दुई/चार चलचित्रको कमाल, अरुको बेहाल

Bookmark and Share 

‘बल हैन पासा बुद्धि लगा बुद्धि’–चलचित्र ‘लुट’को यो संवाद दर्शकको मुखमा झुन्डियो । उक्त चलचित्रका प्राय: चरित्र रातारात सेलिब्रेटी भए । उमेरले तीन दशक पनि नकटेका निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रको प्रस्तुतीकरणमा फरक ‘ट्रेण्ड’ ल्याउन सकिने संकेत देखाए । ३० लाखपनि खर्च नभएको चलचित्र ‘लुट’ले प्रदर्शन भएको ८० दिनमा ३ करोड १५ लाख कलेक्सन गर्‍यो । ओभरसिजबाट पनि ६१ लाख कमायो ।  अहिले पनि देश–विदेशमा प्रदर्शन भैरहेकाले वर्ष २०६८ को अन्त्यसम्ममा उक्त चलचित्रले झन्डै ५ करोड कलेक्सन गर्नसक्यो । ‘चपली हाइट’लाई पोस्टर काण्डले चलाइदियो । अर्धनग्न पोष्टरको विवादले चलचित्र चाहिं कस्तो बनेछ ? भन्ने खुल्दुली दर्शकमा उब्जियो ।  परिणामस्वरुप सार्वजनिक हुने बित्तिकै दर्शक चलचित्र हेर्नहलसम्म यसरी ओइरिए कि यसले १९ दिनमा २ करोड ३४ लाख रुपैयाँ कलेक्सन गरेको रेकर्ड बनायो । एकातिर दुई चलचित्रले कलेक्सनको रेकर्ड बनाए पनि अन्य चलचित्रले लगानीसम्म पनि उठाउन नसकेको रेकर्ड पनि यही वर्ष बन्यो ।

चलचित्र बनाउन र चलाउन बल होइन, बुद्धि लगाउनुपर्छ भन्ने उदाहरण बनेका यी दुई चलचित्रबाहेक चलचित्र ‘अन्दाज’ ले निर्माताहरुको लगानी डुब्न दिएन र उनीहरुलाई केही राहत दियो । सार्वजनिक प्रदर्शनभन्दा च्यारिटी सोहरु गरेर ‘दशगजा’, ‘मसान’ र ‘पल’का निर्माताले आफ्नो लगानी सुरक्षित गरे । त्यसबाहेकका प्राय: चलचित्रका निर्माताले आफ्नो चलचित्रले अत्यधिक व्यापार गरेको भनेर ढाँटिरहे । संख्यात्मक हिसाबले ‘दशगजा’देखि ‘रावण’सम्म वर्ष २०६८ मा प्रदर्शन भएका चलचित्रको मूल्यांकन गर्ने होभने यो वर्ष हालसम्मकै सर्वाधिक अर्थात ८६ वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमा अघिल्ला वर्ष उपत्यकाबाहिर चलेर यो वर्ष काठमाडौंमा चलेका एक दर्जन  जति चलचित्र पनि छन् । जसरी भएपनि संख्यात्मक हिसाबले यो वर्ष सबैभन्दा बढी चलचित्र प्रदर्शन भए । तर व्यापार ? वर्ष २०६८ मा निर्माण भएर प्रदर्शन भएका चलचित्रको व्यवसाय खोतल्ने होभने ‘टप टेन’ पुर्‍याउन पनि गाह्रो हुन्छ । किनभने जम्मा ७ वटा चलचित्रले मात्र सन्तोषजनक व्यापार गर्न सफल भएको तथ्य अगाडि आएको देखिन्छ । तीमध्ये पनि दुईवटा चलचित्रले अत्यधिक व्यापार गरेभने बाँकी  चलचित्रले लगानी गरिएको भन्दा केही लाख बढी मात्र कमाए । बाँकी चार चलचित्र औसत रहे । वर्षको मध्यताका प्रदर्शन भएको चलचित्र ‘अन्दाज’ ले लगानी उठाएर निर्मातालाई केही मुनाफासमेत दियो । त्यसको केही महिनापछि प्रदर्शन भएको चलचित्र ‘लुट’ ले लगानीको ५ दो ब्बर आम्दानी गर्‍यो । वर्षको अन्त्यमा प्रदर्शन भएको चलचित्र ‘चपली हाइट’ ले लगानीको ५ दोब्बरभन्दा बढी आम्दानी गर्‍यो । ‘श्रीमान्’, ‘आचार्य’ तथा ‘मसान’ ले औसत व्यापार गरे । बाँकी ७९ वटा चलचित्र के भए त ? प्रश्न सजिलो छ, तर जवाफ अत्यन्त पीडादायी ती चलचित्रले निर्माताको लगानीसमेत उठाउन सकेनन् ।

1 comment:

  1. In these days 30-40 lakh rupees is not a difficult task due to the high price of land. So to become hero, heroine, even a producer there many more films are produced day by day.Most of so called artist do not have even basic knowledge of movie art. So most of the film deserve to be flop.

    ReplyDelete