के बालुवाटार छिरेपछि मानिस अन्धो हुन्छ ?

Bookmark and Share 
राधा बुढा
    नारायणहिटी दरबारभित्र गणतन्त्र स्मारक निर्माण गर्ने निर्णय सरकारले गरेको छ र त्यसको सिलान्यास समेत प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्नुभएको खबर सार्वजनिक भए । स्मारक निर्माणको लागत चानचुने नभएर ४६ करोड छुट्याइएको छ । नाराणहिटीभित्र निर्माण गरिने त्यो गणतन्त्र स्मारकले नेपाली जनतालाई के देला ? यो प्रश्न मैले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सोध्न मन लागिरहेको छ । डा. बाबुराम भट्टराई अरुका निम्ति विद्वान हुन्भन्ने हल्लाको कुरा होला, मेरा लागि भने अनुभवको कुरा पनि हो ।

    एउटै राजनीतिक मिसनका साथ डा. बाबुराम भट्टराईसित काम गरेको सम्झना गर्दा यति छिट्टै राजनीतिक विचलन डा. भट्टराईमा कसरी आयो भनेर खुल्दुली लागेर आउँछ । २०४५/०४६ सालतिर डा. बाबुरामसंग राजनीतिक सहकार्य गर्दा उनका विचारहरू निकै जनपक्षीय र देशभक्तिपूर्ण हुन्थे, माक्र्सवाद लेनिनवादको अध्ययन र विश्लेषणमा मोहनविक्रम सिंहलाई पनि उछिन्न सक्लान् कि बाबुरामले भनेर चर्चापनि हुने गर्दथ्यो । भर्खरै पढाई सकेर स्वदेश फर्किएको व्यक्तिले देशको कम्युनिष्ट आन्दोलनको अगुवाइ गर्नसक्ने कल्पना मेरा समकालीनहरूले गथ्र्यौं र चर्चापनि हुने गर्दथे । आज उनै बाबुराम भट्टराई देशका प्रधानमन्त्री भएका छन् र उनकै नेतृत्वको सरकारले नारायणहिटीमा ४६ करोडको गणतन्त्र स्मारक निर्माणका निम्ति खर्च गर्ने तयारी गरेको छ । डा. बाबुराम भट्टराईको राजनीतिक व्यक्तित्व वर्गीय राजनीतिक चिन्तनले माथि उठेको हो भन्ने कुरा सबैलाई थाहा छ ।
    तर ४६ करोड खर्च गरेर निर्माण गर्ने भनिएको गणतन्त्र स्मारक वरिपरि भीआईपी र साधारण भनेर वर्गीकरण गरी पार्कहरू निर्माण गर्ने योजना बनाइएको छ । डा. बाबुराम भट्टराईमा विकसित भएको राजनीतिक विचलनको यो ज्वलन्त नमूनाका रूपमा धेरैले चर्चा गरिरहेका छन् भन्ने जानकारी सम्भवत: डा. भट्टराईले बालुवाटारबाट पाउनु भएको छैन होला । बालुवाटार पसेपछि मानिस आन्धा हुने रहेछन् भन्ने विश्वास बाबुरामजीका गतिविधिवाट गर्न सकिने भएको छ । हैन भने बाबुराम भट्टराईले नारायणहिटीमा निर्माण गर्न थालेको गणतन्त्र स्मारकले नेपाली जनताको गरिबीलाई न्यूनीकरण गर्न कत्तिको सहयोग पुर्‍याउला भनेर किन लेखाजोखा गर्न आवश्यक ठान्नु भएन ?
    नेपाली जनतालाई भार थोपरेर र सुकुम्बासी जनतालाई बेघरबार बनाएर चर्चा पाइरहनुभएका कम्युनिष्ट नेता भट्टराईले नारायणहिटीमा भीआईपी पार्क निर्माणमा ४६ करोड खर्च गर्ने तयारी किन गरिरहनुभएको छ ? मैले बाबुरामजीसंग निकट भएर राजनीति गर्दा नेपालका प्रधानमन्त्री मरिचमान सिंह थिए । मरिचमानले गर्ने महँगी वृद्धि र बाबुरामले गर्ने महँगी वृद्धिमा भिन्नता के छ ? यो प्रश्न मैले बाबुराम भट्टराईका राजनीतिक कार्यकर्ताहरूलाई सोध्न मन लागेको छ । मरिचमानहरूले लाखौं रुपैयाँ लगानी गरेर पञ्चायतको रजतस्तम्भ निर्माण गर्नु र बाबुरामले गणतन्त्र स्मारकका नाममा आधा अर्ब खर्च गर्न तत्परता देखाउनुमा के भिन्नता ? मरिचमानहरूले सुकुम्बासीको उठिबास गराउँदा बोल्ने विरोधका स्वरहरू बाबुरामले सुकुम्बासीहरूको विचल्ली बनाइरहँदा पनि किन मौनता देखाइरहेका छन् ? कोशी, गण्डकी रमहाकाली नदीहरूमा कांग्रेस र एमालेका नेताहरूले राष्ट्रघात गरेको आरोप लगाउने बाबुरामजीहरू आफ्नै हातबाट ती राष्ट्रघातमा किन दस्तखत गरिरहनु भएको छ ? के भिन्नता रह्यो, मातृका, वीपी, गिरिजा, माधव, केपी र बाबुरामको राष्ट्रियतामा ।

No comments:

Post a Comment