राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न, आयोजक र कलाकारहरु सन्तुष्ट

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 

सुर्खेत, १० बैशाख ।
    शुक्रवारदेखि यहाँ संचालन भइरहेको तेस्रो राष्ट्रिय चलचित्र महोत्सवको आइतवार समापन गरिएको छ । समापन कार्यक्रममा उपस्थिति आयोजक एवं कलाकारहरुले काठमाडौं बाहिर पहिलो पटक गरिएको महोत्सव पूर्णरुपमा सफल भएको दावी गर्दै सन्तुष्टि व्यक्त गरेका छन् ।
    बरिष्ठ कलाकार नीर शाहले काठमाडौं बाहिरपनि महोत्सव भव्य र शानदार भएको टिप्पणी गरे । उनले सुर्खेत जिल्लाको हावापानी र माटो कलाकार उर्वर गर्ने खालको भएको बताउँदै काठमाडौंपछि सुर्खेतलाई नै उपयुक्त थलोको रुपमा विकास गर्न सकिने जनाए । बर्षमा तीन सय करोडको लगानी हुने र ३० लाखलाई रोजगारी दिएको चलचित्र उद्योगलाई अझ विकास गर्न आवश्यक रहेको बताउँदै उनले भने, ‘महोत्सवले नयाँ आयाम थपेको छ, कलाकारहरुलाई हौसला दिएको छ ।’

    यसैगरी बोर्डका सल्लाहकार शैलेश आचार्यले आफूहरुले गर्न नसकेको काम बोर्डको वर्तमान समितिले गरेकोमा सह्राना गर्दै काठमाडौं बाहिरपनि कलाको प्रवद्र्धन गर्न जरुरी रहेको बताए । नेपाली चलचित्रका प्रथम नायिका भुवन चन्द, बरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले महोत्सवले कलाकार र दर्शकवीचको दुरी घटाउन सफल भएको धारणा राख्दै काठमाडौं बाहिर पनि महोत्सव सफल भएको प्रमाणित भएको बताए ।
    कलाकारहरु जीवन लुईंटेल, सुमिना घिमिरे, चेतन सापकोटा, रामा मण्डल, नीलहरि काफ्ले, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाहीले पनि महोत्सव सफल भएकोमा सन्तुष्टि जनाएका थिए ।
    महोत्सवका  निर्देशक गोविन्द कोइराला ले महोत्सवले सुर्खेतलाई पहिचान गराएको, चलचित्र सुटिङ स्थलका रुपमा राम्रो छाप छोड्न सफल भएको बताए । उनले महोत्सवमा सहभागी कलाकारहरुलाई सुर्खेतको वारेमा प्रचार गरिदिनपनि आग्रह गरे ।
    महोत्सव मूल आयोजक समितिका संयोजक एवं चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले महोत्सव सवैको सहयोगबाट पूर्णरुपमा सफल भएको दावी गरे । उनले यस क्षेत्रको कला संस्कृतिको विकासमा पनि महोत्सवले महत्वपूर्ण छाप छोडेको विश्वास गरे । यद्यपि यसअघि महोत्सवमा आउने भनिएका केही कलाकारहरु आएनन् । राजेश हमाल, आर्यन सिग्देल, नम्रता श्रेष्ठ, राजेश पायल राई, अन्जु पन्तलगायतका कलकारहरु आउने भनी प्रचार गरिएपनि महोत्सव अवधिभर उनीहरु आएनन् । ती कलाकारहरुलाई हेर्न व्यग्र प्रतीक्षारत दर्शकहरु निराश बनेका थिए ।
मा

No comments:

Post a Comment