जताततै अभावै अभाव

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
विद्युत, खानेपानी, इन्धन, पाठ्यपुस्तक पाउनै कठिन
सुर्खेत, १४ बैशाख ।
    अहिले सुर्खेतका बासिन्दा अभावै अभावमा बाँच्न विवश छन् । जनजीविकाका लागि अत्यावश्यक पर्ने कुनैपनि बस्तुहरु उनीहरुले सहजरुपमा पाउन सकेका छैनन् । न विजुली, न खानेपानी, न पाठ्यपुस्तक न इन्धन । जताततै अभावै अभाव हुन थालेपछि सुर्खेतबासी आजीत भएका छन् ।
    यहाँ अहिले सातामा ६३ घन्टासम्म नियमित लोडसेडिङ हुदैं आएको छ । अनियमित र पटके लोडसेडिङ त कति हो कति । त्यतिमात्र होइन, मर्मत सम्भारको नाउँमा पनि विद्युत कटौती हुदैं आएको छ । सुर्खेतमा अहिले पहिलो समस्या नै विद्युत कटौती बनेको छ । बुधवारमात्रै पुनरावेदन अदालत सुर्खेतले नियमित बाहेक अन्य समयमा लोडसेडिङ नगर्न विद्युत प्राधिकरणलाई आदेश दिएको छ । तर पनि प्राधिकरणको चाला हेर्दा अदालतको आदेश छिट्टै कार्यान्वयन हुनेमा विश्वास गर्न सकिने अवस्था छैन ।
    यसैगरी चर्को खडेरीसंगै सुर्खेतबासी खानेपानीको चरम अभावमा पिल्सिएका छन् । सुर्खेत उपत्यकामा पानीको वितरण गर्दै आएको झुप्रा बृहत खानेपानी संस्थाले गत मंगलवारदेखि ३६ घन्टामा एक पटक पानीको पालो लगाएको छ । २० बर्षसम्मलाई चौवीसै घन्टा पानी उपलव्ध गराउने भनी निर्माण गरिएको उक्त आयोजना निर्माण भएको बर्षदेखि नै पानीको छटपटि देखिन थाल्यो । छिटोभन्दा छिटो पानीको बैकल्पिक स्रोत खोजेर झुप्रामा नमिसाए उपत्यकाबासीले यो अभाव कहिलेसम्म झेल्नुपर्ने हो थाहा छैन ।
    त्यस्तै इन्धनको समस्या पनि यहाँका बासिन्दाले भोग्दै आएका छन् । कहिले पेट्रोल छैन, कहिले डिजल छैन । यहाँ रहेका पेट्रोल पम्पहरुमा ‘डिजेल छैन’ र ‘पेट्रोल छैन’ लेखिएका टिपोटहरु सधैं देख्न पाइन्छ । पम्प संचालकहरु आयल निगमले इन्धन पर्याप्तमात्रामा उपलव्ध गराउन नसकेको बताउँछन् ।
    शैक्षिक सत्र सुरु भइसक्दा पनि पर्याप्त पाठ्यपुस्तक नआएको पुस्तक व्यवसायीहरु बताउँछन् । केही दिन उनीहरुले पर्याप्तमात्रा पुस्तक उपलव्ध गराउन भन्दै सुर्खेतस्थित साझा प्रकाशनमा डेलिगेशन गएका थिए । व्यवसायीहरुका अनुसार अहिलेसम्म केवल ४० प्रतिशतमात्रै पुस्तक आएको र बाँकी ६० प्रतिशत पुस्तक आएको छैन ।
    सुर्खेतबासीको दैनिकी कष्टकर हुन थालेपनि सरोकारवाला निकाय भने बाध्यता भन्छ । झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कूलमणि देवकोटाले खडेरीको मौसममा सधैं खानेपानीको समस्या हुने बताउँछन् । बर्षेनी जनसंख्या बढेको, पुराना पाइपलाइनहरु जीर्ण भएको, चुहावट तथा चोरी भइरहेकोले उपत्यकामा खानेपानीको चरम संकट देखिएको उनको भनाइ छ । पानीको बैकल्पिक स्रोतहरुको सम्भाव्यता भएकोले तत्काल काम गर्न सके पानीको समस्या केही कम हुने संस्थाले जनाएको छ ।
    दैनिकी जतिसुकै कष्टकर भएपनि सुर्खेतबासी भने कुनै प्रतिक्रिया जनाउँदैनन् । जति लोडसेडिङ भएपनि, खानेपानीको अभाव भएपनि यहाँका उपभोक्ता मौन रहने गरेका छन् ।
    केही दिन अघि सुर्खेत उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले जिल्लाको समस्याको वारेमा आफू गम्भीर भएको र आफ्नो तर्फबाट गर्न सक्ने पहल गर्ने जनाएका थिए । उनले केही समस्या राष्ट्रिय भएपनि स्थानीय स्तरका समस्याहरु समाधान गर्न आफूले कदम चाल्ने जनाएका थिए ।
    यता जनता अभावै अभावमा रहनुलाई विकास गर्ने काममा राजनीतिकरण गर्न खोजिएको आरोप राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासी लगाउँछन् । विकास गर्दा यो मेरो पार्टीले ल्याएको भन्ने प्रवृत्तिले जनता अभावमा बाँच्नुपरेको उनको भनाइ छ । आस्था जो जहाँ भएपनि विकासमा सवै एक हुनुपर्ने बताउँदै उनले राजनीतिक दलहरु जनताको दैनिकी जीवन सुधार गर्नतर्फ गम्भीर नदेखिएको ठान्छन् । विगतमा भन्दा अहिले सुर्खेतबासीको जनजीवन निकै कष्टकर बन्दै गएको ठहर पनि उनले गरेका छन् ।

No comments:

Post a Comment