‘द्वन्द्व व्यवस्थापनमा सहकार्य’

Bookmark and Share 
सीता घर्ती
सुर्खेत, १५ चैत । 
द्वन्द्व र शान्ति एकअर्का प्रति नङ मासुको सम्बन्ध भएकाले यसलाई व्यवस्थापन गर्न सबैवीच सहकार्य हुनुपर्ने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा सञ्चालित शान्ति निर्माण सञ्जाल समिति सुर्खेतले आयोजना गरेको द्वन्द्व र शान्ति विषय बैठकका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा शिक्षा क्याम्पसका प्राध्यापकद्वय हरि थापा र शीला गुरुङले द्वन्द्वको प्राथमिकरणका साथै कुन द्वन्द्वलाई न्यूनीकरण गर्दा शान्ति हुन्छ भन्ने बारेमा जानकारी गराएका थिए । यस्तै राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष बसन्त थापाले द्वन्द्वको स्वरुपका बारेमा सबैलाई प्रष्ट हुन आग्रह गरे ।
आवाज संस्थाका पवित्रा शाहीले द्वन्द्व न्यूनीकरण गरेपछि मात्रै शान्ति स्थापना हुने भन्दै द्वन्द्वलाई घर र गाउँबाट नै निर्मूल पार्नुपर्नेमा जोड दिए । त्यस्तै एकल महिला समूहका अध्यक्ष शितलसिंह राठौरले द्वन्द्व सानो वा ठूलो भएपनि त्यसलाई न्यूनीकरण गर्न जरुरी रहेकाले त्यसका लागि विभिन्न संघसंस्था, राजनीतिक दलहरुको आवश्यकता रहेको बताए ।
यसैगरी नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव गणेश कार्कीले द्वन्द्वलाई न्यूनीकरण नभइ व्यवस्थापन गर्नेतिर लैजानुपर्नेमा सुझाव दिए । कार्यक्रममा राजी साल्म समाजका अध्यक्ष विर्खलाल राजी, नेवा दय दवुका उपाध्यक्ष तीला श्रेष्ठ, खाम्पा समाजका अध्यक्ष कृष्ण खाम्पा, महासंघ सुर्खेतका सहसचिव अशोक राजीलगायत स्थानीय राजनीतिक दलहरुका प्रतिनिधिहरुले आ–आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको उद्देश्य तथा महत्वका बारेमा प्रतिष्ठानका राजन डोनेले प्रष्ट पारेका थिएभने संजाल समितिका संयोजक मोहन गुरुङको अध्यक्षता कार्यक्रम भएको थियो ।  (प्रशिक्षार्थी)

No comments:

Post a Comment