मुक्तिको नाममा मुख्र्याइ

सिद्धराज उपाध्याय
    पहिचानसहितको संघीय गणतन्त्रात्मक संविधान निर्माणका लागि ऐक्यबद्धता जाहेर गर्न राजधानीको खुला मञ्चमा आयोजित बिशाल जनसभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘सुसेल्दै गरेको माओबादीले गीत गाए के होला ?’ २६ गतेको एमाले–कांग्रेसलगायत दुई दर्जन बढीको सभा र २७ गतेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभालाई इंगित गर्दै भने ‘अरुले नाचेको र नानीको बाउले खुट्टा उचालेको भनेको यही हो ।’ जनसभामा कार्यकर्ता र उपस्थित अन्य भीड देखेर निकै हौसिएका प्रचण्डले बोल्दै गए माओवादी र संघीयताका पक्षधरहरुले नाच्यो भने तपार्इंहरुको हविगत के होला ?
सायद जेठ १४ गते उनी सिंहदरबारमा थिए त्यसैले संविधानसभा भवन बाहिर बानेश्वरको दृश्य देखेनन् । उनले जाति विशेषलाई उचाल्दै गर्दा तिनै जातजातिहरुले तताएको सडकमा पाइला टेक्न नपरेकाले होला त्यसको राप र ताप कति डिग्री बढेको थियो ।  
    ठूला पार्टीका ठूला भनाउँदा नेताहरुले सार्वजनिक रुपमा यस्ता बक्तब्य दिइ रहँदा लाग्छ यो देशमा जुँगाको लडाई चरम उत्कर्षमा पुग्दैछ । संविधान निर्माणका लागि चुनेर पठाएका सभासदहरुले संविधान नै नबनाइकन ४/४ वर्षसम्म देश र जनताको भविष्यमाथि खेलबाड गर्दै अरबौं खरबौं रुपैयाँ स्वाहा पारेर रित्तो हात बाहिरिए । निस्कने बित्तिकै पानी माथिको ओभानो बन्दै सार्वजनिक मञ्च कब्जा गर्न तँछाड मछाड नै चल्ने गरेको छ ।
    आफूलाई ऐतिहासिक कित्तामा राख्ने काग्रेस अनि कम्युनिष्टको हिमायती ठान्ने एमाले लगायत चाखे थाप्नेहरुको एक हुलको हविगत देखेपछि गुमाइसकेको सत्ता कुनै बहानामा फर्काउन सकि पो हालिन्छ कि भनेर गर्जिदै आए कमल थापा । दलहरुबाट बिक्षिप्त जनताहरुको उपस्थिति देखेर चार हातमाथि पुगेका कमल थापाले भन्न बाँकी राख्ने कुरै भएन । नागार्जुन पुगेका राजालाई सडकबाट सिंहदरबार फर्काउने उद्घोष गरे । मुतको न्यायो बनाएका कमल थापाको उद्घोष नेताहरुका लागि खण्डन र लख काट्ने मेसो मिल्यो ।
    हप्तादिन पुग्न एक दिन बाँकी छँदै महान एवं गौरवशाली पार्टीका गौरवशाली काम्रेडहरु कड्किएका छन् । सडक र सत्ता छुट्याएका गौरवशाली पार्टीका गौरवशाली नेताहरु बिभक्त भएपनि उनको रबाफ भने कम हुने कुरै भएन । एमाले–कांग्रेस र राजाबादीहरुले छुट्टाछुट्टै रुपमा गरेका शक्ति प्रदर्शनमा जस्तै नामै लिएर गाली नगरेका प्रचण्ड समूहका नेताहरुले पुग्ने गरी भने । माफी र आत्माआलोचनालाई दालभात जस्तै सम्झिने महान एवं गौरवशाली पार्टीका गौरवशाली नेताहरुले जनताका अगाडि पहिले संविधान बनाउन नसकेकोमा माफी मागे र भने हामी र हाम्रो पार्टी ठिक हो अरु सबै गलत हुन् । भाषा फरक होला तर आशय यही थियो ।
