दैलेखमा दुग्ध चिस्यान केन्द्र स्थापना हुने

Bookmark and Share 
भक्तबहादुर शाही
दैलेख १३ असार ।
    जिल्लामा पहिलो पटक दुग्ध चिस्यान केन्द्र संचालन हुने भएको छ । गरिवी निवारण कोष, जिल्ला पशुसेवा कार्यालय, गाउँ विकास समिति कार्यालय वेलपाटाको आर्थिक सहयोग र स्थानीय विकास कोषको सहजीकरणमा दुग्ध चिस्यान केन्द्र संचालन हुने भएको हो । गरिवी निवारण कोषको १० लाख ७५ हजार ९ सय ४५ रुपैयाँ, सामुदायिक संस्थाको ५ लाख ४ हजार ५ सय ८९ रुपैयाँ, गाउँ विकास समिति १ लाख ७० हजार र जिल्ला पशु स्वास्थ्य केन्द्रको  १ लाख १० हजारको लगानीमा (चिलि· भ्याट) चिस्यान केन्द्र खोल्न लागिएको गरिवी निवारण कोषका प्रवन्धक निरक सुनारले बताए । ‘सबै प्रक्रिया पुरा भइसकेकोले केही महिना भित्र दुग्ध चिस्यान केन्द्र संचालन हुने छ,’ उनले भने ।
    चिस्यान केन्द्र वनाउनका लागि जिल्ला पशु सेवा कार्यालयले वेलपाटा गाविसमा ९ वटा जर्सी गाई वितरण गरेको छभने कृषकले पनि गाई तथा भैसीपालन व्यवसायलाई बढी जोड दिएका छन् । केन्द्र संचालन हुँदा सामुदायिक संस्थाका ५ जना सदस्यलाई रोजगारीको अवसर मिल्ने छभने कृषकले दुधबाट घ्यू , वटर, छुर्पीजस्ता विभिन्न परिकारका खानेकुरा बनाइ आम्दानी बढाउने स्थानीय विकास कोषका कार्यकारी सचिव दिलबहादुर शाहीले बताए ।
    वेलपाटा गाविसमा गठन गरिएका १० वटा सामुदायिक संस्थाको माग अनुसार नै चिस्यान केन्द्र खोल्न लागिएको गरिवी निवारण कार्यक्रमका संयोजक पूर्णनाथ योगीले जानकारी दिए । दुग्ध चिस्यान केन्द्र संचालन भए कृषकको दुधले उचित मूल्य पाउने स्थानीयवासी बताउँछन्  । स्थानीय विकास कोषद्वारा गाविसमा गरिवी निवारण कार्यक्रम संचालन गरिएको छ ।
 चिस्यान केन्द्रमा काम गर्नको लागि आवश्यक पर्ने ९ जना सदस्यले पोखराबाट तालिम लिइ फर्किसकेका छन् । दुधलाई चिसो राख्न र खेर जान नदिनकालागि चिस्यान केन्द्र आवश्यक भएको पशु स्वास्थ्य कार्यालयका डा. दिर्घनाथ ढुंगानाले बताए । जिल्ला पशु स्वास्थ्य कार्यालयको सहयोगमा ९ जनालाई पोखरा तालिममा पठाइएको थियो ।
 केन्द्रमा संकलन भएको दुध दैलेख सदरमुकाम वेस्तडा, माथिल्लो डुगेश्वर, तल्लो डुंगेश्वरलगाएत छिमेकी जिल्ला सुर्खेतमा समेत पुर्‍याइने केन्द्रका अध्यक्ष रामबहादुर नेपालीले  बताए । दुध संकलनको लागि वेलपाटा गाविसमा गठित १० वटा सामुदायिक संस्थाले १२ जना सदस्य रहने गरी दुग्ध सहकारी संस्थासमेत गठन गरेको सामाजिक परिचालक दुर्गा गौतमले जानकारी दिए ।
    दुग्ध चिस्यान केन्द्रका लागि जिल्लाका डाँडापराजुल, गौरी, कालभैरव, लाकुरी वडाभैरव, नारायण नगरपालिकाबाट दुध संकलन गरिने छभने ६/७ जनाले रोजगारी पाउने अध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।

No comments:

Post a Comment