सरसफाईका समाचारलाई प्राथमिकता दिने सम्मानित

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३० जेठ ।
    सरसफाई सप्ताहको अवसरमा बढी समाचारहरु प्रकाशन गर्ने संचारकर्मी तथा संचारगृहलाई मंगलवार सम्मानित गरिएको छ । नेवाको सहयोगमा खानेपानी तथा सरसफाई पत्रकार समूहले युगआव्हान दैनिक र सोही दैनिकका खेमराज वलीलाई सम्मान गरेको हो । दैनिकका तर्फबाट कार्यकारी सम्पादक दिपक बुढाले सम्मान ग्रहण गरेका थिए ।
    सरसफाई सप्ताहको सुरुमा साताभर सरसफाई सम्वन्धी समाचार सवैभन्दा धेरै प्रकाशित गर्ने संचार गृह र लेख्ने संचारकर्मी एक जनालाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो । सम्मानित गर्दै पत्रकार पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले सरसफाईलाई संचारमाध्यमहरुले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिदैं पुरस्कृत हुनेलाई बधाई दिएका थिए ।
    यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापाले सरसफाई सप्ताहको अवसरमा सरसफाई सम्वन्धी खोजमूलक समाचारहरु सार्वजनिक हुने नसकेको बताएका थिए । उनले मूल्यांकनको आधारसमेत प्रस्तुत गर्दै जेजति सार्वजनिक भएका छन् त्यसैबाट मूल्यांकन गरिएको जनाए ।
    जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिका ओमदत्त रेग्मीले सरसफाईलाई पनि सुर्खेतका संचारमाध्यमले प्राथमिकतामा राखेकोमा खुशी प्रकट गरेका थिए । उनले सुर्खेतमा सरसफाईको अवस्था मुलुकका अन्य जिल्लाको तुलनामा निकै अगाडि रहेको बताएका थिए ।
    खानेपानी तथा सरसफाई पत्रकार समूहका संयोजक विनोद शाहीले नेवाको सहयोगमा सरसफाई सप्ताह सफल पार्न संचारकर्मी तथा संचार गृहलाई सम्मान गरिएको बताए । उनले सप्ताह सफल पार्न सहभागी हुने सवैलाई धन्यवादसमेत दिएका थिए ।
    पुरस्कार मूल्यांकनका लागि पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा जिविसका इन्जिनियर ओमदत्त रेग्मी, खानेपानी उपभोक्ता महासंघका सचिव मानबहादुर खत्री, क्षेत्रीय अनुगमनका अर्जुन बमलगायतको टोली रहेको थियो ।

No comments:

Post a Comment