जनसत्ताले बिक्री गरेको जग्गा काँग्रेस, एमालेका कार्यकर्ताद्वारा कब्जा

Bookmark and Share 
भक्तबहादुर शाही
दैलेख, ७ असार ।
    एकीकृत नेकपा माओवादीले बिक्री गरेको सार्वजनिक जग्गा नेकपा एमाले र कांग्रेस कार्यकर्ताले कब्जा गरेका छन् । तत्कालीन माओवादीले कब्जा गरेको सार्वजनिक जग्गा आफ्ना कार्यकर्ताबाहेक अन्य पार्टीका कार्यकर्तालाई नदिएको भन्दै उनीहरुले जग्गा कब्जा गरेका हुन् । वृहत शान्ति सम्झौतापश्चात २०६३ मा एकीकृत माओवादीका कार्यकर्ताले सार्वजनिक जग्गा कब्जामा लिई आफ्ना समर्थकलाई घडेरी वितरण गरेका थिए । घडेरी बिक्री गरिएको रकम माओवादीका भेरी–कर्णाली राज्य समितिका सदस्य ‘अनाम’ ले हिनामिना गरेको भन्दै स्थानीयवासी र एमाले, कांगेसका कार्यकर्ताले घडेरी कब्जा गरेका हुन् ।
    घडेरी विक्री गरिएको सार्वजनिक जग्गाको रकम पटक/पटक सार्वजनिक गर्न एमाले कांगेसका कायकर्ताले माग गर्दै आएका थिए । भेरी–कर्णाली राज्य समितिका सदस्य समेत रहेको अनामले मागको वेवास्ता गरेको भन्दै रुष्ट कार्यकर्ता आक्रोशमा आई जग्गा कब्जा गरेका हुन् ।
    माओवादीको जनसत्ताले ८ हजारका दरले ९३ घडेरी विक्री गरेको नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य रक्षबहादुर शाही बताए । घडेरी विक्रीबाट उठेको ७ लाख रकम अनामले हिनामिना गरेको आरोप शाहीले लगाए । तर भेरी–कर्णाली राज्य समितिका सदस्य अनाम भने आफूले केही रकम जिल्ला जनसरकारमा बुझाएको दावी गर्छन् ।
    पश्चिम लकान्द्रको ठाँटिकाँध वन क्षेत्रको सार्वजनिक जग्गा स्थानीय माओवादीले कब्जामा लिई २०६३ सालमा घडेरी विक्री गरेका थिए । तत्कालीन गाजस प्रमुख सुनिलकुमार वमको अध्यक्षतामा बजार व्यवस्थापन समिति गठन गरी कार्यकर्तालाई संयुक्त क्रान्तिकारी जनपरिषद् लेखिएको अस्थायी लालपुर्जा समेत दिएका छन् । जिल्लाका विशाला, तोलीजैसी, चामुण्डा, सात्तला, गाविस र कालिकोट जिल्लाका माओवादी कार्यकतालाई प्रत्येक घडेरी ८ हजारका दरले ९३ घडेरी बिक्री गरेको अध्यक्ष सुनिलकुमार बमले बताए । ‘घडेरी विक्रीका लागि निवेदन दस्तुरसहित ५ सय राजश्व उठायौ’, जिल्ला जनसरकारलाई बुझाउन अनामले लिएको अध्यक्ष बमले भने ।
    माओवादीले फरक विचार र पार्टीमा आस्था राखेका व्याक्तिहरुलाई घडेरी दिनबाट वन्देज लगाएको लकान्द्र–९ का भद्रबहादुर शाहीले जानकारी दिए । फरक पार्टीको कार्यकर्ता भएकै कारण घडेरी नपाएको गुनासो गरे । ‘घडेरी विक्रीको लागि भनेर सूचना गरेको ५ दिनमै निवेदनसहित ५ सय राजश्व वुझाएँ, तर पनि फरक पार्टीको कार्यकर्ता भनेर निवेदन फिर्ता दिए’ उनले भने ।
    तत्कालीन जनसत्ताले आफ्ना कार्यकर्ता बाहेक नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टीका कार्यकर्तालाई घडेरी लिनमा बन्द गराएको थियो । जनसत्ताद्वारा बिक्री गरिएका घडेरीको माआवादीले संयुक्त क्रान्तिकारी जनपरिषद् नेपाल लेखिएको अस्थायी लालपुर्जा समेत दिएका थियो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा घर नवनाउन पटकपटक सूचना टाँस गरेपछि ५० वटा भन्दा वढी घर निर्माण भइसकेका छन्भने झण्डै ७० वटा घर निर्माणाधीन अवस्थामा रहेको नेपाली कांग्रेसका गाउँ सभापति जक्ति थापाले बताए ।

No comments:

Post a Comment