राष्ट्रिय सहमतिका लागि नयाँ सम्वाद सुरु भइसक्यो : प्रधानमन्त्री

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ असार ।
    प्रधानमन्त्री डा. बावुराम भट्टराईले सरकारले घोषणा गरेको सविंधानसभाको चुनाव मंसिर महिनामै हुने दावी गरेका छन् । मंसिरमै चुनाव सम्पन्न गराउन आफूले सवै दलहरुसंग सहमति र सम्वाद सुरु गरिसकेको खुलासापनि उनले गरे । बाजुराको कोल्टीमा हावाहुरीले गरेको धनजनको क्षतिको अवलोकन गर्न र राहतको प्रबन्ध मिलाउन बाजुरा जाने क्रममा शनिवार विहान सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै उनले अव दलहरुसगं नयाँ खालको सवांद सुरु भैसकेको र सहमति पनि छिट्टै हुने आश्वासन दिए । अहिले राष्ट्रिय सहमति नै मुख्य कुरा भएकोले त्यसका लागि आफूले जे गर्न पनि तयार रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री भट्टराईले कांग्रेस एमालेलगायतका दलहरुसंग राष्ट्रिय सहमतिका लागि छुट्टै र नयाँ प्रकारको संवाद चलिरहेको उल्लेख गरे । सवै प्रमुख दलहरु लोकतन्त्र, शान्ति र संविधानमा प्रतिवद्ध भएको बताउँदै प्रतिस्पर्धाको राजनीतिमा फरकफरक विचार आउनुलाई अन्यथा लिन नहुने उनले बताए ।    प्रधानमन्त्री भट्टराईले दलहरुले आ–आफ्नो हठ त्यागेर राष्ट्रिय सहमतिमा आउन आव्हान गर्दै भने, ‘आउनुहोस् संवाद र सहमति गरौं, राजनीतिक निकासका लागि सवै मिलेर अगाडि वढांै ।’ एकीकृत माओवादीका उपाध्यक्षसमेत रहेका डा. भट्टराईले वैद्य पक्षको शनिवारदेखि काठमाडांैमा भइरहेको भेला दु:खद भएको टिप्पणी गर्दै अझैपनि अन्तिममा पार्टी एकतामै जोड दिए । यो बेला नेपाली जनताका आकांक्षा फुटेर होइन कि जुटेर पुरा हुन्छन् भन्दै उनले वैद्य पक्षधर कार्यकर्ता साथीहरुले एक भएर जान दवाव दिन्छन् र पार्टी फेरि नयाँ ढगंले एक भएर जानेमा विश्वास व्यक्त गरे । पार्टी भित्रको वैचारिक वहस भएको भन्दै उनले बिवादलाई बाहिर होइन भित्रै छलफल चलाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
    प्रधानमन्त्रीले आफ्नो छोटो बसाईमा मध्यपश्चिम क्षेत्रका सुरक्षा निकायलाई पनि निर्देशन दिएका छन् । उनले वदलिंदो संक्रमणकालीन स्थितिमा आम सर्वसाधारणलाई सुरक्षा दिन चुनौती थपिएको बताउँदै त्यसका बाबजुद पनि प्रभावकारी सेवा र सुरक्षा प्रदान गर्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले यस्तो वेला सवै सुरक्षा अगंहरु मिलेर अगाडि वढ्नपनि सुझाव दिए ।
    सुर्खेत विमानस्थलमा प्रधानमन्त्री डा. भट्टराईलाई एनेकपा माओवादीका कार्यकर्ताहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री आउने खवर पाएपछि एक घण्टा अगाडि नै विमानस्थलमा कुरेर बसेका उनीहरुले समय दिन माग गरेपनि प्रधानमन्त्रीको व्यस्तताले भेट गर्न पाएनन् । नेपाली सेनाको हेलिकप्टरमा आएका प्रम भट्टराई सुर्खेत विमानस्थलमा करिव १५ मिनेट बसेका थिए । प्रम भट्टराईको साथ उनकी पत्नी हिसिला यमीलगायत अन्य सुरक्षा अधिकारीहरु सहभागी थिए ।

No comments:

Post a Comment