    असार १ गते राजधानीको खुल्ला मञ्चलाई प्रचण्डले महाभारतको संज्ञा दिए । जसलाई रोक्ने या सुरु गर्ने हो त्यो अरु पार्टीको जिम्मा दिए । सहमतिको निम्ति सबै कुरा गर्न तयार रहेको बताउँदै उनले संविधान सभाबाटै संविधान घोषणा हुनुपर्ने बताए । भएको संविधानसभापनि अपमानजनक मृत्युवरण गराए । तर रटान फेरि उही, संविधानसभाबाट संविधान घोषणा गर्ने बिकल्पमा सहमति गर्न हामी तयार छौं । जुन मुद्दा बाँकी थियो त्यहीबाट सुरु गरौं । सुन्यबाट नजाऔं । त्यतिबेला उनले किन यसो भनेनन् जतिबेला बिहान ११ बजे बोलाइएका सभाषदहरु संविधानसभा भवन भित्र बौलाइरहेका थिए । संविधान चाहियो भनेर देशभरी जनताहरु रोइकराई गरिरहेका थिए । थोरै घण्टा मात्रै बाँकी रहँदा पनि आ–आफ्नै अडानबाट कोही पछाडि हट्न नमानेका नेताहरुका महान मन्तव्य अब पनि जनताले पत्याउलान् र ? लोकजनले त पत्याउँदैन ।
    उतिबेला शताब्दि औं पुरानो दुश्मनी मोल्ने मेलो बनाए संविधान सभालाई । एक रति पनि टसको सम हुन मानेनन् कसैले पनि । तर जब नरह्यो बाँस नबज्यो बाँसुरी । अनि यतिबेला के गरु के गरु भएर होला यो बौलाहट । न त कमाइ खाने भाँडो नै बच्यो न त जनताका अगाडि जानसक्ने आधार नै बाँकी रह्यो । धोबीको कुकुर घरको न घाटको जस्तै बनेका नेताहरु यतिबेला सार्वजनिक स्थानहरुमा जनताहरु बटुलेर एकले अर्काको खोइरो खन्ने काममा जोडतोडले लागिपरेका छन् । जसरी यतिबेला राजावादीहरु नागार्जुन पुगेका राजालाई सडकबाटै सिंहदरबार पुर्‍याउने उद्घोष गर्दै छन् र धमिलो पानीमा माछा मार्ने प्रयत्न गरिरहेका छन् त्यसरी नै दलहरु पनि आफ्नो नालायकीपन ढाकछोप गर्न कुनै कसुर बाँकी नछोड्ने प्रयत्नमा छन् । यसर्थ पनि नेपालको राजनीतिमा यतिखेर आरोप प्रत्यारोपको युद्ध चलिरहेको छ । देशलाई मुक्तिको बाटो तिर डोर्‍याउनु भन्दा पनि गृह युद्धतिर लैजाने प्रयास गर्दैछन् ।
    जुँगा र सत्ताको लडाई होइन सहमति चाहिएको छ । निर्वाचनमा जानपनि सहमति चाहिन्छ । संविधान संशोधन गर्न पनि सहमति चाहिन्छ । अन्य कुनै बिकल्पका लागि पनि सहमति चाहिन्छ । तर सहमतिमा जाने वातावरण बन्न सकेको छैन । न त सहमति को वातावरण बनाउने प्रयासमा नै कोही लागेको देखिन्छ । सबै लागि परेका छन् त केबल सत्ता र शक्ति प्रदर्शनमा । रोम जलिरहेको बेला निरोले बाँसुरी बजाउँदै गरेको झझल्को दिने दृश्य यतिबेला नेपालमा देख्न पाइन्छ । शदियौंदेखि एकबद्ध भएर बसेका जनताहरुमा जातीय हिासा भड्किने सम्भावना एकातिर छभने बिना आधार, बिना अध्ययन, बिना कुनै अनुभव चोरबाटो बाट कसैको स्वार्थ सिद्धको लागि जबर्जस्त भित्र्याइएको जातीय संघीयताले देश नै रहन्छ कि रहँदैन भन्ने चिन्ता अर्कोतिर छ तर हाम्रा राजनेता भनाउँदाहरुलाई यसबारे कुनै चिन्ता छैन । नो टेन्सन । संक्रमणकालीन यस अवस्थामा पनि नेताहरु पजेरोमा हँुइकिइ रहेका छन् । सत्ता टिकाउन सहमतिका लागि । पार्टी जुटाउन सहकार्यका लागि । पैसा उठाउन कार्यकर्ता भेला गर्नका लागि । आमसभाहरु शक्ति प्रदर्शनका लागि । अनि निरो र हाम्रा नेतामा फरक के ?
