शिविर खाली गर्ने कार्य ७० प्रतिशत सम्पन्न

Bookmark and Share 
काठमाडौं, २८ फागुन ।
    एकीकृत नेकपा (माओवादी)का लडाकु रहेका शिविर खाली गर्ने कार्य अहिलेसम्म सत्तरी प्रतिशत सम्पन्न भएको सेना समायोजन विशेष समिति सचिवालयले जनाएको छ । यही फागुन १७ गते बसेको सेना समायोजन विशेष समितिको बैठकअनुसार सात मुख्य शिविरअन्तर्गत रहेका २१ वटा सहायक शिविरमध्ये १३ वटा सहायक शिविरलाई मुख्य शिविरमा सार्ने निर्णय भएअनुसार सुरु भएको काम चितवनको शक्तिखोर, सुर्खेतको दशरथपुर र कैलालीमा सम्पन्न भएको छ ।

    सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले अहिलेसम्म तेस्रो डिभिजनअन्तर्गतका दुईवटा सहायक शिविरलाई मुख्य शिविर शक्तिखोरमा सार्ने र सुर्खेतको दशरथपुर तथा कैलालीको शिविर खाली गर्ने कार्य पनि सम्पन्न भएको बताए । चितवन, सुर्खेत र कैलालीका सहायक शिविरमा रहेका लडाकुका हतियार व्यवस्थापन गर्ने कार्यअनुरूप हतियारहरू कन्टेनरमा राख्ने कार्य भइसकेको पनि उनले जानकारी दिए ।
    शर्माका अनुसार चितवनको वीरेन्द्रनगरमा रहेको प्रताप स्मृति ब्रिगेडका ३ सय १० जना र चैनपुरमा रहेको वासुस्मृति व्रिगेडमा रहेका ४ सय ५० जना लडाकुलाई मुख्य शिविरमा सारिने, कैलालीमा रहेको सातौं डिभिजनअन्तर्गतको सहजपुरमा रहेको सहायक शिविरलाई तालबन्दमा रहेको मुख्य शिविरमा सारिएको हो ।
    यसैगरी पहिलो डिभिजनअन्तर्गत रहेको इलामको दानाबारी र यांसिलामा रहेको सहायक शिविर, पाँचौं डिभिजनअन्तर्गतको दाङमा रहेको बिजौरी र रोल्पाको टिलामा रहेको सहायक शिविर सारिने भएको हो । शिविरमा रहेका सामान सारेपछि त्यसको सुरक्षाका लागि नेपाली सेना र सशस्त्र प्रहरीलाई जिम्मा दिइने भएको छ । तेह्रवटा सहायक शिविर सारिएपछि अब माओवादी सेनाका लडाकुहरूका सातवटा मुख्य र आठवटा सहायक शिविरमा सीमित रहने छन् ।
    सहायक शिविरहरू सार्ने काम सम्पन्न भएपछि समायोजनको काम सुरु गर्न सचिवालयले तयारी गर्ने पनि संयोजक शर्माले बताए । (रासस) 

No comments:

Post a Comment