नयाँ–नयाँ समस्या एवं चुनौतीका कारण विश्वका पत्रकारहरू दिनप्रतिदिन असुरक्षित हुँदै गएपछि युनेस्कोले विश्व प्रेस स्वतन्त्रता दिवस २०११ को नारा ‘२१ औं शताब्दीको मिडिया, नयाँ आयाम नयाँ चुनौती’ तय गरेको थियो । हरेक वर्ष मे ३ मा मनाइने यो दिवसको गत वर्षको नाराले दिन खोजेको सन्देश हो ‘विश्वका पत्रकारहरूले झेल्नुपरेका समस्याहरू सबै क्षेत्र वा देशमा एकैखाले छैनन् । उनीहरूले विभिन्न देशमा नयाँ–नयाँ चुनौतीहरूको सामना गर्नुपरिरहेको छ ।
किनभने पत्रकारितामा पनि नयाँ आयामहरू थपिंदैछन् ।’ यस्तो नयाँ चुनौतीको सामना नेपाली सञ्चारकर्मीले पनि गरिरहेका छन् । जसका कारण नेपाली सञ्चारकर्मी पनि बर्षेनी मारिनुपर्ने अवस्थाको सिर्जना भइरहेको छ । यो चुनौतीको पछिल्लो सिकार गत चैत २१ मा झापाका पत्रकार यादव पौडेल बनेका छन् । सो नाराले भनेजस्तै यतिखेरका नेपाली सञ्चारकर्मी को चुनौती अरू देशको तुलनामा निकै फरक छ । नेपालमा आफूविरुद्धको आलोचना सहन गर्न नसक्ने खतरनाक प्रवृत्ति विकास भइरहेको छ । यो प्रवृत्ति राजनीतिक दलका नेताहरूदेखि व्यवसायी एवं समाजका अन्य क्षेत्रमा पनि विकास भइरहेको छ । पछिल्लो समयका नेपाली सञ्चारकर्मी यो विकृतिको सिकार बनेका छन् ।
नेपालमा लोकतान्त्रिक संविधान–२०६३ जारी भएपछि नै यादवसहित आठजना पत्रकारको ज्यान गइसकेको छ । प्रकाश ठकुरी, जेपी जोशी, उमा सिंह, वीरेन्द्र साह, जमिम साह, अरूण सिंहानियाँ र देवीप्रसाद धितालको हत्या भइसकेको छ । यो हत्याको शृंखलाको पछिल्लो शिकार भएका छन् झापाका पत्रकार यादव पौडेल । समाचार लेखेकै आधारमा पत्रकारको हत्या हुनुलाई सबैभन्दा खतरनाक अवस्थाका रूपमा लिनुपर्छ भन्छन् नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल । उनी भन्छन्, ‘प्रेसले सबैलाई खुसी पार्ने गरी लेख्न सक्दैन र त्यो सम्भव पनि छैन । विरोधमा समाचार लेख्ने वित्तिकै हत्या हुने त्रासबाट नेपाली सञ्चारकर्मीले कहिल्यै स्वतन्त्रताको अनुभूति गर्न सक्दैनन् ।’
महासंघका अध्यक्ष शिव गाउँले नेपाली सञ्चारकर्मीको हत्याको शृंखला दण्डहीनताका कारण बढेको धारणा राख्छन् । ‘एकपछि अर्को गरी सञ्चारकर्मीको हत्या भइरहेको छतर यसअघिका हत्याराहरूलाई कानुनी कारबाही नगर्दा उत्पन्न भएको दण्डहीनताका कारण हत्याको वातावरण झनै बढाएको छ’ अध्यक्ष गाउँले भन्छन् । पत्रकार हत्या र आक्रमणका घटना नेपालमा बढ्दोरूपमा देखिएका छन् । यसको अधिकांंश कारण समाचार लेखेकै कारण देखिएको छ । यसरी पत्रकारको हत्या र आक्रमणमा संलग्नहरू अहिले पनि या त राजनीतिक दलका ओहदामा छन् या छत्रछायाँमा । पत्रकार कुटिएपछि वा मारिएपछि सरकारले नै ती अपराधीलाई कानुन बमोजिम कारबाही गर्नुको सट्टा न्यायका लागि सञ्चारकर्मीहरू मन्त्री, प्रधानमन्त्रीको ढोका चाहर्नुपर्ने दु:खद् परिस्थिति अहिले पनि कायमै छ । आफ्नो अध्ययन भ्रमणका क्रममा गतवर्ष नेपाल आएका अमेरिकाको एरिजोना विश्वविद्यालयका मिडिया ल (सञ्चार कानुन) का प्राध्यापक जोसेफ रुसोमानोले यति बलियो संवैधानिक एवं कानुनी प्रेस स्वतन्त्रता पाएका नेपाली सञ्चारकर्मीहरू पनि व्यावसायिक असुरक्षामा पर्नुको कारण प्रजातान्त्रिक संस्कारको कमी भएको टिप्पणी गरेका थिए ।
