सिंचाई कुलोको पाइप जलेपछि समस्या

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ असार
    वनमा डढेलो लाग्दा सिंचाई कुलोका लागि प्रयोग गरिएको पोलिथिन पाइप जलेपछि गुमीका किसान धानको वीऊ राख्न समेत पाएका छैनन् । गत जेठ २९ गते लागेको डढेकोले ४ सय २५ मिटर लामो पाइप जलेको थियो ।
    गुमीको १ देखि ३ नम्बर वडालाई सिंचाई सुविधा पुग्ने बेतेनी खोला सिंचाई कुलोको पाइप जलेपछि सहयोगका लागि जिल्ला सदरमुकाम वीरेन्द्रनगर आएका उपभोक्ता समितिका सदस्य वलबहादुर नेपाली सरकारी कार्यालय धाउन थालेका छन् ।
    धानको वीऊ राख्न कुलोमा पाइप सहयोगको खोजीमा डिभिजन सिंचाई कार्यालय पुग्दा आगामी वर्षका लागि भनी तोक लगाएको सुनाउँदै वलबहादुरले भने, ‘पाइप आगामी वर्ष पाउने भए, धान पनि आगामी वर्ष रोप्ने अवस्था भयो ।’ उनले भने, ‘आगो लागेर पाइप जल्यो, उपभोक्ताले खरीद गर्न सक्ने अवस्था छैन् ।’
    दुई सय एमएमको ४ सय २५ मिटर लामो पाइप राखेर गुमीका ४५ घरपरिवारले ३० हेक्टर खेतमा सिंचाई गर्दै आएपनि पाइप जलेपछि अहिले उनीहरु समस्यामा परेका छन् । सिंचाई कुलोको समस्या लिएर डिभिजन सिंचाई, जिल्ला कृषि, भू–संरक्षण र जिल्ला विकास समितिमा पुगेपनि सहयोग पाउन नसकेको उपभोक्ता समितिका सदस्य बलबहादुरले बताए ।
    पाइप राखी सिंचाई कुलो सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ लाग्ने भएपनि उपभोक्ताले खरीद गर्न नसक्ने भएपछि पाइपको जोहो गर्न उपभोक्ता समितिका सदस्यहरु सरकारी कार्यालय धाउन वाध्य भएका हुन् ।

No comments:

Post a Comment