सहुलियतको मल अझै आएन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दाङ, १० असार ।
    दाङमा सरकारले सहुलियत दरमा प्रदान गर्दै आएको रासायनिक मल अझै नआउँदा यतिखेर मलको अभाव भएको छ । किसानहरू दोब्बर मूल्य हालेर  डिलरमा रहेको मल किन्न बाध्य भएका छन् ।  वर्षा भएपछि धानको बीउ राख्ने तयारी गरेका किसान सहुलियतको मलको अभाव भएपछि चर्को मूल्य तिर्नु परेको भन्दै चिन्तित भएका छन् । विगत केही वर्षदेखि कृषि सामग्री केन्द्र दाङले गाउँमा रहेका सहकारी संस्थामार्फत कृषकलाई मल वितरण गर्ने जिम्मा लिएको थियो ।
    तर यस वर्ष धान खेतीका लागि जिल्लामा सरकारले सहुलियतको मल अझै पठाउन सकेको छैन । कमल सहकारी संस्थाका तेज  काकी भन्छन्, ‘दैनिक मलका लागि सयौं कृषक संस्थामा आउने गर्छन्, तर मल नपाएपछि रित्तै हात फर्किन बाध्य हुन्छन् ।’
    जिल्लामा धान खेतीका लागि १० हजार मेट्रिकटन मल आवश्यक पर्ने कृषि सामग्री केन्द्र दाङले जनाएको छ । केन्द्रका प्रमुख तीर्थ न्यौपाने यस वर्ष धान खेतीका लागि अझै मलको कुनै व्यवस्था नभएको बताउँछन् ।
उनका अनुसार जिल्लामा गत वर्ष गहुँ खेतीका लागि ल्याइएको मलमध्ये  मौज्दात रहेको ९ सय टन मलमात्र धान खेतीका लागि अहिले बिक्री गरिएको छ । मलको चरम अभाव भएपछि अहिले चर्को मूल्य तिरेर डिलरबाट युरिया प्रतिबोरा १ हजार ७ सय  र डिएपी २ हजार ५सयदेखि तीन हजारसम्ममा किन्ने गरेको किसानहरू बताउँछन् ।
    कृषि सामग्री संस्थानमार्फत सरकारले वितरण गर्दै आएको युिरया प्रतिबोरा ९ सय ६३, डिएपी १ हजार ६ सय ६३ र पोटास १ हजार ६३ रुपैयाँ मूल्य कायम गरिएको छ । तर यो मूल्यको दोब्बरमा बजारमा खुला रूपमा मल बिक्री भइरहँदा पनि राज्य मौन रहँदै आएको भन्दै कृषक आक्रोशित बनेका छन् । दाङमा कृषि विकास कार्यालयबाट सूचीकृत ७७ वटा सहकारी संस्थामार्फत किसानलाई मल वितरण गरिंदै आएको छ ।

No comments:

Post a Comment