पार्टी फुटको चरम उत्कर्षणमा रहेका माओवादी नेताहरु यतिखेर दुई स्पष्ट खेमामा उभिएका छन् । भुत्ते भएको पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने भन्दै बैद्य पक्षले तीन दिने भेला गर्दैछ । उता प्रचण्ड समूह जुनसुकै मूल्य चुकाउनु परेपनि पार्टी फुट्नु हुँदैन भन्नेमा लागि परेको देखिन्छ । एनेकपा माओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा.बाबुराम भट्टराई पार्टी एकताबद्ध रहन्छ भने प्रधानमन्त्रीबाट राजीनामा दिन तयार रहेको बताउँदै छन् भने अध्यक्ष प्रचण्ड नेतृत्व परिवर्तनका लागि पनि सोच्न सकिने बताउँदै छन् । जनताको शक्तिबाट देशको सबै भन्दा ठूलो पार्टीका ठूला नेताहरु पार्टी बिभाजनको चंगुलमा फसिरहेका छन्भने बाँकी अन्य दलहरु आरोप प्रत्यारोप मै ब्यस्त छन् अनि कसले आएर निकास खोज्ने ?
    यतिबेला कसले कति जनता भेला गर्न सक्छ भन्ने तिर खुब लागि परेका छन् । किनेर हुन्छ कि, फकाएर हुन्छ कि, धम्काएर हुन्छ । जुनकुनै हातलमा पनि धेरै टाउका देखाउनु परेको छ टेलिभिजन पर्दामा । अनि आफूलाई क्षणिक शक्तिशाली देखाउने खेल चलेको छ । यो कुरा स्मरण रहोस् हिजो ज्ञानेन्द्र राजा जिल्ला भ्रमणमा निस्कदा हेर्न आएका जनतालाई आफ्नै कार्यकता सम्झेर जनताको शासन खोस्न पुगे र दरबार हत्याकाण्ड पछि झिनो भएपनि सहानुभूति राखेका राजा २ सय ४० वर्ष पुरानो शासन सत्ता छोड्दै हास्दै नागार्जुन तिर लम्किए । पछि महसुस भयो उनलाई । तर समयले निकै अघि हुँइकिइसकेको थियो । भोलि त्यही हविगत दलहरुको नहोस् । खुल्ला मञ्चमा भेला भएका सबै जनता पार्टीका कार्यकर्ता नहुन सक्छन् या सधैंभरी यसैगरी साथ नदिनपनि सक्छन् ।
    जनता के का लागि साथ दिने ? कसका लागि लड्ने ? केही नब धनाढ्यहरुलाई सत्तामा पुर्‍याउनका लागि ? कम्युनिष्ठको खोल ओढेका केही पुरातन मनस्थितिबाट ग्रस्त नबआधुनिक शासकको सत्ता टिकाउन ? जनतालाई बिचरा
बनाइए । जसलाई सधैंभरी गरीब बनाइए ताकि उनीहरुलाई भोट बैंकको रुपमा प्रयोग गर्न सकियोस् । आशामा मात्रै राखियो ता कि जति बेला भन्यो उतिबेला काम लगाउन सहज होस् । जो हिजोका दिनमा खाइनखाइ, लाइनलाइ समाजको तिरस्कार सहँदै राज्यको मोष्ट वान्टेड सूचीमा दर्जन हुँदा पनि ज्यानको बाजी लगाएर युद्ध छेडे र त्यसको परिणाम स्वरुप देशमा ठूलो राजनैतिक उथुलपुथल भयो । शताब्दिऔं पुरानो राजतन्त्रात्मक शासन ब्यवस्था गल्र्यामगुर्लुम ढाले । राणा हुँदै पञ्चायत शाशन ब्यवस्थाका संरचनामा भत्कियो । जनताको बलमा परिवर्तित शासन प्रणालीकै कारण विश्वमै फरकखालको राजनैतिक तरंग छायो । शदियौंदेखि उत्पीडित जनताहरु मुक्तिको स्वास फेर्ने आसमा लामबद्ध थिए तर जनताको आशा माथि यसरी तुषारापात भयो कि जसको कुनै मापदण्ड नै छैन । सकेसम्म मुक्तिको नाममा मुख्र्याइ नगरेकै बेस ।
(लेखक पत्रकार हुन्)  rajkarnali9@gmail.com

No comments:

Post a Comment