नेटवर्क मार्केटिङ व्यवसायबाट केहि बर्ष यतादेखि नेपाली उपभोक्ता लगातार ठगिदै आएका छन् । सुरुमा गोल्ड क्वेष्टले नेपाल अधिराज्यका धेरै मानिसबाट ठगेर भाग्यो । त्यसपछि युनिटी नेटवर्किङ मार्केटबाट धेरै नेपाली ठगिए, नेपाल सरकारले युनिटीका संचालक विरुद्ध कनुनी कारवाही अगाडि पढायो, युनिटीको कारोवार बन्द भयो तर ठगिएका उपभोक्ताहरु अझसम्म क्षतिपुर्ति पाउन सकेका छैनन् । यसवीचमा नानाथरीका नेटवर्क मार्केटिङले नेपाली उपभोक्तालाई लोभमा पारेर, झुक्याएर खुबै ठगे । केही समय अगाडि हर्वो इण्टरनेशन प्रा.लि. वानेश्वर काठमाडौंले उपभोक्तालाई ठगी गरेको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेपछि अवैध नेटवर्क मार्केटिङ व्यवसायमा लागेका सबैको आँखा खुलेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिविआइ) ले अवैध नेटवर्क मार्केटिङ गर्दै आएको हर्वो इण्टरनेशनलको केन्द्रीय कार्यालयमा छापा मारेपछि संचालकहरु सबै भूमिगत भएका छन् । जब हर्वो इण्टरनेशनको ‘युनिटी’ कै हालत हुने निश्चित छ । हर्वो इण्टरनेशनलको उत्तरोत्तर प्रगतिको कामना नेपालका राजनीतिक दलका शिर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, सुशील कोइराला, माधवकुमार नेपाललगायत उच्च पदस्थ सरकारी कर्मचारी छन् । हर्वो इण्टरनेशनले आफ्ना आकर्षक प्रचार सामाग्री पत्येक उपभोक्तालाई वितरण गरी आकर्षित पार्दै आएको छ । हर्वो इण्डरनेशनलले आफ्ना एजेण्टमार्फत देशव्यापी सदस्य बनाउने अभियान नै चलाएको थियो ।
हल गोरु बेचेर हर्वो कम्पनीको सदस्य भएको समाचार प्रकाशित भइसकेको छ । हर्वोका एजेण्टहरु गाउँघर, शहरबजार सबैतिर परिचालित छन् । हर्वोका पेड भोलिपन्टिएरहरुले उपभोक्ता जम्मा पारेर रातारात लखपति हुने, निरन्तर कमाइ भइरहने लोभ दिएर उपभोक्तालाई प्रशिक्षण दिएर आकर्षित पारेर सदस्य बनाइ रकम असुल्दै आइरहेका छन् । अहिले हर्वोका एजेण्टहरुले दिएको मिठो आश्वासन उपभोक्ता, ग्राहकका लागि पासो सावित भएको छ । लोभले लाभ, लाभले विलापको स्थितिमा हर्वो कम्पनीका सदस्य पुगेका छन्भने हर्वो कम्पनीका संचालकहरुको ‘दिनको भोक र रातको निन्द्रा’ भइरहेको छ । अवैध नेटवर्क मार्केटिङ व्यवसायमा संलग्न जो कोहीको यही हालत हुनेछ । ठगीबाट बच्नु उपभोक्ताको काम हो । ठगी हुनबाट बचाउनु सरकार र स्थानीय प्रशासनको दायित्व हो । ठग र दोषी विरुद्ध कडाभन्दा कडा कारवाहीका लागि पीडितहरुको संगठित आवाज निस्कनु पर्दछ तवमात्र सधैंका लागि नेटवर्क मार्केटिङ नेपाली भूमिमा निर्मूल हुन्छ । नेटवर्क मार्केटिङ अबैध व्यवसाय हो, यो ठगी व्यवसाय हो, सफेद व्यक्तिहरुबाट गरिने कालो व्यापार हो । व्यावसायिक नैतिकता गुम्दै गएको राष्ट्रिय अनुशासन कमजोर हुँदै गएको, दण्डहिनताको परिस्थिति, आम उपभोक्तामा अज्ञानताको अवस्था विद्यमान रहेको नेपाल जस्तो देशमा सफेद पोसकका काला व्यापारीले मनग्गे ठग्न सफल भएका छन् । नेटवर्क मार्केटिङका संचालकहरु आधुनिक माफिमा हुन उनीहरु संगठित र संरक्षित छन् । नेपाली उपभोक्ता र जनता असंगठित छन् । नेटवर्क मार्केटिङका पीडितहरु सबै संगठित भइ ठगिएको रमक फिर्ता गराउन दवाव दिने बेला आएको छ ।
