परापूर्व कालदेखि गाउँगाउँमा पुगी सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका गन्धर्वहरूको पेसा हाल ओझेलमा पुगेको छ । बढ्दो आधुनिक तथा लोकगीत–संगीत एवं प्रविधिको विकासका साथै गाउँसमाजले पनि हेयका दृष्टिकोणले हेर्ने गरेका कारण आफूहरू अहिले यो पेसा छाडेर अरू पेसा अँगाल्न बाध्य भएको उनीहरू बताउँछन् । ‘पहिलेको जमानामा प्रशस्त अन्न पाइन्थ्यो, त्यसैबाट जहानपरिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले सारंगी बोकेर गाउन हिंड्दा धेरैले अपशब्द प्रयोग र अल्छी भनेर गाली गर्छन्, त्यो शब्दले त सरम पनि लाग्छ,’ तुलसीपुर नगरपालिका वडा नं २ रक्षाचौरस्थित गणेशटोल निवासी ४५ वर्षीय गणेश गन्धर्व दु:खेसो पोखे ।
करिब २० वर्ष पहिलेदेखि जिल्लाका विभिन्न ग्रामीण क्षेत्र एवं तुलसीपुर, घोराही, लमहीका बजार क्षेत्रमा गीत गाउँदै हिंड्नुभएका उनी भन्छन्, ‘हामीलाई समाजले हेंला गर्छ, राज्यले पनि हामीजस्ता वर्गलाई राहतका कुनै कार्यक्रम नदिंदा गाउने पेसाबाट खान लाउन नपुग्ने अवस्था आएको छ ।’ गणेशका अनुसार ३० देखि ३५ घरघुरीमा करिब ४०० गन्धर्व रहेकामा गणेशटोलका १२–१५ जनाले मात्र यो पेसा अँगालेका छन् । सो पेसाले हातमुख जोड्न साह्रै मुस्किल परेकाले सो पेसा गर्नु नपरोस् भन्ने उनीहरूको भनाइ छ । ‘अहिलेको युवापुस्ताले गायन पेसाप्रति देखाएको उदासीनताले आफ्नो जातिको अस्तित्व नै हराउनसक्ने पिर छ,’ गणेशटोलका ५५ वर्षीय खुनी गन्धर्व बताउँछन् । युवापुस्तालाई पुख्र्यौली पेसाबाट आर्थिक रूपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचानलाई जोगाउन सकिने उनको भनाइ छ ।आफ्ना पुर्खा सल्यानको हिउल्चाबाट दाङमा आएको बताउने सोही टोलका ३५ वर्षीय मनोज गन्धर्वका अनुसार हातमुख जोर्न मुस्किल भएपछि पलायन भएका गन्धर्व हाल दाङको तुलसीपुर, पातेटाकुरा, एकली लगायतका स्थानमा बसोबास गरेका छन् । अहिले उनीहरूले पुरानो पेसा छाडेर ज्याला, मजदुरी गरेर जीविका चलाउँदै आएकाछन् । मनोज भन्नुहुन्छ, ‘पहिले मानामुठी अन्न बटुल्ने क्रममा दाङ, सल्यान, रुकुम, रोल्पा लगायतका स्थानमा पुग्ने गरेको भएपनि सो पेसाबाट घरपरिवार पाल्न नसकेपछि हाल तुलसीपुरमा मजदुरी पेसा अँगालेर परिवार पाल्ने गरेको छु ।’
हातमुख जोर्न अप्ठेरो परेका गणेश, खुनी र मनोज गन्धर्व मात्र होइन जिल्लाका संस्कृतिविद्ले पनि गन्धर्व जातिसंग जोडिएर आएको संस्कृतिको सुन्दर पक्ष लोप हुन लागेकामा चिन्ता व्यक्त गरेका छन् । सल्यान हिउल्चाका महेन्द्र गन्धर्व आफ्नो जातीय पहिचान बोकेको गन्धर्वको रीतिरिवाज र संस्कृति हराउन थालेकामा चिन्ता लागेको बताउँछन् । उनी भन्छन्, ‘गाइनेले आजभोलि आधुनिक गायकगायिकाले गाएका गीत मात्र गाउने र आफूले खास मेहनत नगरेका कारण गन्धर्वशैली हराइसकेको छ । पहिलापहिला हिउल्चामा ४५ देखि ५० घरपरिवार रहेका गन्धर्वमध्ये अहिले धेरैले पेसा छाडेर पलायन भइसकेका छन्, केहीले मात्र मेहनत नगरीकनै गाउने गरेका छन् ।
यस्तै चिन्ता व्यक्त गर्दै संस्कृतिविद् अशोक चौधरीले गन्धर्वको उत्थानमा कसैले पनि ठोस प्रयास नगरेकाले गन्धर्वसंगै नेपाली संस्कृतिको एउटा अध्याय मेटिन थालेको बताउनुहुन्छ । कुनै घटनाको कथावस्तुलाई गीत बनाएर गाइने कर्खा भाका अहिले सबैलाई आउँदैन । नयाँ गायकको नक्कलले लोकप्रिय कर्खा हराउन लागिसकेको छ । ‘समाजमा भएका राम्रा–नराम्रा घटनालाई गीत–संगीतमा ढाल्ने गन्धर्वको पेसा हराउँदै जानु नेपाली संस्कृतिको दुर्भाग्य हो,’ संस्कृतिविद् डा. घनश्याम डाँगी भन्छन् ।

No comments:
Post a Comment