राजी समुदायको विकासमा उदासिनता

अशोक राजी
पृष्ठभूमि:
    नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो यहाँ धेरै जाति, वर्ग र सांस्कृतिक परम्पराका साथै मातृ भाषा भएका जात जातिहरुको बसोबास रहेको छ जस अन्तर्गत राजी जाति पनि आफ्नै मातृभाषा, भेषभुषा, संस्कार र संस्कृति भएको जाति हो, राष्ट्रिय जनगणना २०५८ को तथ्यांक अनुसार सूचीकृत ५९ वटा आदिवासी जनजातिलाई ५ समूहमा वर्गीकरण गरिएको अनुसार अर्थात २०६०/११/१८ को जनजाति महासंघको संघीय परिषद्द्वारा अनुमोदित वर्गीकरणको पहिलो समूह लोपोन्मुख समूह अन्तर्गत पर्ने एउटा जाति पनि राजी हो । राजीहरुलाइ आफ्नो इतिहास एकिन साथ थाहा छैन । उनीहरुको कहाँबाट र कहिले हाल बसोवास गरेको स्थानमा आए भन्ने कुरामा विद्धानहरु वीच एकमत पनि छैन ।    राजी जातिका वृद्ध व्यक्तिहरुको भनाइ अनुसार राजीहरु मुगु जिल्लाको राराताल फुटेपछि राक्मा भन्ने ठाउँबाट सुर्खेतको पूर्वी भाग अन्तर्गत बादेपीपल भन्ने ठाउँलगायत भेरी र कर्णाली नदी किनार आसपास आएर बसोबास गरेका हुन् । राजी जाति मध्य पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको कैलाली, कञ्चनपुर, सुर्खेत, बर्दिया, बाँके र दाङ जिल्लाहरुमा विशेष गरी बसोबास गर्दै आइरहेका भएता पनि अन्य केही जिल्लाहरुमा पनि नगन्य अवस्थामा बसोबास गरी आफ्नो जीविकोपार्जन गर्दै आइरहेका छन् । राजी शाल्म समाजले गरेका एक सर्वैक्षणले राजीहरुको कूल जनसंख्या ४ हजार ६ सय ४६ रहेको छतर २०५८ सालको राष्ट्रिय जनगणना अनुसार राजी जातीको कूल जनसंख्या २ हजार ३ सय ९९ मात्र रहको छ । यस तथ्यांकलाइ राजी जातिका मानिसहरुले तथ्यांक नभएर मिथ्यांक भएको भन्ने गरेका छन् ।
    राजी शब्द कसरी यो समूहका व्यक्तिहरु संग गांसिन गयो भन्ने बारे एउटा किम्वदन्ती राजी समुदायमा लोकप्रिय छ । किम्बदन्ती अनुसार परापूर्व कालमा मानिसहरुको विभिन्न समूहहरु मध्ये एउटा समूह नदी तार्ने काम गर्दथ्यो यो समूहले खोला र नदी वारपार गर्न नसक्नेलाई तार्ने काम गदथ्यो एक दिन एक ऋषिमुनीलाई नदी तरेर कतै जानुपर्ने भएछ त्यो समूहले ऋषिमुनिलाइ नदी तारे बापत सो समूहको सम्बन्धमा लेखिने कागजपत्रहरुमा राजीखुशी भन्ने शब्द लेखिनुपर्ने पाउनुपर्ने शर्त राखेछन् । ऋषिमुनिले उक्त शर्त मानेर नदी तरेर गएछन् सोही दिनदेखि राजी खुशी भन्ने शब्द लेखिदंै जाँदै कालन्तरमा राजी जातिका रुपमा लिन थालिएको छ । अहिले यो युगमा पनि राजी जाति भनेर चिनिदैं आएको छ यिनीहरुको शरीरको बनावत मंगोलीयन जस्तो भएपनि गहुँगारो, पातलो शरीर, तेजिलो आँखा र प्राय गरेर कालो वर्णको हुन्छ । यिनीहरुको पुख्र्यौली पेशा नदीमा माछा मार्ने, वन माहुरी र भीर माहुरीको मह काढ्ने, डुंगा बनाउने, नदीमा मान्छेलाई वारपार गराउने र मन्दिरको पुजारी आदि नै हो । राजीहरु प्रकृति पुजक हुन् यस जातिको छुट्टै भेषभुषा, परम्परा र संस्कृति रहेको छ यस जातिको विवाह (मागेर, तानेर र भगाएर) आफ्नै जातिसंग हुने गर्दछ यस जातिले मरेको मानिसको लाशलाई जमिन मुनि गाड्ने गर्दछन् । मरेको १३ दिनपछि मात्रै काजक्रिया गर्ने चलन रहेको छ । राजीहरु आफूलाई फान जाति भनेर
