नेपालगन्ज, ९ वैशाख ।
नक्कली लाइसेन्स बनाउने गिरोहसहित प्रहरीले नेपालगन्जका दुई होटलबाट ९१ जनालाई पक्राउ गरेको छ । नक्कली लाइसेन्स र यातायात कार्यालयको ढड्डासहित उनीहरुलाई नेपालगञ्ज बसपार्कमा रहेको क्यापिटल होटल एण्ड लज र जलजला होटलबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरु सबै चितवन, नवलपरासी र बुटवल क्षेत्रका छन् । बाँके प्रहरी प्रमुख विक्रम थापाका अनुसार नवलपरासीको नवलपुर ड्राइभिङ सेन्टर, चितवनको हाम्रो ड्राइभिङ इन्स्टिच्यूट र बुटवलको एसके ड्राइभिङ सेन्टरलगायतले नक्कली लाइसेन्सको कारोबार गर्दै आएको बताए ।
समातिएकाहरु तिनै गिरोहमार्फत लाइसेन्स बनाउन यहाँ पुगेका थिए । क्यापिटलबाट ५५ जना र जलजलाबाट ३६ जना पक्राउ परेका हुन् । लिखित परीक्षामा सहभागी हुन उनीहरु शुक्रवार राती बसबाट नेपालगञ्ज आएका हुन् । सरकारी कर्मचारीलाई पैसा खुवाएर लाइसेन्स बनाउन गिरोह सक्रिय रहेको प्रहरीको दावी छ । थापाले गिरोहको जरा उखेलेरमात्र छाड्ने बताए । यसमा सरकारी कर्मचारीको मिलेमतो रहेको उनको भनाइ छ । सरकारी कार्यालयमा मात्र हुनुपर्ने ढड्डा गिरोहको कब्जामा रहेकोले त्यसको पुष्ठिसमेत भएको छ ।
No comments:
Post a Comment