सुर्खेत, २० चैत ।
राष्ट्रिय जनमोर्चाले सोमवार भेरी, कर्णाली, नारायणीलगायत ५ अंचल बन्द गरेर संघीयताको विरोध गरेको छ । सोमवार विहानैदेखि यातायात, कलकारखाना, शिक्षणसंस्थाहरु पूर्णरुपमा ठप्प रहे । राष्ट्रिय जनमोर्चालगायत सम्वद्ध जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु चोकचोकमा छरिएका थिए ।
अपरान्ह ५ बजे स्थानीय नेताचोकमा कोणसभा गरी बन्द खुलेको थियो । कोणसभामा बोल्ने वक्ताहरुले संघीयताको चर्को विरोध गरेका थिए । उनीहरुले ठूला दलहरुले संघीयता चोर बाटोबाट भित्र्याएको आरोप लगाउँदै अहिले उनीहरुले नै संघीयताको नाममा मुलुकलाई खण्डखण्ड बनाएर टुक्र्याउन लागेको बताए । संघीयता नेपाली जनताले चाहेकै छैनन् भन्दै उनीहरुले संघीयता आए मुलुक सिक्किम, नाइजेरिया र युगोस्लोभिया हुने टिप्पणी गरे ।
कोणसभामा राष्ट्रिय जनमोर्चा भेरी–कर्णाली सचिवालय सदस्य बालकृष्ण सुनार, सुर्खेत जिल्ला कार्यसमितिका कार्यवाहक अध्यक्ष धनप्रसाद देवकोटा, संघीयता विरोधी संजालका केन्द्रीय सदस्य मदन जोशी, विष्णु थिङलगायतले संघीयताको विरोध गर्दै छिटो संविधान बनाउनुपर्ने र स्थानीय निकायको निर्वाचन हुनुपर्ने माग राखेका थिएभने वन्द सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यसैवीच नेपालगन्जबाट प्राप्त समाचार अनुसार कोहलपुर प्रहरीले बल प्रयोग गरी १४ जना बन्दकर्तालाई पक्राउ गरेको छ । राष्ट्रिय जनमोर्चाका १४ कार्यक्रर्तालाई प्रहरीले कोहलपुरको चौराहाबाट पक्राउ गरेको हो । कोहलपुर प्रहरीले राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तुलसीराम सापकोटा, राजमो जिल्ला समिति बाँकेका उपाध्यक्ष गुणनिधि आर्चाय, महिला संघ केन्द्रीय सदस्य बालकुमारी आर्चाय, सदस्य पावर्ती कार्की, मजदुर संघका केशव सापकोटालगायतलाई नियन्त्रणमा लिएको छ । बन्द खुलाउने क्रममा प्रहरी र बन्दकर्ताबीच झडप भएको थियो ।
No comments:
Post a Comment