‘फेरी संचालनपछि जोखिम यात्रा हट्यो’

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दैलेख, २३ चैत ।
    अछाम र दैलेखको यातायात जोड्ने महत्वपूर्ण साधन मानिएको फेरी संचालनमा आउँदा यात्रीलाई जोखिम यात्रा गर्नुपर्ने बाध्यताबाट हटेको छ  । दशैं अगावै कर्णाली नदीले फेरी बगाउँदा त्यस भेगमा आवतजावत गर्ने मानिसले डुंगाबाट जोखिम यात्रा गर्नुपर्ने समस्या झेल्नु परेको थियो । चार महिना अगाडि  तार चुड्नि गई नदीले फेरी बगाएपछि कर्णाली राजमार्ग हुँदै अछामको विनायक, गैरीटाडा हुँदै मंगलसेन जाने यातायातका साधनहरु बन्द भएका थिए  ।

    उपभोक्ता समितिको ५ लाखको लगानीमा फेरी संचालमा आएपछि चर्को शुल्क तिर्ने यात्रीलाई सास्ती हटेको छ । फेरी संचालन नहुँदा डुंगाबाट मोटरसाइकल तारेको ३ सय र मानिसको २० रुपैयाँ, ट्रयाक्टर २ सय ५० रुपैयाँ, ट्रकलाई ३ सय रुपैयाँ लिने गरिएको समितिका अध्यक्ष मीनबहादुर शाही बताए । गत पुस १ गतेदेखि फेरी संचालनमा आएको हो । अछामको विनायक, गैरीटाडा बजारमा मानिसको आधारभूत मानिएको तेल चामल र नुनको मूल्य आकाशिएको थियो । ‘संचालनमा आएपछि चर्को शुल्क तिर्नुपर्ने बाध्यता हट्यो ।’ अछाम विनायकका मीनबहादुर शाहीले बताए ।
 मर्मतको लागि दैलेख र अछाम जिल्लामा समितिले लिखित निवेदन दिएपनि सर्वदलीय संयन्त्रको बैठकपछि मर्मतको लागि रकम पाउने आश्वासन पाएको अध्यक्ष शाहीले जनाए । समितिले दैलेख र अछामका जिल्लामा संचालित विभिन्न संघसंस्थालाई फेरी मर्मतमा सहयोग गर्न अनुरोध गर्दा कसैले चासो नदेखाएको गुनासो पोखे । समितिको ३ लाख र सपना कम्पनीको २ लाखको लगानीमा मर्मत गरिएको फेरी २०६३ सालमा जेटीजेटको १ करोड लगानी गरी निर्माण गरिएको फेरीलाई कर्णाली नदीले बगाएर बेलखेतबाट ५ किलोमिटर तल अछामको रानीवन गाविसमा पुर्‍याएको थियो ।
    सुर्खेत, नेपालगंजबाट कर्णाली राजमार्ग हँुदै अछामको मंगलसेन जानका लागि निकै उपयोगी मानिएको बाटो फेरी संचालनमा भएपछि अछाम जिल्लाका ४० गाविसहरु प्रयत्क्षमा लाभान्वित भएका छन् भने त्यस ठाउँबाट यात्रा गर्ने मानिसहरुले डुंगाको सहाराबाट जोखिम यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

No comments:

Post a Comment