डोल्पाको पर्यटकीय गन्तव्य ओझेलमा

Bookmark and Share 
विकास लोहनी
भौगोलिक विकटताले पिछडिएको डोल्पा जिल्लाको आर्थिक समृद्धिका लागि पर्यटनको विकास हुनुपर्नेमा डोल्पावासीले जोड दिएका छन् । जैविक विविधता, प्राकृतिक सौन्दर्य, तालतलैया, गुम्बालगायतका पर्यटकीय गन्तव्यस्थलहरू रहेपनि डोल्पामा बाटोघाटो र हवाई सेवाको नियमितता नहुनु तथा सूचना प्रविधिबाट टाढा रहेर यहाँको पर्यटकीय उत्पादन र सेवाहरूको बजारीकरण हुन नसकेको गुनासो डोल्पावासीमा व्याप्त छ ।

भौगोलिक पूर्वाधार र विकास निर्माणमा राजनीतिक दलबाट पहल कम भएको, सरकारले कर्णाली क्षेत्रलाई विशेष प्राथमिकता नदिएको र पर्यटन व्यवसायीले पर्यटक ल्याउन चासो नदेखाएको धारणा डोल्पावासीले राखेका छन् । यसै सन्दर्भमा दिगो पर्यटन प्रवद्र्धनका लागि बृहत् पदयात्रा अभियानका क्रममा डोल्पा पुग्नुभएका विश्व आरोही कीर्तिमानी आप्पा शेर्पा र उहाँको पदयात्री टोलीसंग डोल्पालाई पनि सगरमाथा क्षेत्रजस्तै पदयात्रा र पर्वतीय पर्यटनको विकासका लागि गन्तव्यस्थल बनाउन पहल गरिदिन डोल्पालीले आग्रह गरेका छन् । 
दिगो पर्वतीय पर्यटन विकासका लागि ताप्लेजुङदेखि दार्चुलासम्मको १७ सय किलोमिटर पदयात्राका क्रममा ११ सय किमी यात्रा पूरा गरी आरोही आप्पा डोल्पा पुग्नुभएको हो । डोल्पामा विश्वकै उच्च स्थानमा रहेको फोक्सुन्डो ताल, हिमालको दृश्यावलोकन, सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, जलयात्रा, त्रिपुरासुन्दरी मन्दिर, से गुम्बालगायतका आकर्षक र रमणीय स्थलहरू भएपनि यहाँ वार्षिक १ हजार ५०० को संख्यामा मात्रै विदेशी पर्यटक आउने गरेका छन् । 

यहाँका गन्तव्यस्थलहरू पनि ओझेलमा परेका देखिन्छन् । उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालीमान बुढाले आगामी भदौ महिनामा डोल्पामा १२ वर्षे पर्यटन तथा सांस्कृतिक मेलाको आयोजना गरिन लागेको बताउँदै त्यस महोत्सवमा अधिकतम पर्यटक भित्र्याउन ओस्कार पुरस्कारका लागि छनोट भएको नेपाली चलचित्र क्याराभानका नायक थिन्ले लेन्डुप लामालाई सद्भावना दूत बनाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रचारप्रसार गरिन लागेको उल्लेख गर्नुभयो । 
आरोही आप्पाले डोल्पामा पदयात्रा पर्यटन प्रवद्र्धन गरी ओझेलमा परेका सम्पदालाई उजागर गर्न सकिने ठूलो सम्भावना रहेको बताउँदै हिमालको सौन्दर्य बचाउन जलवायु परिवर्तनका नकारात्मक असरलाई कम गर्न जनचेतना बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यार्सागुम्बा र अन्य जडीबुटीको संरक्षण र प्रवद्र्धन गरेर पनि डोल्पालीको गरिबी कम हुन सक्छ भन्नुभयो । सभासद् दूधकुमारी हमालले डोल्पाको विकास निर्माणको बजेट समयमै बाँडफाँड हुने नगरेको र स्थानीय विकास अधिकारी जिल्लामा नभएकाले विकास निर्माण कार्य ढिला भइरहेको बताउनुभयो । 
कर्णाली क्षेत्र पर्यटन विकास समितिका सदस्य उर्मिला विकले जिल्लाका पर्यटकीय सम्पदाको प्याकेज पर्यटनका रूपमा प्रवद्र्धन गर्ने प्रयास भइरहेको र यसका लागि सरकार र संघसंस्थाको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । पर्यटन व्यवसायी तथा पदयात्रा टोलीका सदस्य दावा स्टफेन शेर्पाले गतवर्ष आफूले डोल्पामा पर्यटक पठाएको तर उनीहरूले 
उचित सुविधा पाउन नसकेको गुनासो गरेको बताउँदै ‘भौतिक पूर्वाधार निर्माण र नियमित हवाई यातायाताको व्यवस्था गर्नुहोस् म पर्यटक पठाउँछु भन्नुभयो ।’ क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो जिल्ला भएपनि डोल्पामा करिब ३५ हजार जनसंख्या रहेको छ । यहाँको जुफाल विमानस्थलबाट सदरमुकाम पुग्न तीन घन्टाको अप्ठ्यारो पैदल दूरी पार गर्नुपर्दछ । (रासस)

No comments:

Post a Comment