भन्दछन् । विगतका दिन जस्तै आजसम्म पनि राजी जातिका ६० प्रतिशत राजीहरुले अझ पनि फिरन्ते जीवन विताउँदै नदीका छेउछाउका बगरहरुमा बसोबास गर्दछन् । शिक्षा सबैको लागि भन्ने स्वर्गीय राजा वीरेन्द्रको भनाइ अर्थात युनेस्कोको सन्धि अनुसारपनि ८० प्रतिशत राजी बालबालिका हरु शिक्षाबाट बञ्चित भएका छन् ।
    राजीहरुको चेतना स्तर त झनै न्यून छ उनीहरु आफ्ना कुराहरु समेत प्रष्ट बोल्न र भन्न नसक्ने अवस्थामा छन् तर समय परिवर्तन भएअनुसार जुनसुकै जिल्लाहरुमा बसोबास गरेका राजी जातिले पुख्र्याैली पेशालाइ विस्तारै छोडेर खेतीपातितिर उम्मुख रहेका छन् । थोरै मात्रामा राजी जातिका बालबालिकाहरु विद्यालयमा जान थालेका छन् । राजी पुरुषहरुले टोपी, कमिज, भोटो, हरियो खिका भएको छड्के पटुका र सद्धरी लगाउँछन् भने महिलाहरुले टोपरेलको गुन्यु, चोली र घलेक र सेतो रुमाल पैहिरिन्छन् ।
राजीहरुको प्रमुख बसोबास क्षेत्रहरु:
    राजीहरुको प्रमुख बसोबास क्षेत्रहरु पश्चिम नेपालका केही जिल्लाहरुमा भएता पनि उनीहरु देशभर छरिएर रहेका छन् वि.सं. २०५८ सालको जनगणनालाई आधार मानेर हेर्दा राजीहरु देशका ६४ जिल्लाहरुमा बसोबास गर्दछन् ।
    राजीहरु मुख्य गरेर कैलालीको खैलाड, लालबोझि, सुगरखाल, चौमाला, धनगढि, मनेरा मसुरिया, साढेपानी, पथरैया, हसुलिया, र टिकापुर, सुर्खेतको लगाम, घाटगाउँ, तातापानी, विद्यापुर, बाबियाचौर, पोखरीकाँडा, कुनाथरी, तरंगा, हरिहरपुर, उत्तरगंगा, लाटिकोइली, रामघाट, छिन्चु, दहचौर, कल्याण, मेहेलकुना, र मालारानी, कञ्चनपुरको कृष्णापुर र दैजी, बर्दियाको सानोश्री, गुलरिया, देउडाकला, मगरागढि, बानियाभार, धधवार, मोतिपुर, बेलुवा र धोधरी, बााकेको महादेवपुरी, लववस्था र फत्तेपुर, दाग जिल्लाको हंसपुरमा बसोबास गर्दछन् ।
राजीभित्रका विभिन्न जातहरु:
    राजी जाति सुरुमा एउटै थियो समय वित्दै जाँदा यो जाति ३ मुख्य उपजातिमा विभाजन हुन गयो । ती यसप्रकार छन् ।
१. बाह्रबण्डाले (सुर्खेत जिल्लाको कुनाथरी, पोखरीकाँडा, विद्यापुर, बाबियाचौर, तातापानी, घाटगाउँ, लगाम, कैलाली जिल्लाको सुगरखाल, पथरैया, टिकापुर, लालबाझि, खैलाड, धनपा, र कञ्चनपुरको कृष्णापुर र दैजी गाविस बाह्रबण्डालेको मुख्य ठाउँको नाम) यो जातिमा १२ थर हुन्छन्: घटाला, जमाल, कुइनेल, कचाले, सोल्ट्याल, डुंग्रेल, कुम्ल्याल, मुड्याल, भट्क्या, डम्म्वाल, गजरेल, ग्रन्वाल ।
२. नौकुल्या: (९ थर वा कुल ) तम्च्याल, नग्र्याल, गोब्र्याल, माहाटनौ, टल्गइ, नैन्याल, भड्क्या, गुरुवान, डुंग्रेल,
