यही चैत्र ३ गते शुक्रबारदेखि प्रदर्शनमा आइरहेको चपलीहाइट सिनेमाले अचेल मिडियामा खुवै ठाउँ ओगटिरहेको छ । काठमाडौंका हलहरूमा यो फिल्म हेर्न दर्शकहरूको घुईंचो लागिरहेको अवस्था छ । यसलाई मिडियाले पनि खुवै केन्द्रित गरेको छ । र वसन्त ऋतुको मौसममा समयले पनि त्यस फिल्मका नायिका विनिता बरालको क्रेज वढाइरहेको छ । आखिर के हो चपलीहाइट, कस्तो छ र त्यसले दिन खोजेको सन्देश के हो ? यस वारेमा संक्षिप्तमा चर्चा गरौं ।
चपलीहाइट फिल्मको नाम ठाउँ विशेषवाट लिइएको हो । यसमा प्रमुख रूपमा ३ पात्र छन् । विनी, अमिर र राज । फिल्मको कथा राज र अमिरको फोन संवादवाट सुरु हुन्छ र अन्त्य पनि दुवैजनाको मृत्युसंग । विनी र अमिर गाडीमा काठमाडौंतिर आउँदा वाटोमा दुवै जनाले आफ्ना आमा र बाबालाई फोनमा ढाँट्छन् जुन अचेल युवा पुस्तामा प्राय: देखिन्छ ।
यसरी आउँदा विनी फ्रयांक देखिन्छे र चटपटेवालालाई पनि राम्रोसंग बस्नुस् है चिठी पठाउँदै गर्छु भन्ने वाक्यांश भन्छे । वाटामा केरा विक्री गर्न राखेको ठाउँमा केटाहरूले केरा खाने भनेर जिस्काउँछन् अनि जिस्काउने केटा समूह मध्ये एउटाको दुर्घटना हुँदा केरा खान्छस् भनेर विनी जिस्काउन पछि पर्दिन र त्यो जिस्काइमा उनलाई आनन्द आउँछ । राजको घरमा आएपछि ऊ अमिरसंग रोमान्स गर्छे तर वर्तमान समय र यस फिल्मका दृश्यहरूलाई सापेक्षमा तुलना गरिहेर्ने होभने त्यस्तो खास केही छैन ।
हो, कुनैपनि चलचित्र समाजको निम्ति पथ प्रदर्शक हुनुपर्छ । त्यस किसिमको विशेषता यस फिल्ममा छैन । प्राय: फिल्म एउटै घरको सेरोफेरोमा मात्र सीमित छ । कथा नै नभइ अंगालो पारी चुम्वन गर्ने र अंगालो मार्ने मामलामा मात्र वढी केन्द्रित छ । त्यसको अर्थ यो एडल्टहरूको लागि मात्र भन्ने पनि होइन । यहाँ प्रयोग भएका शव्दहरू मा...मु...जस्ता शव्दहरूले युवा पिंढीलाई त्यही शव्दहरू दैनिक व्यवहारमा प्रयोग गर्न उक्साउने पनि देखिन्छ । सेन्सर वोर्डले यी शव्दहरूलाई किन हटाएन कौतुहलताको विषय छ ।
अर्कोतिर राजको घरमा गएपछि अत्याधिक फ्रयांक भएर बस्दाबस्दैको कोठामा अंगालोमा अमिर र विनी बाँधिनु, राजले वाथरुममा विनीको भित्री लुगा सुँघ्नु, कोठामा ३ जना डान्स गरी विनी र अमिर सुत्न आफ्नो कोठामा जाँदा त्यसलाई राजले चियाएर हेर्नु र लोभिनु, राजलाई सुरुमा आफूहरुको डान्स पार्टीमा सक्रिय पार्न विनीले अनुनय विनय गर्नु र लभ कसरी गर्ने भन्नेमा एउटा काल्पनिक कथाको नाममा राजसंग अभिनय गर्न तयार हुनु र त्यसमा अमिर रिसाई त्यसलाई निहँु बनाई केही समय विनीवाट अलग हुनु र राजले विनीलाई फकाउने र माया गर्ने नाममा अचानक विनीलाई चुम्वन गर्न पुग्नु लगायतका कुराहरूले दैनिक जिवनमा घट्ने घटना शास्त्रमा आधारित बाहेक फिल्म केही होइन ।
