जीप दुर्घटनामा ७ जनाको मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सल्यान, १७ चैत । 
सल्यानमा शुक्रवार भएको जीप दुर्घटनामा परी ७ जनाको मृत्यु छ । मृतक सबैको सनाखतपनि भएको छ । दर्शनार्थी लिएर सल्यानको खैराबाङ मन्दिरमा जाँदै गरेको ग १ च २७७० नम्बरको जीप खलंगा–१ छापडाँडाको उकालोमा शुक्रवार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा स्यानीखाल–१ का जीपचालक २७ वर्षीय तोरण कुँवर, खलंगा–२ श्रीनगरकी २७ वर्षीया सम्झना महर, सोही ठाउँकी ७० वर्षीया मंगला खड्गी, खलंगा–२ कै ३० वर्षीया खुमकुमारी खड्गी, सेजवालटाकुरा– २ का सात वर्षीय बालक विशाल बस्नेत, खलंगा–२ की १३ वर्षीया राधिका सेजवाल र जिल्ला सरकारी वकिलको कार्यालय दाङमा कार्यरत सहन्यायाधिवक्ता मातृका भण्डारी रहेका छन् । 

यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका खलंगा–१ श्रीनगरकी निशा गुरुङ, खलंगा–२ की गोमा बस्नेत, सेजवालटाकुरा–७ की रीता खड्काको अवस्था गम्भीर रहेकाले उपचारका लागि नेपालगन्जतर्फ लगिएको छ । घाइतेमध्ये चारजनाको सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी यात्रु बोकेको उक्त जीपमा सहचालकले ओट राख्न खोज्दा नलागेपछि ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपको छतमा बसेर यात्रा गरिरहेकाहरू भने हामफालेर ज्यान जोगाउन सफल भएका थिए । छतमा बसेर यात्रा गरिरहेका खलंगा–२ श्रीनगरका बालकृष्ण खड्गीले हामफालेर गाडीमा ओट लगाउन खोजेको भएपनि सम्भव नभएपछि जीप भीरबाट खसेको बताए । जीपभित्र रहेका उनकी आमा मंगला खड्गी र श्रीमती खुमकुमारी खड्गीको भने मृत्यु भएको छ । 
घटना घटेलगत्तै इलाका प्रहरी कार्यालय श्रीनगर र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । जीप सडकबाट २०० मिटर तल खसेको र मृतक तथा घाइतेहरू भीरमा अड्किएकाले उद्धार गर्न कठिनाइ भएपछि डोरीको सहायताले उद्धार गरिएको थियो । 

No comments:

Post a Comment