१० बुँदे सुर्खेत घोषणापत्र पारित
सुर्खेत, १८ चैत ।
मध्यपश्चिम क्षेत्रीय मिडिया सम्मेलन १० बुँदे सुर्खेत घोषणापत्र पारित गर्दै शनिवार सकिएको छ । यस क्षेत्रको विद्युतीय तथा छापा संचारमाध्यम, संचारकर्मीहरुले भोग्नुपरेको समस्या, चुनौतीको वारेमा छलफल गर्न सम्मेलनको आयोजना गरिएको थियो ।
सुर्खेत घोषणापत्रमा आगामी जेठ १४ गतेभित्रै शान्तिप्रक्रिया पूरा गरी पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने, पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक उपलव्ध गराउनुपर्ने र यदि नगराउने संचार गृहहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग उल्लेख गरिएको छ ।
यस्तै पत्रकार आचारसंहिता प्रभावकारीरुपमा पालना गराउन पत्रकार महासंघ र प्रेस काउन्सिलले ठोस पहल गर्नुपर्ने, सरकारी विज्ञापनमा समानुपातिक वितरण हुनुपर्ने र विद्युतीय संचार माध्यमलाई समेत वर्गीकरणको आधारमा उचित सेवा सुविधा उपलव्ध गराउनुपर्ने, संचारमाध्यम नियमित भए नभएको अनुगमन गर्न स्थानीयस्तरमा अनुगमन संयन्त्र बनाउनुपर्ने, दुर्गम तथा पिछडिएका पत्रकारहरु का लागि विशेष सुविधा उपलव्ध गराउनुपर्ने र संचारमाध्यममा विकेन्द्रीकरणको सिद्धान्त लागू गर्नुपर्ने बुँदा सो घोषणापत्रमा राखिएको छ ।
महिला, दलित, जनजाति, मुश्लिम लगायत सीमान्तकृत समुदायका पत्रकारहरु को पेशागत निरन्तरताका लागि विशेष सुविधा उपलव्ध गराउनुपर्ने र सुर्खेतसहित मध्यपश्चिम क्षेत्रका पर्यटकीय स्थलहरुको विकासको प्रचारप्रसार गराउन संचार क्षेत्रलाई विशेष अवसर दिनुपर्ने बुँदा सुर्खेत घोषणापत्रमा उल्लेख छ ।
त्यसअघि सम्मेलनको उद्घाटन सत्रका सहभागीहरुले पत्रकारहरुको पेशागत मर्यादा, भौतिक अवस्थाका वारेमा बोलेका थिए । प्रेस काउन्सिलका अध्यक्ष नारायणप्रसाद शर्माले काठमाडौं केन्द्रीत मिडियाले भेदभावको सिर्जना गरिरहेकोले प्रेस काउन्सिल विकेन्द्रीकरणको योजनामा लागेको जनाएका थिए । उनले स्थानीय संचारमाध्यमको विकास हुन नसकेसम्म मुलुकको सर्वांगीण विकास हुन नसक्ने बताए । नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले पत्रकारहरुको भौतिक सुरक्षा, ज्ञान सीप अभिबृद्धिका लागि महासंघ सधैं चिन्तित रहेको जनाए । महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम संयोजक सूर्यमणि गौतमको सभापतित्वमा भएको सम्मेलनमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्य, सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, काउन्सिलका सदस्य मनऋषि धिताललगायतले भनाइ राखेका थिए ।
No comments:
Post a Comment