बाँकेको राप्तीपारीका तीन गाविसमा अज्ञात रोगबाट ४ सय बाख्रा मरे

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १४ असार ।
    बाँकेको विकट मानिने राप्तीपारिका तीन गाविसमा फैलिएको अज्ञात रोगका कारण करिब ४ सय बाख्राको मृत्यु भएको छ । जिल्लाको राप्ती पारीको मटेहिया, कालाफाँटा र लक्ष्मणपुर गाविसमा कृषकले पालेका बाख्रामा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगका कारण मटेहिया–८ जमुनहामा मात्र विगत एक हप्ताभित्र २ सय ५० भन्दा बढी बाखा मरिसकेका छन्भने कालाफाँटा र लक्ष्मणपुरमासमेत करिब १ सय ५० बाख्रा मरेका छन् ।
    बाख्रालाई अचानक पखाला लाग्ने, सिागान बग्ने, लामोलामो सास फेर्ने लगायतका लक्षण देखापर्ने र त्यसको केही घण्टामा मर्ने गरेको बताइएको छ । आफूले पालेका ३० वटा बाख्रामध्ये तीन दिनभित्र २० वटा मरिसकेकाले आफूमाथि ठूलो आपत आइपरेको मटेहिया–८ जमुनहाका सहजाद खाँले बताए । उनले यसरी एकाएक बाख्रा मर्न थालेपछि आफ्नो ठूलो नोक्सानी भएको पनि बताए ।
    यसैगरी सोही टोलको गुलाम मालिक भोबीले पनि आफ्ना ७ वटा बाख्रा मरेको बताए । सोही टोलका अर्का वासिन्दा गुलाम रसुल धोबीका पनि चारवटा बाख्रा रोगकै कारण मरिसकेको धोबीले बताए । सोही ठाउँको रहमान धोबीका पनि ५ वटा बाख्रा मरेका छन्भने अझै आधा दर्जन विरामी भएका छन् । गाउँमा बाख्रा पालिएका घरमा रोगले बाख्रा नमरेका कुनै घर छैनन् । यी माथि लेखिएका त उदाहरणमात्र हुन् ।
    यसैगरी कालाफाँटामा करिब ७० र लक्षमणपुरमा पनि ८० वटा भन्दा बढी बाख्रा मरिसकेको लक्ष्मणपुरका दिपक गुप्ताले बताए । उनले अझै धेरै बाख्रा विरामी रहेको जनाए । जमुनहाका रामचन्द्र तमोलीले गाउँमा २ सय ५० भन्दा बढी बाख्रा मरेपनि सम्बन्धित निकायबाट यसबारे कुनै किसिमको चासो नदेखाएको गुनासो गरेका छन् । यति ठूलो हानी भैसक्दा पनि कसैले आएर केही नसोधेको तमोलीको भनाइ छ । यस क्षेत्रमा अधिकांश किसानले पशुपालन गरेपनि पशु सम्बन्धी कुनै डाक्टर नभएकाले बर्सेनि यस्तै नोक्सानी बेहोर्नु परिरहेको तमोलीको भनाइ थियो । यता जिल्ला पशुसेवा कार्यालय बाँकेका पशु चिकित्सक जनकराम भण्डारीले भने सो रोगबारे आफूहरुलाई कुनै किसिमको जानकारी नआएको बताए । जानकारी आउने वित्तिकै औषधि सहित सोतर्फ प्राविधिक टोली पठाउने उनले जनाए ।

No comments:

Post a Comment