सुर्खेत, १४ चैत ।
सुर्खेत उद्योग वाणिज्य संघअन्तर्गतका ब्यापारी र व्यवसायीले संघभित्रको विवादलाई जतिसक्दो छिटो टुग्ंयाउन माग गरेका छन् । रेडियो भेरीले मंगलवार आयोजना गरेको निचोड कार्यक्रममा सहभागी सबैजसो ब्यापारी व्यवसायीले लामो विवादले संगठनलाई नै हानी गर्ने भन्दै विवाद अन्त्यको माग गरेका हुन् । आपसी विवादले संगठन नै धरासायी हुन लागेकोमा चिन्ता प्रकट गर्दै उनीहरुले व्यवसायिक हितभन्दापनि व्यक्तिगत स्वार्थ र राजनीति हावी गर्न खोजिएको आरोप लगाएका छन् ।
अध्यक्ष विष्णुबहादुर शाही र महासचिव पदमबहादुर शाहीको आपसी विवादले सिंगो संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा उनीहरुले जोड दिएका छन् । दुबै पक्षले बारम्बार एकअर्कालाई आरोप लगाउने गरेकोमा सहभागी ब्यापारीहरुले दुबैले आफ्ना गल्ती कमजोरी सच्याएर सहमतिका साथ अघि बढ्न सुझावपनि दिएका छन् ।
उद्योगी ब्यापारीको सुझाव र दबावका बीचपनि निर्वाचन गर्ने विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य संघमा सुरु भएको विवाद झन लम्बिने सम्भावना देखिएको छ । छलफलमा पनि अध्यक्ष विष्णुबहादुर शाही र महासचिव पदमबहादुर शाहीले आफ्नो अडान नछाडेपछि विवाद लम्बिने सम्भावना देखिएको हो । महासचिव शाहीलाई सोधिएको स्पष्टिकरणको जवाफ नआएसम्म विवाद समाधानका अन्य कुनै उपायका बारेमा छलफलसमेत नगर्ने अध्यक्ष शाहीको अडान छ । यस्तै महासचिव शाहीले पनि आफूले विधान र संघको हितविपरित कुनै काम नगरेको जिकिर गर्दै अडानबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।
कार्यक्रममा संघका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य निरक केसीले विधानलाई आफू अनुकूल ब्याख्या गरेर मनपरी गर्नुभन्दा व्यवहारिक सहमति गर्न सुझाव दिए । यस्तै पूर्वअध्यक्ष टेकबहादुर भण्डारीले अध्यक्षको कार्यशैलीकै कारण अहिलेको अवस्था आएको भन्दै त्यसको नैतिक जिम्मेवारीपनि अध्यक्षले नै लिनुपर्न दाबी गरे । कार्यक्रममा संघका कानुनी सल्लाहकारसहितका कानुन व्यवसायीहरुले भने बेलैमा समस्या समाधान नगरिए यो विवादको छिनोफानो अदालतबाटै हुने उल्लेख गरेका छन् ।
No comments:
Post a Comment