अतिक्रमित वन खाली गराउने अभियान

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दाङ, १४ असार ।
    दाङमा अतिक्रमित वन क्षेत्र खाली गराउने अभियान सुरु भएको छ । सरकारले जारी गरेको वन अतिक्रमण रणनीति–२०६८ को प्रावधानमा रहेर अतिक्रमित वन क्षेत्रलाई पुन: वन बनाउने अभियानमा जिल्ला वन कार्यालय लागेको हो । कार्यालयले अतिक्रमण वन व्यवस्थापन कार्यअन्तर्गत वन क्षेत्रमा बनाएका घरटहरा हटाउने, थप नयाा घरटहरा निर्माण नगर्न, कृषि बाली नलगाउनलगायतमा सार्वजनिक सूचना जारी गरेको छ । सर्वपक्षीय सहमतिका आधारमा अतिक्रमित क्षेत्र खाली गरिने वन कार्यालयले जानकारी दिएको छ ।
आफूहरूले एकपटक वन क्षेत्रमा बसेकासंग छलफल गरेको र फेरि पनि अटेर गरी बसेमा बल प्रयोग गरेर भएपनि हटाइने वन कार्यालयका प्रमुख अरुण शर्माले जानकारी दिए । कार्यालयले दिएको जानकारीअनुसार जिल्लाका विभिन्न २८६ स्थानका ३ हजार ९ सय ७८ हेक्टर वन क्षेत्र अतिक्रमित गरी ७ हजार ७ सय ९६ वटा घरटहरा निर्माण गरी बसेको छ । यस्ता वन अतिक्रमण भएका स्थानहरू विशेषगरी देउखुरीको गोवरडिहा, गंगापरस्पुर, गढवा, लालमटिया, सोनपुलगाएतका गाविसमा बढी मात्रामा छन् । 

No comments:

Post a Comment