सुर्खेत, ९ बैशाख ।
शुक्रवारदेखि सुर्खेत कलाकारमय बनेको छ । तेस्रो राष्ट्रिय चलचित्र महोत्सव सुरु भएपछि सुर्खेत कलाकारमय बनेको हो । महोत्सव उद्घाटनसंगै सुर्खेतीहरु कलाकारहरुको पछिपछि नै लागेका छन्भने कलाकारहरुलाई पनि आफ्ना फ्यानसंगै फोटो खिचाउनमै भ्याइनभ्याई छ ।
सधैं हलको पर्दा वा काँचको पर्दामा देखिने कलाकारहरुलाई आफ्नै अगाडि देख्न पाउँदा सुर्खेतका सर्वसाधारणहरु उत्साहित बनेका छन् । उनीहरु बैशाखको प्रचण्ड गर्मीलाई समेत बेवास्ता गरी आफ्ना मनपर्ने कलाकारहरुसंगै रमाइरहेका छन् ।
महोत्सवका लागि पुराना कलाकार नीर शाह, बसुन्धरा भुसाल, भुवन चन्द, मदनकृष्ण श्रेष्ठदेखि भुवन केसी, करिश्मा मानन्धर, रेखा थापासहित नयाँ कलाकाहरु सुमिना घिमिरे, कल्पना शाही, यशराज अहिले सुर्खेतमा छन् । उनीहरु आफ्ना फ्यानहरुलाई फोटो खिचाउन र अटोग्राफ दिनमै व्यस्त रहेका छन् । महोत्सवका क्रममा रेखा थापा, भुवन केसी, जीवन लुईंटेललगायतले नाचेर सुर्खेतीहरुलाई प्रफुल्लित बनाएका थिएभने शनिवार सुर्खेतका हलहरुमा दर्शकहरुसंगै बसेर चलचित्र हेरेका थिए ।
महोत्सव उद्घाटनका क्रममा मूलआयोजक समितिका संयोजक एवं चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले नेपाली चलचित्रको बजार काठमाडौंमात्र नभएको बताउँदै मुलुकका विभिन्न स्थानहरुको पनि प्रवद्र्धन गर्नुपर्ने भएकोले पहिलो पटक सुर्खेतमा महोत्सवको आयोजना गरिएको बताएका थिए ।
सो अवसरमा मोफसलमा बसेर पनि कला संस्कृतिमा अमूल्य योगदान गरेको भन्दै कलाकारहरु प्रेमदेव गिरी, गंगा केसी, कूलमान नेपाली, दानसिंह विकलाई सम्मान गरिएको थियो । आज आइतवारसम्म हुने महोत्सवले सुर्खेतको कला संस्कृतिका साथै पर्यटनको विकासमा टेवा पुग्ने बताइएको छ । शनिवार नमूना चलचित्रको रुपमा छनौट गरिएका ६ वटा चलचित्रमध्ये फूल र ठेगाना प्रदर्शन गरिएको छ । किसान, मसान, सायद र बुह्रान आज आइतवार प्रदर्शन गरिने छ । यस्तै आज नै कलाकारहरुलाई सुर्खेतका पर्यटकीय स्थलहरु कांक्रेविहार, देउती बज्यै, बुलबुले ताल र गढीको अवलोकन भ्रमण गराइ चलचित्रको छायांकन स्थलको रुपमा चिनाउने प्रयत्न गरिने छ ।
No comments:
Post a Comment