व्यापार करोडौंको, राजश्व ६० हजार मात्रै

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
रुकुम, ३ असार ।
    जिल्लाका पूर्वी गाविसमा पाइने बहुमूल्य जडीबुटी यार्साबाट वर्षेनी करोडौंको व्यापार हुने भएपनि राजश्व भने निकै न्यून उठ्ने गरेको छ । जिल्लाको पूर्वी रन्मामैकोट, हुकाम र सिस्ने गाविसमा पाइने यार्साको कारोबार ठूलै हुने भएपनि त्यसवापत राज्यले पाउनुपर्ने सबै राजश्व पाइरहेको छैन ।
    यार्सा संलकन गर्न जाने व्यापारीले जिल्ला वन कार्यालयलाई प्रतिकिलो रु. १० हजार र जिल्ला विकास समितिलाई रु. २ हजार बुझाउनुपर्ने भएपनि अधिकांश यार्सा संकलन गर्ने व्यापारीले बिनापुर्जी (राजश्व) नै यार्साको खरिदबिक्री गरिरहेका छन् । यसवर्ष जिल्ला वन कार्यालयबाट दुई जना व्यापारीले मात्र यार्साको व्यापार गर्न पुर्जी लिएको जिल्ला वन कार्यालयले बताएको छ ।
    कार्यालयका अनुसार एक जनाले पाँच किलो र अर्को एक जनाले एक किलो यार्साको व्यापार गर्ने भनेर पुर्जी लिएका छन् । तर जिल्ला विकास समितिबाट कुनैपनि व्यापारीले पुर्जी नकाटेको जिविसले जनाएको छ । जिल्ला वन कार्यालयबाट काटेको पुर्जीको आधारमा यसवर्ष राज्यको नाममा यार्साको व्यापारबाट ६० हजार मात्र राजस्व उठेको छ ।
    व्यापारीहरूले यार्सा पाइने ठाउँको स्थानीय सिजन व्यवस्थापन समितिलाई रु. १० हजार तिरेर यार्साको व्यापार गर्ने अनुमति लिने गरेका छन् । स्थानीय समितिले लिएको पैसा उसैले चलन गर्ने र समितिले राज्यका कुनै निकायसंग समन्वय नगर्ने हुकामका पुनिराज घर्ती मगरले बताए ।
    मगरका अनुसार यसवर्ष देशभित्र र विदेशका गरी करिव तीन दर्जन भन्दा बढी व्यापारी यार्सा संकलन क्षेत्रमा पुगेका छन् । तीन वटा हेलिकप्टर चढेर चिनिया व्यापारीहरू यार्सा संकलन क्षेत्रमा आएका छन् । उनीहरूले स्थानीय व्यापारीबाट यार्सा संकलन गरिरहेको पनि मगरले जानकारी दिए । हरेक वर्ष रुकुमबाट मात्रै १ सय २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेको बताइन्छ । हाल आएर पहिले जस्तो यार्सा पाइन छाडेको संकलनकर्ताहरू बताउँछन् ।

No comments:

Post a Comment