४० हजारको औषधि वितरण

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १३ चैत ।
    नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतको आयोजनामा आइतबार दशरथपुरमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दाँत तथा कान सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरमा दशरथपुरका साथै नेटा, लेखफर्सा, रामघाट, कल्याण र माओवादीको छैठौं डिभिजनका लडाकुहरुले समेत सेवा लिएका थिए ।

    प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा भएको शिविरमा स्वास्थ्यकर्मी संघले दाँत र कानका विरामीहरुलाई करिव ४० हजार बरावरको औषधि र ५० जनालाई ब्रस र मञ्जन नि:शुल्क वितरण गरेको थियो । शिविरबाट २ सय २० जना दाँतका विरामी, १ सय ५० कानका विरामीहरुले सेवा पाएका छन् । यी मध्ये ३५ जना लडाकुहरुको उपचार गरिएको थियो । धेरै लडाकुहरुको कान सम्बन्धी समस्या देखिएको थियो ।
    नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पलतका दन्त रोग विशेषज्ञ डा. प्रकाश भडेलले ग्रामीण क्षेत्रका नागरिकहरुलाई सेवा पुर्‍याउन पाउँदा आफूलाई खुशी लागेको बताए । ‘स्वास्थ्यको पहुँच नपुगेका क्षेत्रका नागरिकहरुको सेवा गर्न पाउनु खुशीको कुरा हो,’ उनले भने, ‘यसले कामप्रति नयाँ ऊर्जा थपेको छ ।’
    नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष राजेश बुढाले ग्रामीण क्षेत्रमा अझैपनि स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेकाले आफूहरुले विभिन्न समयमा नि:शुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको बताए । ‘जहाँका नागरिकहरु स्वास्थ्य सेवाबाट बाहिर रहेका छन्, हामीले त्यहीं नि:शुल्क रुपमा स्वास्थ्य सेवा दिइरहेका छौ,’ उनले भने, ‘यो अभियानलाई अरु गाविसहरुमा पनि विस्तार गछौं ।’
    नि:शुल्क स्वास्थ्य शिविरमा निजामति कर्मचारी युनियन सुर्खेतका अध्यक्ष नृपजंग शाही, प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरका व्यवस्थापन समिति अध्यक्ष तोयानाथ शर्मा, इन्चार्ज वीरबहादुर भुसाललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव उदयबहादुर थापाले गरेका थिए ।

No comments:

Post a Comment