जो प्राय शहरीया र पढेलेखेकी केटीबाट आफ्नो व्याइफ्रेन्डसंग भेट हुँदा घट्ने घटना नै हो । तर दुवै जनाले विनीलाई प्रयोग गरी महाभारतकालीन समयको द्रौपदीको रूपमा हामी तिमीलाई पत्नी बनाउँछौ र माया गर्छाै भन्ने जुन सन्देश छ त्यसले साच्चै भन्ने होभने प्रेमको नाममा केटीहरूको अस्मितामाथि यौन दुव्यवहार हुने भने निश्चित छ । फिल्मको अन्त्यमा जसरी विनीबाट दुवै जनालाई मारी कथा अन्त्य गरिएको छ । त्यसले भने महिलाहरू कमजोर हुँदैनन् । यदि उनीहरूले विनिले झैं आफ्नो वाऊले भनेको कुरालाइ सम्झी आत्मविश्वास बढाई आफ्नो जीवन मरणको दोसाँधमा पनि साहसिक काम गरेभने लक्ष्य भेदनमा सफल हुने देखाएको छ । त्यो प्रशंसनीय नै छ । समाजको निम्ति सुपाच्य नहुने एकजना महिलाले दुईजना पुरुषसंग विवाह गर्ने कुरामा विनीवाट कम्प्रोमाइज नगरेको स्थिति पनि सह््रानीय नै छ । यसरी फिल्म प्रेमी र प्रेमिकाबीच घट्ने घटनाशास्त्रको एउटा अशं बाहेकक केहीपनि छैन तर विज्ञापन, प्रचारप्रसारमा यसबारे धेरै कुरा आए । सुरुमा त यसको पोष्टरमाथि नानाथरिका कुरा गरियो ।
नायिका निर्माता र निर्देशकका भनाइहरू लगातार आइरहे । सेन्सरवोर्डको एडल्ट सर्टिफिकेटले झनै समाजमा अर्काे कौतुहलता ल्यायो तर वालवालिकाहरू फिल्म हेर्न गैरहेका र त्यस फिल्ममा प्रयुक्त भएका शव्दहरू प्रति सम्वन्धित निकायले अझैसम्म ध्यान दिएको देखिंदैन । जताततै विनितालाई वोल्ड नायिका भनि अनावश्यक रूपमा प्रचारप्रसारमा ल्याइयो । एउटा साप्ताहिक पत्रिकाले त एक दिनमा चपलीहाइटले १ करोड कमायो भनेर लेख्यो । पत्रपत्रिकाहरूले नेपालकै इतिहासमा थोरै दिनमा धेरै कमाई गर्ने चलचित्र भन्दै लेखे । विनिताको लगातार अन्तर्वार्ता छापिनु र अन्तर्वातामा थरिथरिको भनाई र फिल्मकर्मीवाटै नयाँ पुस्तामा विनिता अग्रस्थानमा भन्ने लगायतका अभिव्यक्ति समाचारले यस समाजलाई झन कौतुहल्ता जन्मायो । मिडिया आज समाजको निम्ति वाचडग हो तर चपलीहाइट सम्वन्धी समाचारमा उसको दृष्टिकोण सापेक्ष र संतुलित देखिएन । एकपटक फिल्म हेरिसकेपछि मान्छेहरुले समाचार प्रकाशित प्रसारित गर्ने मिडियाहरू प्रति आफ्नो धारणा कस्तो बनाउलान् र आगामी दिनमा समाजमा त्यस किसिमका संचारमाध्यमको शाख समाजमा कस्तो रहला बेलैमा होस गर्नुपर्ने बेला भएको छ ।
समय अहिले साच्चै भन्ने होभने हरेक कुराको प्रोपोगान्डाको जालोमा बेरिएको मानौं समय नै प्रोपोगाण्ड हो र प्रोपागाण्ड नै समय हो । कुनैपनि सिनेमा चल्दैमा त्यो हिट, सुपरहिट होइन । चल्नत चल्छन् नै सिनेमा । तर चल्दा प्रयोग गरिने रणनीति र कार्यनीति उचित वा अनुचित के हो त्यो हेरिनुपर्छ । जनतालाई क्षणिक समयको लागि भ्रममा राखेर कति दिनसम्म सफल भइन्छ र ? जे होस् सारमा भन्ने होभने चपलि हाइट फिल्म नहेरी नहुने फिल्म भने होइन । यसले कुनै किसिमको नयाँ सन्देश पनि दिएको छैन । कथा भने समय अनुसार चुम्वन र अंगालोको प्रेमे र वहुपति विवाहको निम्ति काल्पनिक प्रयास र शव्दको उच्चारण मात्र । अरु बाँकी कुरा त प्रेमी र प्रेमिका वीच घट्ने एउटा घटनाशास्त्रको अशं मात्र । (अनलाइनबाट)

No comments:
Post a Comment