सिलाइकटाइ व्यावसायीकरण गर्दै

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ११ असार ।
    आफ्नो पुख्र्याैली पेसा सिलाइकटाइलाई व्यावसायीकरण गर्दै सुर्खेत लेखफर्साका नागरिकले प्रगति गर्न थालेका छन् । बाबुबाजेले पुख्र्यौलीरूपमा सिलाइकटाइ गर्ने गरेको देखेर पेसा बनाएका  लेखफर्सा–६ का उनीहरूले राम्रो आम्दानी गर्न थालेका हुन् । विशेषगरी लेखफर्साका पाण्डव परियार, तसबहादुर परियार, द्रौपदी नेपाली, भक्त परियार, कुलबहादुर नेपाली, झुपसिंह परियार, हरि परियार, रामबहादुर परियार र भूपेन्द्र परियारलगायतले व्यवसायमुखी सिलाइकटाइ पेसा अँगालेका छन् ।
    नजिकैको बजारमा कोठा भाडा लिएर सिलाइकटाइको काम गर्न पसल खोलेका स्थानीय पाण्डवले अहिले दुईतले पक्की घर निर्माण गर्न सफल भएका छन् । वि.सं. २०६० देखि पसल सुरु गरेका पाण्डवले रु. एक लाखको घडेरी किनेर तीन लाख रूपैयाँको लगानीमा चार कोठे घर निर्माण गरिसकेका छन् ।
पहिला स्थानीय चाहना बचत तथा ऋण सहकारी संस्थाबाट रु. ३० हजार ऋण लिएर पसल खोलेको बताउने पाण्डवले अहिले भने त्यही सहकारीमा करिब रु. ५० हजार जम्मा गरेका छन् । पाण्डवमात्र होइन सिलाइकटाइको पेसा गर्ने अरुले पनि घर बनाउन स्थानीय बजार क्षेत्रमा घडेरी किनिसकेका छन् । सिलाइकटाइबाटै तसबहादुरले १० धुर, कुलबहादुरले दुई कठ्ठा र भक्तबहादुरले पनि १० धुर घडेरी किनेको पाण्डवले बताए । व्यवसायमुखी पेसा अँगालेका स्थानीय नौजनाले आफ्नो व्यावसायिक अधिकार प्रयोग तथा सीप विकासका लागि मिलीजुली टेलर्स एकता समूह पनि बनाएका छन् ।
    घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतको आर्थिक सहयोग, जिल्ला उद्यम विकास समितिको समन्वय र सिर्जनशील उद्यम विकास केन्द्रको सहजीकरणमा समूह बनाइएको हो । समूहलाई ४५ दिनको सिलाइकटाइसम्बन्धी तालिम पनि दिइएको सिर्जनशील उद्यम विकास केन्द्रका सहजकर्ता मानबहादुर बस्यालले बताए ।

No comments:

Post a Comment