उनका अनुसार संविधानको प्रस्तावनामा नै र मौलिक हकअन्तर्गत प्रेस स्वतन्त्रताको जुन व्यवस्था नेपालको अन्तरिम संविधानले गरेको छ त्यस्तो दरिलो कानुनी सुनिश्चितता विश्वका अरू देशका संविधानले सायदै गरेका होलान् । तर यस्तो पृष्ठभूमिका नेपाली सञ्चारकर्मी भने सधैं त्रासको वातावरणमा नै जीउनुपर्ने बाध्यता जीवितै छ । योभन्दा ठूलो विडम्बना अरू केही हुनसक्दैन । दसवर्षे सशस्त्र द्वन्द्वका समयमा माओवादी र राज्यपक्षबाट गरी नेपालका १८ जना पत्राकारले ज्यान गुमाउनुपर्यो । त्यसपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका समयमा पनि नेपाललाई विश्वका अधिकारकर्मीहरूले पत्रकारहरूको विश्वकै सबैभन्दा ठूलो जेलका रूपमा नामकरण गरे । तर देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि भने प्रेस जगतले सुरक्षित र संरक्षित वातावरण पाउला भन्ने आशा पनि साकार हुन सकिरहेको छैन । पत्रकारहरू विश्वमा जतासुकै मारिने क्रम जारी नै छ । सन् २०११ मा मात्र विश्वमा करिब १ सय ३ जना पत्रकार मारिए । गतवर्ष पाकिस्तानमा मात्र सातजना पत्रकार मारिए । अरब क्रान्तिका क्रममा १५ पत्रकारको ज्यान गयो भने सोमालियाका पत्रकार प्राय: त्यहाँका विद्रोहीको सिकार बन्ने गरेका छन् । त्यसैगरी होन्डुरसमा दुई वर्षयता मात्र १८ जना पत्रकार मारिएका एएफपी समाचार समितिले जनाएको छ । त्यस्तै मेक्सिकोमा पनि बर्सेनि पत्रकार मारिन्छन् । यसरी युनेस्कोले तय गरेको गत वर्षको विश्व प्रेस स्वतन्त्रताको नाराजस्तै विश्वका विभिन्न देशमा फरक फरक समस्या र चुनौतीहरूको सामना गर्ने क्रममा पत्रकारको ज्यान जाने गरेको छ ।
नेपाली सञ्चारकर्मीहरू उनीहरूमाथिको हत्या र आमक्रमणका अपराधीहरूलाई कडा कारबाहीका लागि एकजुट हुनु आवश्यक छ । सञ्चारकर्मीका आफ्ना राजनीतिक आस्था र विचारधारा जे जस्तो भएपनि पेसागत हक, अधिकार, सुरक्षा र प्रेस स्वतन्त्रताको सवालमा सबैजना एकै मोर्चामा गोलबन्द हुनु आजको आवश्यकता हो । यसो हुन नसकी सञ्चारकर्मीहरू नै विभिन्न कित्तामा विभाजित भइरहने हो र अहिलेकै दण्डहीनताको अवस्था कायम रहिरहने हो भने प्राणहरणमा पर्ने सञ्चारकर्मीहरूको नामावली लामो हुँदै जानेछ । यसले स्वतन्त्र प्रेस र पत्रकारिताको सुरक्षाजस्ता विषयलाई कागजमा मात्र सीमित तुल्याइदिने छ । त्यसैले पत्रकार किन मारिन्छन् भन्ने प्रश्नको जवाफ अब उनीहरू आफौ जागरुक भएर खोज्नु आवश्यक छ । (रासस)

No comments:
Post a Comment