुपर्ने संविधानको निर्माण प्रक्रियासमेत अवरुद्ध भएकोमा जेसीजले चिन्ता प्रकट गरेको छ । सडकमा देखापर्ने अराजक गतिविधि, डर त्रासबाट सिर्जना हुने कुनैपनि निर्णयमा जेसीजको विश्वास नभएकोले जेठ १४ भित्र सवैलाई मान्य हुने लोकतान्त्रिक संविधान जारी हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । 

नेपाली जनताले आशा र भरोसा गरेको प्रमुख राजनीतिक दलहरुले पटकपटक संविधानसभाको म्याद थप गरिरहेको अवस्थामा सर्वोच्च अदालतले पनि यसपटक अन्तिम भनेकोले अव म्याद सकिन दुई महिनामात्रै बाँकी रहेकोले संविधान बन्ने कि नबन्ने अन्यौलको अवस्था हटाउनपनि माग गरिएको छ । 
समयमै संविधान निर्माणमा जुट्न दलहरुलाई आग्रह गर्दै निश्चिन्त राजनीतिक वातावरणको सिर्जना गर्नपनि ज्ञापनपत्रमार्फत भनिएको छ । राष्ट्र गम्भीर मोडमा पुगेको बेला सहमति, सहकार्य गरी राष्ट्रलाई निकास दिनपनि दलहरुसंग वीरेन्द्रनगर जेसीज बर्ष २०१२ का अध्यक्ष भद्र भण्डारीद्वारा ह्रस्ताक्षरित ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । 
स्थानीय मंगलगढी चोकबाट मोटरसाइकल र्‍यालीसहित पार्टी कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाइएको हो । एमाओवादी कार्यालयमा सहइन्चार्ज कृष्ण जिसी, भीमबहादुर मल्ल र जीतबहादुर रानालाई बुझाइएको थियोभने नेपाली कांग्रेसका सभापति तप्तबहादुर विष्ट र एमालेका उपाध्यक्ष शिवप्रसाद उपाध्यायलाई ज्ञापनपत्र बुझाइएको जेसीज अध्यक्ष भद्र भण्डारीले बताए । 
ज्ञापनपत्र बुझ्दै नेताहरुले तोकिएको समयमै संविधान बन्नेमा आश्वस्त पारेका थिए । उनीहरुले जनताको चाहना नै शान्तिप्रक्रिया निष्कर्षमा पुग्नुपर्ने र नयाँ लोकतान्त्रिक संविधान बन्नुपर्ने भएकोले अव बाँकी रहेको समयमा दलहरुले यसतर्फ आफ्नो कार्यलाई तीव्रता दिने बताएका थिए ।

No comments:

Post a Comment