हर्वो इन्टरनेशनल प्रा.लि. बानेश्वर, काठमाडौंले आफ्नो परिकल्पना ‘मावन स्वास्थ्य सन्दर्भ, उच्च जीवनशैली, आर्थिक समृद्धिका लगि प्राकृतिक स्रोत, साधन रसीपको समुचित प्रयोगबाट जडिबुटीजन्य बस्तुहरुको व्यवसायिक उत्पादन तथा प्रवद्र्धन गर्नु, गराउनु उल्लेख थियो । समृद्ध नेपालको परिकल्पना लक्ष्यमा ‘प्रकृतिक जडिवुटीहरुलाई मानव स्वास्थ्य र सौन्दर्य विश्वव्यापीकरणका लागि २१ औं शताब्दीको मेरुदण्ड नेटवर्क मार्केटिङ पद्धतिद्वारा विक्रीवितरण गरी समाजका हरेक समुदायमा अर्थिक प्रतिफल पुर्याउँदै स्वस्थ्य, समृद्ध, समुन्नत नेपाल निर्माणमा सहभागी गर्नु गराउनु’ अधिकांश माओवादी पार्टी समर्थक र क्रिश्चियन धर्मका अनुयायी हर्वो नेटवर्क मार्केटिङको सिकार भएको जानकारी हुन आएको छ । हर्वो कम्पनीले कतिपय स्थानका कृषकहरुलाई तुलसी खेती गर्न लगाएर उनीहरुले उत्पादन गरेको तुलसी उचित मूल्यमा खरिद नगरेको कुरापनि सार्वजनिक भएको छ । हर्वो कम्पनीले जडिबुटी उत्पादनका नाममा ७० प्रकारभन्दा बढी बहुमूल्य जडिबुटी संकलन गरी अप्रशोधित जडिबुटी भारत लगायत विदेशमा चोरी निकासी गरी विदेशी मुद्रा कमाउँदै आएको चर्चा पनि छ । हर्वो नेटवर्क मार्केटिङ कानुन सम्मत भएको भए सरकारले छापा, मार्दैन थियो, संचालकहरुको भागाभाग हुँदैन थियो । ‘कालो खानेले कालो हग्छ’ भने झैं कालो धनको आर्जन गर्न सक्रिय हर्वोका संचालक र प्रमुख एजेण्ट (दलाल) लाई कारवाही विना छाड्नु हुँदैन । यी राष्ट्रिय अपराधि, नेपाली जनताका साझा शत्रु हुन् । दिन दहाडै कालो एैन लागेको पजेरोमा चढेर घुम्ने, टाइसुटमा सजिएर हिंड्ने, बुद्धिले ठग्ने, औंलामा गन्न सकिने नव धनाढ्य सफेद पोस माफियाहरुको कालो धन्दाको पर्दाफास गर्ने कान्तिपुर दैनिकलाई धन्यवाद दिनैपर्छ ।
सरकारले ‘युनिटी’ माथि कारवाही चलाउँदा कान्तिपुरमा छापिएको समाचार खण्डन गरेर पत्रकारिताको धर्म विपरित कार्यगर्ने, विज्ञापनका नाममा देश र जनतालाई सर्वाधिक अहित गर्ने भ्रामक र गलत विज्ञापन छापेर जनता र देशलाई ठग्नेलाई संरक्षण गर्ने पत्रिकाका धनीहरु माफियाभन्दा खतरा हुन् । उनीहरुको पनि निन्दा र भत्र्सना नगरी रहन सकिदैन । अबका दिनहरुमा पनि हर्वोका भनाइहरु विज्ञापनका रुपमा केही पत्रिकाहरुमा छापिएलान । हर्वाेको भनाइ र सन्देशलाई स्थान दिने समाचार पत्रपत्रिका, टेलिभिजन, रेडियो जस्ता संचारमाध्यमलाई चेतनशील पाठकहरुले बहिस्कार गर्नु पर्दछ । प्रेस आचार संहितालाई नाघेर पित पत्रकारिता, पैसामुखी पत्रकारिता गर्ने पत्रकारिता क्षेत्रका माफियाहरुबाट पनि उपभोक्ताहरु सतर्क रहनुुपर्दछ ।
