५ लाखले सिंचाई कुलोमा विवाद

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत (गुटु), ३० जेठ ।
    शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट पाँच लाख रकम परेपछि गुटु गाविस वडा नं. ६ मा दुई सिंचाइ कुलोमा विवाद उत्पन्न भएको छ । विवाद बढेपछि उक्त रकम अलपत्र परेको छभने सिंचाइ कुलोको कामपनि सुरु हुन सकेको छैन । वडा नं. ६ को जुम्ल्याहामूल–ज्युनारी ताल सिंचाई कुलो र वडा नं. ८ को जुम्ल्याहामूल–मोतीसेरा सिंचाइ कुलोको समितिवीच रकमका सम्वन्धमा विवाद बढेको हो । जुम्ल्याहामूल–ज्युनारीताल सिंचाइ कुलोका लागि मन्त्रालयबाट पाँच लाख रुपैयाँ परेको थियो । रकम नपरेको भन्दै मोतीसेरा सिंचाई कुलोको समितिले पानी नदिएपछि वडा नं. ६ र ७ मा सिंचाइ सुविधा पुग्न सकेको छैन ।
    
स्थानीय रतन विकका अनुसार मन्त्रालयले दिएको रकम आफूहरुलाई नपरेको भन्दै मोतीसेरा समितिले कुलो आउन नदिएको आरोप लगाए । करिव दुई किलोमीटर टाढाबाट पानी ल्याउन वडा नं. ६ र ७ का करिव पाँच सय विगाह जग्गामा सिंचाइ नभएको उनको भनाइ छ । वडा नं. ८ को मोतीसेरा कुलो समितिले विवाद झिकेपछि आफूहरुलाई समस्या परेको उनले जनाए ।
    दुई वटा वडाका गरी करिव पाँच सय विगाह जग्गामा सिंचाइ सुुविधा पुर्‍याउनका लागि बनाइएको कुलोलाई वीचमै अवरोध गरिएपछि ज्युनारीताल टोलबासी चिन्तित बनेका छन् । २०५९ सालमा अस्थायी र कच्ची कुलो बनाएका स्थानीयहरुले अर्को वडाको समितिले अवरोध पुर्‍याएको आरोप रतन विकले लगाए । यस क्षेत्रको जमीन उर्वर भएको र सिंचाइ सुविधा भए बाह्रैमास खेती गर्न सकिने उनको तर्क छ । कच्ची कुलोको अवस्था नाजुक छ । त्यसको विकल्पको रुपमा कोलगाढ–ज्यूनारीताल सिंचाइ भएपनि आर्थिक अभावमा कठिन भएको जानकारी विकले दिए ।
    यसैगरी सोही वडाका तिलक बोहराले गाउँमा सिंचाइ उपलव्ध हुन नसकेकेपछि यस क्षेत्रका युवाहरु भारततिर जाने तयारीमा रहेको बताए । आकाशे पानीको भर पर्दा अन्न उव्जनी नै नहुने भएकोले सिंचाइको व्यवस्था गरिदिन त्यस क्षेत्रका बासिन्दाहरुले माग गरेका छन् । उनीहरुले जिविसलाई सहयोगका लागि याचना गरेका छन् । यदि सिंचाइ सुविधा उपलव्ध भए आफूहरु काम गर्न भारत नजाने बताउँदै बोहराले जिविसले जसरी भएपनि सिंचाइ कुलो संचालनम ल्याउन माग गरे ।
    गुटु गाविसमा धेरैजसो युवाहरु काम गर्न भारततिर जाने गर्दछन् । सिंचाइ सुविधा भएपछि घरमै बसेर खेती गर्ने सोच गुटुवासीको छ । यता गुटु गाविस सचिव शरण बडुवालले पानीको मुहान एउटै भएकोले दुवै समितिहरुवीच विवाद बढेको बताए । गाविसकै सिफारिसमा मन्त्रालयले गत कात्तिक महिनामा जुम्ल्याहामूल समितिलाई ५ लाख रुपैयाँ दिएको थियो । विवाद समाधानका लागि आफूले थुप्रै पटक पहल गरेको जानकारी दिदैं उनले समाधान निस्कन नसकेको बताए । धेरै पहिलेदेखि नै मोतीसरा बासीले प्रयोग गर्दै आएको मुहान ज्युनारीताल टोललाई दिन सहमत छैनन् । हिउँदमा पानी दिएपनि बर्षायाममा पानी नपुग्ने भन्दै मोतीसेराबासीले दिन नमानेको गाविस सचिव बडुवालले बताए । विवाद आएपछि काम सुरु नभएको उनको भनाइ छ । 

No comments:

Post a Comment