सुर्खेतमा १० बर्ष यताकै सवैभन्दा कम विद्यार्थी उत्तीर्ण, उषाबाट १२ जना विशिष्ट

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
६ विद्यालय नील, सामुदायिकमा रामघाट महिलो
सुर्खेत, ३२ जेठ ।
    एसएलसी परीक्षा २०६८ को परिणाम सुर्खेतमा विगत दश वर्ष यताको तुलनामा न्यून भएको छ । ७८ सामुदायिक र २२ संस्थागत गरी नियमिततर्फ १२ सय ४१ जना (२१ प्रतिशत) र एक्जेम्टेडतर्फ १ सय ३१ जना विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।
    एसएलसी परीक्षामा सुर्खेतका सामुदायिक विद्यालयतर्फ शिखर उच्च मावि रामघाट पहिलो भएको छभने निजी विद्यालयतर्फ उषा बालबाटिका उच्च माविले बढी विद्यार्थी विशिष्ट श्रेणीबाट उत्तीण गराउन सफल भएको छ । उच्च मावि रामघाटबाट परीक्षा दिएका १ सय २७ जना मध्ये ६ जना प्रथम श्रेणीसहित ६२ जना गरी ४८ प्रतिशत उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । संस्थागत तर्फ उषा बालबाटिकाले १२ विशिष्टसहित विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
    जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार विशिष्टतर्फ उत्तीर्ण ४४ जना मध्ये ४० जना संस्थागतबाट र ४ जना सामुदायिक विद्यालयबाट उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ जन उच्च माविबाट २ जना र बावियाचौर तथा अमरज्योति उच्च मावि नेवारेबाट १/१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
    यस्तै निजी विद्यालयतर्फ सवैभन्दा धेरै उषा बालबाटिकाका १२ जना उत्तीर्ण भएका छन् । यस्तै इगरव्रिजबाट ७ जना, इन्टरनेशनल कोअपरेटिभबाट ५ जना, हर्मन माइनर एसओएसबाट ४ जना, होराइज एकेडेमीबाट ३ जना, जेपी र माउन्ट एभरेष्टबाट २/२ जना र सेडा, हार्भेष्ट मुन, इलाइट, सेन्टमेरिज र साउथ एशियनबाट १/१ जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतका उपसचिव भक्तबहादुर खड्काले बताए ।
    सुर्खेतमा ६ वटा सामुदायिक विद्यालयको नतिजा नील भएको छ । मावि नेटा, मावि गान्द्रा, मावि हरिहरपुर, मावि नयाँवन र मावि नादे धारापानीको नतिजा नील भएको जिल्ला शिक्षा कार्यालयका भोजप्रसाद लम्सालले जनाए । यस्तै नेवारेको खुल्ला विद्यालयबाट सहभागी ५५ जना विद्यार्थीपनि सवै अनुत्तीर्ण भएका छन् ।
    सामुदायिक विद्यालयको नतिजा कम आउनुमा शिक्षक एवं विद्यार्थीहरुको कमजोरी रहेको कार्यालयले जनाएको छ । विगतको भन्दा परीक्षा संचालन मर्यादित र व्यवस्थित भएकोले पनि विद्यार्थीहरु बढी अनुत्तीर्ण भएको हुनसक्ने अनुमानले जिल्ला शिक्षा कार्यालयले गरेको छ । यता होराइज एकेडेमीले आफ्नो विद्यालयबाट ४ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएको जनाएको छ । ३ जना विशिष्ट भएपनि थप एक जना को मार्कसिटको अंकमा विशिष्ट श्रेणीमा उत्तीर्ण भएको विद्यालयका अध्यक्ष पूर्णबहादुर नेपालीले जनाए । 

No comments:

Post a Comment