प्रहरीले हर्वोको कार्यालयमा सिलवन्दी गरी आवश्यक कागजात, कम्प्यूटर हार्डडिक्स बरामद गरेको छ । प्रहरीले हर्वोलाई कानुनी कारवाहीको दायरामा ल्याउन छापामारी मारेको हो । हर्वोका अध्यक्ष गोकुल श्रेष्ठ, उपाध्यक्ष पुष्पराज पुरुष, निर्देशक नेत्रपाणी बास्तोला, बसन्त पण्डित, पुण्यप्रसाद सुवेदीलगायत फरार छन् । प्रहरीले उनीहरुको खोजतलास गरी रहेको छ । नेपालको प्रमुख शहर काठमाडौं उपत्यका, पोखरा, नेपालगन्ज, वीरगन्ज, विराटनगर, विर्तामोड आदिबाट हर्वो नेटवर्क मार्केटिङको बढी सदस्य बनेका पाइएको छ । हर्वो आफ्नो नेटवर्क मार्केटिङ नेपालको ४० जिल्ला र विभिन्न राष्ट्रमा पुर्याएको थियो । स्वदेश र विदेश गरी हर्वोका करिब ५ लाख सदस्य छन् । प्रत्येक सदस्यसंग घटिमा ८ हजार बढीमा ३३ हजारसम्म सदस्यता शुल्क लिइ आफ्ना उत्पादन साबुन, टुथपेष्ट, ग्रीन टी लगायत उपलब्ध गराएको थियो । हर्वोका उत्पादनहरु अति मंहगा छन् तैपनि हर्वो प्रतिको उपभोक्तको आकर्षण ह्वात्तै बढेको थियो । हर्वो इन्टरनेशनलले प्रकाशित गरेको प्रचार सामाग्री बुकलेटमा विभिन्न व्यक्तिहरुको अनुभव र अनुभूति छापिएको छ । सर्वसाधारणदेखि ठूलावडासम्मलाई झनझन् धनी छिट्टै धनी बन्ने प्रलोभन एजेन्टमार्फत दिलाई रकम संकलन आश्चर्य लाग्दो ढंगले गर्दै आएको थियो । उपभोक्ता हित संरक्षण मंचले गृहमन्त्रालयमा, उपभोक्ता अधिकार अनुसन्धन मंचले वाणिज्य विभागमा उजुर दिएपछि, कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेपछि सम्बन्धित निकायले हर्वोमाथि कडा निगरानी र कारवाही सुरु गरेको छ ।
सर्वोच्च अदालतको फैसलापछि नेपालमा नेटवर्क मार्केटिङ व्यवसाय अवैध भएको छ । मार्केटिङ व्यवसायको नाममा लगातार जनता ठगीदै आएकोमा अब उप्रान्त ठगीने काम बन्द हुनेछ भन्ने विश्वास लिन सकिन्छ । मार्केटिङ व्यवसाय जस्तै उपहार योजना पनि ठगी धन्दा हो । पत्रपत्रिकामा ठूला र आकर्षक विज्ञापन दिएर उपहारका नाममा उपभोक्ता ठगीने धन्दा बन्द गरिनु पर्दछ । पत्रपत्रिका लगायत सबै संचार माध्यमले उपहार योजनाको विज्ञापन नछाप्ने प्रचारप्रशार नगर्दा घोषणा सहित प्रतिबद्धता जाहेर गर्नुपर्दछ । नेटवर्क मार्केटिङका नाममा उपभोक्ता ठग्नेहरुलाई बीना कारवाही छाडिनु हुँदैन । पीडिहरुको रकम नेटवर्क मार्केटिङमा संलग्न कम्पनीहरुबाट असुलउपर हुनुपर्दछ । खाली हात सुरु गरेका मार्केटिङ व्यवसायीहरुलाई खाली हातकै अवस्थामा पुर्याउनु पर्दछ । नेटवर्क मार्केटिङ व्यवसायी खवरदार † उपभोक्ता सावधान † नेटवर्क मार्केटिङ व्यावसाय अवैध हो ।
No comments:
Post a Comment