३. पूर्वा: (१८ थर ) यिनीहरु पूर्वतिर बस्ने हुनाले पूर्वा भनिन्छ । (जस्तै छत्याल, दौन्याल, टोल्याल, सम्ज्याल, छिन्च्याल, खोर्‍याल, केलाने, धुल्याल, नैहारी, गोठ्याल, भुम्क्याल, लोध्याल, बागडुल्याल, घटाला, कुम्ल्याल, मन्कापान्या, डिग्याल, बड्क्याल र ठौर्‍याल ।
आर्थिक अवस्था:
    राजीहरुले वर्षको ४ महिना काम गरेर त्यही ४ महिनाको कमाइले वर्षभरी गुजरा गर्नुपर्ने समस्या रहेको छ ।
क. माछा मार्न र मह काढ्ने पेशा भएका कारण नदीहरुमा गाविस, जिविसको ठेक्का प्रणाली र आरक्षले गर्दा माछा मार्न प्रतिवन्ध लगाएको छ ।
ख. माछा मार्न जाँदा लुकिछिपी वा रातको बेलामा मात्र माछा मार्न सकिने भएको कारणले अतिजोखि पूर्ण काम गर्दा गदै पनि धेरै समयमा खाली हात नै फर्कने स्थिति रही आएको छ ।
ग. खोला, नदी, नालाहरुमा विषाधी प्रयोग गर्दा माछाको नाम निशानै हुँदैन ।
घ. साक्षरता पनि अतिनै कम भएका कारणले गर्दा अन्य विकल्प नै छैनन् अहिलको अवस्थामा ज्याला मजदुरीसम्म पनि गाहो भैरहेको छ ।
ङ. भूमिहीन भएका कारणले दैनिक खाना लाउन र बस्नसम्म पनि समस्या आइपर्ने गर्छ ।
च. विगतमा आफैंले बाँडेर बनाइएका जग्गाहरुमा टाँठाबाँठाहरुले मितेरीको अथवा अन्य नातापाताका बहानामा जग्गा हत्याइ त्यहाँबाट धपाइएका छन्भने दैविक प्रकोपहरु जस्तै बाढीले गर्दा जग्गा कटान गरिदिने वा खेतियोग्य जमिन नै नरहने, केहीले खेतिपाती गर्दा पनि त्यतिमा आधुनिकरण गर्न नसक्नु, नदिको छेउछाउमा जमिन भएको हुँदा, कतिपय ठाउँमा खेति गर्न नसकिने भूमिको अवस्था आदि राजीहरुको आर्थिक अवस्थामा देखिएका मुख्य समस्याहरु हुन् । कैलाली, बर्दिया, कञ्चनपुर, सुर्खेत, बाँके र दाङ गरी जम्मा ८ सय ५३ घरपरिवार रहेका छन् सरकारी तथा गैरसरकारी निकायमा एकजना पनि कर्मचारी छैनन् ।
शैक्षिक अवस्था:
१. राजी जातिका मानिसहरु प्राय अशिक्षित नै छन् अहिलेसम्म एस.एल.सी. पास गर्नेलाई एक दुई भनेर औलामा गन्न सकिन्छ । हालको एस.एल.सी. को नतिजा अनुसार एस.एल.सी. पास ६० जना, आइए पास ४ जना, वीए पास ३ जना, मात्र रहेका छन्भने पचास प्रतिशत बालबालिका स्कुल गएपनि वीचैमा स्कुल छोड्नुपर्ने बाध्यता रही आएको छ ।
२. यस समुदायमा बालबालिकाहरु राजनीतिक, सामाजिक र आर्थिक कारणले पनि शिक्षाबााट बञ्चित भएका छन् ।
३. राजी जातिका बालबालीकाहरुलाई स्थानीय शैक्षिक निकायहरुले ध्यान दिएको छैन ।
राजनीतिक अवस्था:
१. राजी समुदायको राजनीतिक क्षेत्रमा पहुँच छैन अहिलेसम्म उनीहरुको भूमिका मतदाताको रुपमा मात्र छ ।
२. यस समुदायका मानिसहरु वडा सदस्यसम्म पनि रहेका छैन भने राजनितिमा समावेशी नीति अबलम्ब हुन सकेको छैन ।
३. राजनीतिक दलको घोषणा पत्रमा समेत राजी जातिका बारेमा केही लेखिएको छैन ।
४. राजीलाई सेवकको वा उपलब्ध गराउने व्यक्तिको रुपमा लिने गरिएको छ जस्तै (माछा, मह, माझी) आदि ।
सामाजिक समस्या:
