जाजरकोट, ११ बैशाख ।
देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला जाजरकोट खगेनकोट–१ का ११ बर्षीय बलबहादुर बादी खोलामा माछा मार्न ब्यस्त छन् । उनी विद्यालय नै नगएका भने होइनन्, ३ बर्षअघि नजिकैको विद्यालयमा भर्ना भएका बलबहादुर विद्यालयमा टिक्न सकेनन्, दिनहुँ कक्षा छाड्दै जाँदा अन्त्यमा उनले पढाइ समेत छाड्न पुगे ।
देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला जाजरकोट खगेनकोट–१ का ११ बर्षीय बलबहादुर बादी खोलामा माछा मार्न ब्यस्त छन् । उनी विद्यालय नै नगएका भने होइनन्, ३ बर्षअघि नजिकैको विद्यालयमा भर्ना भएका बलबहादुर विद्यालयमा टिक्न सकेनन्, दिनहुँ कक्षा छाड्दै जाँदा अन्त्यमा उनले पढाइ समेत छाड्न पुगे ।
८ बर्षीया सपना बादी गतबर्ष १ कक्षामा भर्ना भइन् तर विद्यालय नै गइनन् । पढाइको साटो घरको काम गर्न र भाई बहिनीको हेरचाह गर्नु उनको दैनिकी बन्न थालेको छ । बलबहादुर र सपना त उदाहरण मात्र हुन् । उनीहरु जस्ता ३ दर्जन बढी बादी बालबालिका शिक्षा लिनबाट बञ्चित भएका छन् । खगेनकोटको कालिमाटी स्थित नलसिंह खोलाको किनारमा बसोबास गर्ने १७ घर बादी परिवारका अधिकांश बालबालिका शिक्षाको पहुँच बाहिरै छन् । अशिक्षा र गरिबीले पिल्सिएका बादी समुदाय दिनहुँ माछा मारेर त्यसैबाट गुजारा चलाउने गरेका छन् ।
‘पढेर के हुन्छ ? हामी जस्ता गरीबले पनि पढाउन सक्छौं र ? बाबु बाजेले गरेको पेशा ब्यवसाय गरेर पेट पाल्ने सिवाय अरु हामीले के गर्न सक्छौं र ?’ ३५ बर्षीय डिले बादीले भने ‘साँझ विहान हात मुख जोर्न त धौ–धौ छ कसरी पढाउने ?’
त्यस्तै हिरामणि बादीका ४ जना छोराछोरी छन् उनीहरुलाई पढाउनका लागि विद्यालय पठाए तर उनीहरु पढ्नै मान्दैनन् ‘के गरुँ सर’ उनले भने ‘पढ्ने बातावरण नै छैन के गरौं ।’ बादी समुदायमा पढेको कोहीपनि छैन । जसको प्रभाव बालबालिकामा समेत पर्न थालेको छ । सबैका लागि शिक्षा, अनिवार्य शिक्षा, शिक्षामा समानता जस्ता शिक्षा क्षेत्रका नारा यी बादी बालबालिकाले गिज्याइरहेका छन् नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले भने ‘यी नारा काठमाडौंका पाँचतारे होटलमा लागू भैरहेका छन् ।’
सरकारले सबै बालबालिकालाई शिक्षा दिने लक्ष्यका साथ भर्ना अभियान संचालन गरिरहेको छ । यद्यपि, यो अभियानले बादी बालबालिकालाई भने छुन सकेको छैन । बादी बालबालिकाको लागि छात्रवृत्तिको ब्यवस्था समेत गरिएको छ तर पनि उनीहरु पढ्नै मान्दैनन् यो एकदमै चुनौतीको बिषय हो’, जिल्ला शिक्षा अधिकारी गीरमान थापाले भने ‘जबसम्म अभिभावकमा आफ्ना केटाकेटीलाई पढाउनु पर्छ भन्ने चेतनाको विकास हुँदैन तबसम्म जति सुविधा दिए पनि केही हुँदैन ।’ जिल्लामा विद्यालय उमेरका करीव १५ प्रतिशत बालबालिका शिक्षाको पहुँच बाहिरै छन् ।
No comments:
Post a Comment