आदिवासीद्वारा विशेषाधिकार माग

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३० जेठ ।
    सदियौंदेखि पछाडि पारिएका आदिवासी, जनजातिलाई विशेषाधिकार दिनुपर्नेमा सुर्खेतमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।  थारु कल्याणकारिणी सभा सुर्खेतले जिविसको सहयोगमा आयोजना गरेको दुई दिने नेतृत्व विकास तालिमको समापन कार्यक्रमका सहभागीहरुले विशेषाधिकारबाट मात्रै उत्पीडनको क्षतिपूर्ति हुने बताएका थिए ।
    थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष एवं आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य मानबहादुर चौधरीले नेपालमा रहेका आदिवासी, जनजातिहरु सदियौंदेखि उत्पीडनमा परेको र उनीहरुलाई अगाडि ल्याउन विशेषाधिकार दिनुपर्ने बताए ।
    आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतका अध्यक्ष मोहन गुरुङले राज्यले आदिवासी जनजातिलाई भेदभाव गर्दा पछाडि परेको बताएभने आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष टोपबहादुर दर्लामीले आदिवासी जनजातिलाई राज्यको मूलधारबाट बञ्चित गराइएको उल्लेख गरे ।
    कार्यक्रममा खाम्पा समाजका अध्यक्ष कृष्णबहादुर रोकाय, राजी शाल्म समाजका सचिव अशोक राजी, थारु बुद्धिजीवि बेचुलाल चौधरी, थारु लोकतान्त्रिक संघका अध्यक्ष जागुराम थारु, पत्रकार विन्तिराम महतो, अधवा महतावा संघका केन्द्रीय सदस्य दुर्गा चौधरीलगायतले बोलेका थिए ।
    थारु कल्याणकारिणी सभा सुर्खेतका अध्यक्ष देवीराम चौधरीको सभापतित्वमा भएको तालिममा राजु चौधरी, मानबहादुर चौधरीले थारु धर्म संस्कृति, नेतृत्व विकास एवं क्षमताका वारेमा सहजीकरण गरेका थिए ।

No comments:

Post a Comment