१. समाजले राजी जातिलाई आदिवासी कै रुपमा हेर्ने गरेको र यो जाति भनेको हाम्रो सेवा गर्ने जाती मात्र हो भन्ने गरेको ।
२. आदिवासी जनजातिभित्र पनि अपहेलित रहेका छन् । जनमानसमा यो त राउटे जस्तै जस्तै जंगली हो भन्ने गरेको पाइन्छ ।
३. राजी बस्तीहरुलाई पनि खोला, नदी किनार र भीर नजिक बसोबास गराउने गरेको ।
४. राजीहरुले विरामी हुँदा झारफुकमा नै बढी विश्वास गर्ने गर्दछन् ।
राजीको विकासमा उत्पन्न समस्या समाधानका उपाय:
१. प्रत्येक सरकारी निकाय तथा गैरसरकारी निकायमा योग्यता अनुसार सहयोगी, मालिक, चौकिदार तथा माथिका दर्जामा समेत एकजना कार्यकर्ता अनिवार्य रुपमा राख्नै पर्ने नीति सरकारले बनाउनुपर्ने ।
२. माछा मार्ने ठाउँमा निकुञ्ज वा आरक्ष भए फुकुवा गरी माछा मार्न दिने,  खोलानाला र नदी आदिमा विषादि आदिको प्रयोगमा रोक लगाउने र अनुगमन गर्न राजी समुदायका सदस्यहरुलाई नियुक्ति सरकारले गर्ने ।
३. महको ठेक्का प्रणाली राजी समुदायका व्यक्तिहरुलाई ठेक्का प्रदान गर्ने ।
४. नेपाल सरकारले सहरी क्षेत्रमा ५ कठ्ठा र अन्य क्षेत्रमा १५ कठ्ठा जति जग्गा उपलब्ध गराउने व्यवस्था गर्ने ।
५. सम्बन्धित निकायले विगतमा राजी समुदायबाट खोसिएका अथवा अति न्यून मूल्यमा बेचिएका जग्गा फिर्ता गराउन लगाउने नीति तय गर्ने ।
६. राजी जातिका बालबालीकालाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म नि:शुल्क पठनपाठनको लागि व्यवस्थाका साथै नेपाल सरकारले प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि आरक्षण कोटाको व्यवस्था गर्नका लागि विशेष जोड दिने ।
७. प्रत्येक पार्टीका विधानमा एक जना राजीको व्यक्तिलाइ सदस्यको रुपमा समावेश गरिनुपर्ने ।
८. राजी समुदायका व्यक्तिहरुलाई राष्ट्रिय सभा, प्रतिनिधि सभामा अनिवार्य रुपमा कम्तिमा पनि एकजना समावेश गराउनुपर्ने ।
९. प्रत्येक राजी समुदायका व्यक्तिहरुलाई धारा, चर्पी र सिंचाइका लागि ट्युवेल, उपलब्ध गराउनुपर्ने ।
१०. प्रत्येक राजीगाउँमा एक जना स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कार्यकर्ता उत्पादन गर्ने ।
११. बैक ऋण विना धितो सरकारले उपलब्ध गराउनका लागि बजेटको व्यवस्था मिलाउने ।
निश्कर्ष:
    २१ औ शताब्दीमा पनि राजी जातिका मानिसहरुलाइी जीवनयापन गर्न कुनैपनि क्षेत्रबाट पहल भएनभने, त्यस्तै राजीहरुले पनि यो देशको नेपाली नागरिक नै हो भनेर कागजमा मात्र सीमित रहने होभने नागरिकले पाउने हक, अधिकारबाट बञ्चित हुने हो भने अहिलेको नेपालको आदिवासी जनजाती राजी लोप भएर नजाला भन्न सकिन्न । २१ औ शताब्दी भने आधुनिक युग हो । यो समयमा राजी जातिले नेपालभरि राजी भनेर चिनिन सबै राजीहरुले जागुरुग भै मेलमिलाप, एकता, लगनशीलता, सिर्जनशीलता, क्रियाशीलतामा जोड दिनुपर्ने भएको छ ।     (लेखक राजी शाल्म समाजका सचिव हुन् ।)

No comments:

Post a Comment