संघीयता ठूला दलहरुलाई ‘निल्नु न ओकल्नु’ : के.सी.

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ बैशाख ।
    राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवं सभासद चित्रबहादुर केसीले ठूला दलहरुका लागि संघीयता ‘निल्नु न ओकल्नु’ भएको बताएका छन् । नयाँ संविधान जारी हुन नसक्नुमा संघीयता पनि मुख्य कारण भएकोले ठूला दलहरुका लागि संघीयता घाँटीमा अड्केको हाडजस्तै भएको जिकिर उनले गरे ।

    राष्ट्रिय जनमोर्चा सुर्खेतको दोस्रो जिल्ला सम्मेलनको शुक्रवार उद्घाटन गर्दै नेता केसीले नेपालमा संघीयता कुनैपनि हालतमा उपयुक्त नभएको अडान दोहोर्‍याए । अहिलेसम्म संविधान बन्न नसक्नुको दुई वटा कारण प्रस्तुत गर्दै उनले पहिलो कारण शान्तिप्रक्रिया नटुंगिनु र दोस्रो कारण राज्य पुनर्संरचना भएको जनाए । बल्लतल्ल शान्ति प्रक्रिया टुंगिएपनि राज्य पुनर्संरचनामा संघीयताले नै अड्काएको जिकिर नेता केसीले गरे । उनले ठूला दलहरुले संघीयताका वारेमा नेपाली जनतालाई खसीको कुरा गरेर फर्सी खुवाएको संज्ञा दिए ।
    ठूला दलहरुलाई संघीयता फलामको च्युरा सावित भइरहेको बताउँदै उनले भने, ‘संविधान जारी गर्न संघीयताले नै रोकेको छ ।’ जतिवटा राज्य बनाएपनि नेपालले आर्थिक, सामाजिक दृष्टिले संघीयता धान्नै नसक्ने ठोकुवा उनले गरे । एउटा आयल निगमलाई पैसा दिन नसक्ने सरकारले कसरी एक दर्जन राज्य चलाउनसक्छ भन्ने प्रश्न गर्दै नेता केसीले भने, ‘त्यसैले नेपालमा संघीयता सम्भवै छैन ।’ उनले संघीयता खारेज नगरे संघीयताले नै मुलुक खारेज बनाइदिने चेतावनी दिए ।
    माओवादीका प्रचण्ड र बाबुरामले अडान लिएको भए उहिल्यै शान्तिप्रक्रिया टुंगिने र संविधानपनि बन्ने भएकोले लडाकुहरुलाई अगाडि तेस्र्याएर उनीहरुले नै ढिलो गरिरहेको आरोप अध्यक्ष केसीले लगाए । उनले भने, ‘लडाकुहरुलाई अगाडि राखेर माओवादीले कांग्रेस र एमालेसंग बार्गेनिङ गर्‍यो ।’
    जेठ १४ गतेभित्रै नयाँ संविधान जारी गर्नुपर्ने अडान पार्टीले राखेको छ । यदि संघीयताले अवरोध गर्‍योभने त्यसलाई स्थगित गरेर अन्य विवाद समाधान गरेरै भएपनि जेठ १४ गतेभित्र नेपाली जनतालाई संविधान दिनैपर्ने जिकिर उनले गरे । संविधान जारी गर्नका लागि जेठ १४ गतेसम्म राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरेको बताउँदै उनले जसरी भएपनि संविधान बनाउनैपर्ने बाध्यता रहेको जनाए ।
    राष्ट्रिय जनमोर्चाले स्थानीय निकायको निर्वाचनका लागि पनि दवाव दिइरहेको जानकारी नेता केसीले दिए । विगत १४ बर्षदेखि स्थानीय निकाय खाली छ । तराईमा ८० प्रतिशतसम्म र पहाडमा ३० प्रतिशतसम्म स्थानीय निकायको बजेटमा भ्रष्टाचार भइरहेको उनले बताए । राजनीतिक दल र कर्मचारीको मिलिमतो मा भ्रष्टाचार बढेकोले तत्काल स्थानीय निकायको चुनाव हुनुपर्ने उनले जनाए । यस्तै अर्को एक प्रसंगमा उनले राष्ट्रिय सरकार गठनको आवश्यकता भन्दा पनि संविधान र शान्तिप्रक्रिया नै पहिलो प्राथमिकता भएको जनाए ।
    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव जनकराज शर्माले संघीयता नै खारेज गर्नुपर्ने पार्टीको अडान रहेको बताएभने केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले ठूला दलहरु संविधान बनाउनभन्दा पनि सरकार गठन विघटनमै लागिरहेको आरोपल लगाए । उद्घाटन कार्यक्रम राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष बालकृष्ण सुनारको सभापतित्वमा भएको हो ।

No comments:

Post a Comment