कुकुरले मान्छेलाई टोकेको कुरा त सुनिएकै हो । तर अब कुकुरको पहिचान केबल टोक्नेमा मात्र सीमित रहेन । रुसमा भएको पछिल्लो घटना हेर्दा लाग्छ अब कुकुरले प्रतिरक्षाका लागि आफ्ना दाँतलाई हतियारको रुपमा प्रयोग गर्न मात्र होइन बन्दुक समेत चलाउन सक्छ । रुसको सारातोभ क्षेत्रमा एक कुकुरले गोली चलाएर एक मान्छेको हत्या गरेको घटनाले सबैलाई तीनछक पारेको छ । हुनत उक्त कुकुरले आफ्नो बुद्धिले वा मान्छेलाई आक्रमण गर्ने उद्देश्यले गोली चलाएको भने होइन । बन्दुकको ट्रिगरलाई संयोगबस कुकुरको खुट्टाले तान्न पुगेपछि गोली चल्दा मान्छे ठहरै भएको हो ।
समाचार अनुसार इगोर सोलोमिन आफ्नो कुकुर साथमा लिएर सारातोभको जंगल क्षेत्रमा गाडीमा घुम्न गएका थिए । जंगल क्षेत्रमा वन्यजन्तुको डर हुने भएकाले उनको साथमा बन्दुकपनि थियो । ड्राइभरले गाडी चलाइरहेको थियो र अघिल्लो सिटमा सोलोमिन र उनको कुकुरपनि थियो । जिस्किंदै गरेको कुकुरको खुट्टा एक्कासी सोलोमिनले बोकेको बन्दुकको ट्रिगरमा पुग्यो र ट्रिगर दबियो । ट्रिगर दबिएपछि बन्दुकबाट गोली निस्क्यो जुन सिधै गएर ड्राइभरको टाउकोमा लाग्यो । गोली लागेपछि ड्राइभर ठाउँका ठाउँ ठहरै भयो । प्रहरीले गोली हान्ने कुकुरका मालिक सोलोमिनलाई पक्रिएको छ । उनले हत्याको आरोपमा १५ महिनाको जेल सजाया पनि पाएका छन् । (एजेन्सीबाट)

No comments:
Post a Comment