डोजर निषेध गरेर गाउँले आफै जुटे

Bookmark and Share 
भक्तबहादुर शाही
दैलेख, ११ असार ।
    जिल्लाका अधिकांश सडक डोजरलगाएर खनिएका छन् । तर सिगासैन गाविसमा भने डोजर निषेध गरिएको छ । रामघाट– सिगासैन सडकखण्डमा ग्रामीण पहँुच कार्यक्रम संस्थाले स्थानीय बासिन्दाबाट सडक निर्माण गर्ने धारणा राखेपछि डोजर निषेध गरिएको हो । कालापहाडमै निर्भर रहँदै आएका पश्चिम सिंहासैन गाविसका बासिन्दा दुई वर्षदेखि सडक निर्माणमा जुट्ेका छन् । केही समय अगाडि त्यहाँका बासिन्दा पैसा कमाउन भारतको कालापहाड नैनीताल, सिम्ला, मनाली जाने गर्थे । ग्रामीण पहुँच कार्यक्रमको दोस्रो चरणको कार्यक्रम संचालन भएपछि सिंगासैनका बासिन्दा दुई वर्षदेखि कालापहाड जान रोकिएका छन् ।
    पहिले चाडपर्व सकिना साथ युवाको लस्कर कालापहाडतर्फ लाग्ने हुनाले पुरुषको अभावले गाउँमा महिलाहरुले पाउनसम्म दु:ख पाउने गर्दथे । तर पछिल्लो समय यो परिस्थिति भने हट्दै गएको छ । गाउँमा सडक भित्रिएकाले काम खोज्दै कालापाहाड (भारत) जानुपर्ने बाध्यता हटेको स्थानीय  हर्कबहादुर शाहीले बताए । विदेश जाने काम रोकिएकाले अहिले त्यस भेगका महिलालाई पुरुषले  घरायसी काममा सहयोग गदै आएका छन् । दैलेखको सिंहासैनदेखि कालिकोट भर्ता गाविस जोड्ने सडक निर्माण गर्न सारा गाउँलेहरु जुटेका छन् । दुई वर्षदेखि गाउँमा डोजर निषेध गरिएकाले कडा चट्टान र ठूलाठूला भीरपाखा समेत स्थानीयले कम्मरमा डोरी बाँधेर फुटाउने गरेको सिगासैन गाविसका बज्जिर विकले बताए  ।
    ग्रामीण पहँुच बाहेक दैलेखका सबै सडकमा डोजर प्रयोग गरिएको छ । निर्देशिका र संस्थाको नीतिअनुसार डोजर प्रयोग नगर्ने भएपनि उपभोक्ता समिति र स्थानीय राजनीतिक दलको मिलेमतोमा  डोजर प्रयोग हुँदै आएको लकान्द्र –६ का स्थानीयबासी दिपेन्द्र बमले जानकारी दिए  । ‘निर्देशिकामा उपभोक्ता समितिबाट बाटो निर्माण गर्नुपर्ने छ तर राजनीतिक र समितिका मान्छे पैसा कमाउने प्रलोभनमा परी डोजरले सडक खन्ने सहमति हुन्छन्,’ उनले भने ।
  रामाघाट सिगासैन सडक खण्डमा भने हालसम्म डोजर प्रयोग गरिएको छैन् । डोजर प्रयोग नहँुदा त्यहाका बासिन्दा भारत जानबाट रोकिएका छन् । सधै भारतलाई कर्मथलो वनाएका सिंगासैनवासी भने सडकमा डोजर निषेध गरिएकाले विदेशीन नपरेको बताए । स्थानीयस्तरमा पाइने गैंटी, कोदालो, सब्बललगायतका औजारहरु प्रयोग गरी दिनहुँ सडक खनिरहेका छन्  । कर्णाली राजमार्गको रामागाडदेखि टाकेदह–सिंहासैन–पिपलकोट हँुदै कालिकोट जिल्लाको भर्तासम्म मोटरबाटो पुर्‍याउन सिंहासैनबासी सडक निर्माणमा लागि परेका हुन् । ग्रामीण पहुँच कार्यक्रम दोस्रो चरणको सहयोगमा स्थानीय गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) मार्फत त्यस भेकमा सडक निर्माणका साथै आयआर्जनका क्रियाकलापहरु सञ्चालन भएपछि रोजगारी खोज्दै विदेशीने समस्या हटेको हो । यस खण्डको ३८ किलोमिटरमध्ये हाल १४ किलोमिटर अन्र्तगत सडक निर्माण भइसकेको छ  । १४ किलोमिटर सडक निर्माणमा ८ करोड ७२ लाख ३१ हजार ७ सय रकम मध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेकोले प्रक्रियामा रहेको इन्जिनियर शालीग्राम पौड्यालले जानकारी दिए । सडक निर्माणबाट महिलाले पुरुष सरह समान ज्याला पाउने गरेका  पुरुषको दाँजोमा महिला पनि विकास निर्माण जुट्न थालेका सामाजिक सेवा केन्द्र (सोसे) का अध्यक्ष हीरासिंह थापा बताए । सडक खने बापत  स्थानीयले कम्तीमा ३ सय ९० देखि बढीमा ७ सय ९० रुपैंयासम्म दैनिक ज्याला पाउने गर्दछन् ।  

No comments:

Post a Comment