५५ औं राष्ट्रिय सहकारी दिवस

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
‘आर्थिक उन्नतिको आधार सहकारी’
सुर्खेत, २० चैत ।
सुर्खेतका सहकारी संघसंस्था एवं सहकारीकर्मीहरुले सोमवार ५५ औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् । जिल्ला सहकारी संघको आयोजनामा उनीहरुले दिवस मनाएका हुन् । उनीहरुले आर्थिक उन्नतिको आधार नै सहकारी भएको बताएका छन् । अहिले घरदेखि समुदायको सानो कुराको समस्या पर्दा सहकारीले नै समाधान गरेको बताउँदै उनीहरुले सहकारी नै उन्नतिको आधार भएको जिकिर गरे । सहकारी मुलुकको आर्थिक मेरुदण्ड भएपनि बेवास्ता गर्न खोजिएको आरोपपनि सहभागीहरुले लगाए । 
राष्ट्रिय सहकारी बैंक लि.का संचालक हरिहरनाथ योगीले सहकारीको संख्या दिनदिनै बढेकोले अव सहकारीमा गुणस्तरीयता ल्याउनुपर्ने सुझाव दिए । उनले नेपालमा २३ हजार सहकारी संस्थाहरु स्थापना भएको र ३० लाखभन्दा बढी जनशक्ति सहकारीमा आवद्ध भएको जानकारी दिदैं अव गुणस्तर कायम राख्नुपर्ने चुनौती आइलागेको उल्लेख गरे । पछिल्लो समयमा सहकारीमा केही विकृतिहरु देखापरेकोले त्यस्ता विकृतिलाई पन्छाएर सहकारीहरु अगाडि बढ्नुपर्ने उनले बताए ।
डिभिजन सहकारी प्रमुख आनन्द सारुले सहकारीले गरिवी र बेरोजगारी हटाएको जिकिर गरे । नेपालका सहकारीहरु गरिवी हटाउन, बेरोजगारी हटाउन सक्रिय रहेकोले अहिले टोलटोलमा सहकारीको विकास भइ रहेको जनाए । 
वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार बस्नेतले सहकारी अहिले नेपालको आर्थिक मेरुदण्ड भएको बताए । सहकारीहरुले गाउँघरका समस्याहरु समाधान गरेको, रोजगारी सिर्जना गरेकोले सहकारीको भूमिकाको प्रशंसा गरे । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पदम दाहालले आर्थिक मेरदण्ड मानिएको सहकारीलाई बेवास्ता गर्न खोजिएकोमा चिन्ता व्यक्त गरे । 
जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, योजना अनुगमन तथा प्रशासकीय अधिकृत ध्रुव आचार्यले जिल्लाको आर्थिक विकासमा सहकारीको योगदानको चर्चा गरेका थिए । जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतबहादुर विसीको सभापतित्वमा भएको कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाहीलगायतले आ–आफ्नो धारणा राखेका थिए । 
सहकारी दिवसकै अवसरमा पारेर डिभिजन सहकारी कार्यालयले मेहेलकुनाको पवित्र जनकल्याण सहकारी संस्था लि.लाई जिल्लाकै सर्वोत्कृष्ट सहकारी संस्था घोषणा गरेको छ । यस्तै वीरेन्द्रनगर नगरपालिका–३ को जनहितकारी बचत तथा ऋण सहकारी संस्था, वीरेन्द्रनगर–६ को सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था, वीरेन्द्रनगर–१० को परिवर्तनशील महिला कृषि सहकारी संस्था र छिन्चुको गणेशपुर दुग्ध सहकारी संस्थालाई उत्कृष्ट घोषणा गरिएको छ । 
यसैगरी उत्कृष्ट व्यवस्थापकमा प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका युवराज बस्नेत, बुलबुले सहकारी संस्थाका शोभा तिवारीलाई घोषणा गरिएको छभने डिभिजन कार्यालयका डिभिजन निरीक्षक गणेशबहादुर खड्का, भोजराज चपाईं र ओमप्रसाद चपाईलाई उत्कृष्ट कर्मचारी घोषित गरिएको छ । यसैगरी हाम्रो अखबार दैनिकमा कार्यरत संचारकर्मी लक्ष्मी भण्डारीलाई पनि सोही अवसरमा सम्मान गरिएको छ । 
यस्तै राष्ट्रिय सहकारी बैंकले पनि सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था र उज्ज्वल बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट घोषणा गरी सम्मान गरेको छ । यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघले कृष्णबहादुर खड्कालगायतलाई सम्मान गरेको छ । कार्यक्रम अघि सहकारीहरुले र्‍याली प्रदर्शन गरेका थिए ।

No comments:

Post a Comment